PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

लकडाउन कस्तो बनाउने? विज्ञसँग प्रधानमन्त्रीको पाँच घण्टाभन्दा लामो छलफल, यस्ता छन् सुझाव



पहिलोपोस्ट

लकडाउन कस्तो बनाउने? विज्ञसँग प्रधानमन्त्रीको पाँच घण्टाभन्दा लामो छलफल, यस्ता छन् सुझाव
फोटोः राजन काफ्ले/प्रधानमन्त्री कार्यालय

काठमाडौंः लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग लामो छलफल गरेका छन्। लकडाउनको साढे दुई महिनापछि प्रधानमन्त्रीले औपचारिक रुपमा विज्ञसँग परामर्श गरेका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको पाँच घण्टाभन्दा लामो छलफलमा चिकित्सक, अर्थतन्त्रका क्षेत्रका जानकार, अनुसन्धानकर्ता लगायत सहभागी थिए। 

छलफलमा सहभागी डा. समीरमणि दीक्षितका अनुसार प्रधानमन्त्रीले लकडाउनको स्वरुप परिमार्जन गर्दा कसरी अघि बढ्दा उपयुक्त हुने भन्नेमा सबैको राय लिएका थिए। 

‘लकडाउन खुकुलो बनाउनु पर्छ भन्ने सबैको राय थियो । परीक्षणको दायरा बढाउन सुझाव आएका छन्। निजी क्षेत्रलाई पनि परीक्षण गराउने व्यवस्थाबारे पनि छलफल भयो। हाल परिचालित भएको संयन्त्र अपुग भएको भन्ने हाम्रो सुझाव छ । क्वारेन्टाइनमा कसरी व्यवस्थित गर्ने भन्नेमा सुझाव दिएका छौँ। प्रधानमन्त्रीले प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने आश्वासन दिनुभएको छ’, दीक्षितले भने।  

यस्तै, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले विज्ञ समूह बनाएर लकडाउन परिमार्जन गर्नेबारे सुझाव दिइएको बताए। 

कार्कीले भने, ‘उहाँले मुख्यतया परामर्शका लागि बोलाउनुभएको रहेछ। हामीले लकडाउनमा विश्व स्वास्थ्य संगठगनको मापदण्ड पालना गर्न सुझाव दिएका छौँ। विज्ञ समूह बनाएर अघि बढ्न पनि हामीले भनेका छौँ। उहाँले पुनः छलफल गर्ने हामीलाई बताउनुभयो।’

विज्ञहरुले प्रधानमन्त्रीलाई लकडाउन खुकुलो बनाउनुपर्ने राय दिएका छन्। जसका लागि परीक्षणको दायरा बढाउनुपर्ने पनि सुझाव दिएका छन्। निजी स्वास्थ्य संस्थालाई पनि पीसीआर परीक्षणको अनुमति दिन उनीहरुको सुझाव छ। 

यस्तै, क्वारेन्टाइन व्यवस्थापन र गुणस्तको पनि सुझाव दिइएको छ। लकडाउन खुकुलो बनाउँदा कस्तो मोडालिटीमा जाने भन्ने सुझाव परामर्शमा दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell