PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

फुटबलको पृष्ठभूमिबाट बास्केटबलको कप्तानी : सदीनाको डटिरहने बानी



मुकुन्द घिमिरे

फुटबलको पृष्ठभूमिबाट बास्केटबलको कप्तानी : सदीनाको डटिरहने बानी

सदीना श्रेष्ठ। अर्थात् नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान। पछिल्लो समय कोरोना संक्रमण र त्यसलाई रोक्न सरकारले आव्हान गरेको लकडाउनका कारण उनी फुर्सदिली बनेकी छिन्। घरमै सामान्य वर्कआउट गर्छिन्। अनि घरका सामान्य कामहरुमा समय दिन्छिन्।

'घरमै हल्काफुल्का वर्कआउट गर्छु। वर्कआउट भनेर बास्केटबल नै त खेलिँदैन अरु कार्डियोहरु जस्तो स्ट्रेचिङहरु एक्ससाइजहरु गरिरहेकी छु,' कप्तान श्रेष्ठले भनिन्, 'बाहिर गएर ट्रेनिङ गरेजस्तो चाहिँ नहुने रहेछ घरमै बसेर एक्लै ट्रेनिङ गर्न अल्छि लाग्ने हुन्छ।'

लकडाउन सुरुहुँदाको पहिला ४/५ हप्तासम्म त वर्कआउट राम्रै चलेको थियो। तर पछि लकडाउनको समयावधि अनिश्चित हुँदै गएपछि एक्लै वर्कआउट गर्न अलि अल्छि लाग्न थाल्यो। हुन पनि टिम गेम हो बास्केटबल। एक्लै अभ्यास गरेर त हुँदैन नै।

'पहिला ४/५ हप्ताचाहिँ राम्ररी गरियो। त्यसपछि चाहिँ अलि घट्दै घट्दै गइरहेको छ,' उनले सुनाइन्।

सामान्य अवस्था हुँदो हो त यतिबेला बास्केटबल प्रतियोगिता भइरहेको हुन्थ्यो। तर बीचमा कोरोना महामारी आइदियो। विश्वभरका खेलाडी अहिले खेल सम्झिएर बसेका छन्। अनि प्रतीक्षा छ सामान्य अवस्थाको।

'सामान्य हिसाबले हो भने अहिले लिगहरु स्टार्ट भइरहेको हुन्थ्यो। त्यो बन्द भयो। लकडाउन हुनुभन्दा अघि थ्री अन थ्री भइरहेको थियो, ' उनले भनिन् 'ठ्याक्कै लकडाउन हुनुभन्दा एक महिना अगाडि गेम भइरहेको थियो। त्यो खेलिरहेका थियौं। यो चाहिँ हाम्रो लिगको टाइम थियो।'

अहिले उनी फुर्सदमा छिन्। आफ्ना विद्यार्थीहरुलाई भर्चुअल्ली नै भए पनि टिप्सहरु दिन्छिन्। विद्यार्थी अर्थात् सेन्ट जेभियरका प्लस टू सम्मका विद्यार्थी।

'अनलाइन क्लास भनेर स्ट्रेच, कार्डियोहरु वर्कआउटहरु अनि भिडियोहरु म आफै बनाउँछु। त्यही जुममा देखाउने अनि म आफैले कमान्ड गरेर गर्ने गर्छु।' उनले भनिन्।

सदीनालाई चिन्ता छ लामो समय ग्याप बसेपछि खेल बिग्रिएला कि भन्ने। तर विश्वभरका खेल गतिविधि रोकिएकाले यसलाई खासै असामान्य रुपमा पनि लिएकी छैनन् उनले। विश्वभर खेल रोकिँदा नेपालमा पनि २ महिनायता खेल गतिविधि ठप्प छन्।

'त्यत्रो १ वर्ष लगाएर सागका लागि तयारी गर्‍यौं। त्यसका लागि धेरै मेहेनत गरिएको थियो। लय समाइएको थियो,' उनले भनिन्, 'त्यो ट्रेनिङ गरेको केही महिनामै यसरी रोकिँदा असर त परेको छ। गेम नभए पनि ट्रेनिङ चलिरहेको थियो। त्यसले लयमा प्रभाव पार्छ।'

+++

घर उनको यतै काठमाडौं उपत्यका नै हो। ललितपुरको सातदोबाटो। उनको पारिवारिक पृष्ठभूमि पनि खेलकुदकै। उनको दिदी दाजुहरु पनि खेलाडी नै भएकाले उनलाई खेलकुदमा लाग्न कठिन भएन। सानै उमेरमा उनी खेलकुदमा होमिइन्। पहिला फुटबलमा पछि बास्केटबलमा।

'मेरो परिवारमा धेरैजना खेलाडी हुनुहुन्छ। मेरो दिदी पनि फुटबल खेलाडी हो। सरिला श्रेष्ठ, 'सदीनाले आफ्नो पारिवारिक खेलकुदको पृष्ठभूमिबारे भनिन्, 'अनि मेरो फुपुका छोराहरु पनि फुटबल खेलाडी हुनुहुन्छ। बास्केटबलमा चाहिँ म मात्र हो।'

उनले स्कुल पढ्दा देखिनै बास्केटबल सुरु गरिन्। त्यस्तै १४/१५ वर्षको उमेरबाट। उनी बास्केटबलमा लाग्नु अघि फुटबल खेल्थिन्। दिदी फुटबल, त्यसको प्रभाव उनमा पर्‍यो नै।

'पहिला चाहिँ म बास्केटबल भन्दा अगाडि चाहिँ फुटबल खेल्थेँ। दिदीसँगै गएर खेल्थेँ। क्लबहरुबाट पनि खेलेकी थिएँ,' उनी सम्झन्छिन्।

तर, त्यही बीचमा दुईवटा सन्दर्भले उनको बाटो मोडियो। पहिलो फुटबल यू १६ राष्ट्रिय टिमका लागि अन्तिममा पुगेर पनि छनोट हुन सकिनन्। दोस्रो उनको स्कुल फेरियो।

'यु १६ फुटबलको छनोट थियो। नर्वे जाने। त्यसको अन्तिममा चाहिँ म फालिएँ। एकदमै नराम्रो लागेको थियो त्यतिबेला,' उनी सम्झन्छिन्, 'मलाई चाहिँ राम्रो खेल्दाखेल्दै पनि छनोट हुन सकिन् भन्ने लागेको थियो बच्चा बेलामा।'

त्यतिबेलाको बाल मनोविज्ञानले उनलाई फुटबलबाट बास्केटबलमा 'सिफ्ट' गरायो।

त्यस्तै, उनलाई बास्केटबलतर्फ डोहोर्‍याउने अर्को फ्याक्टर थियो फेरिएको स्कुल।

'त्यतिबेला मेरो स्कुल पनि फेरिएको थियो। अनि स्कुलमा सबैजना धेरैजसो बास्केटबल नै खेल्नुहुन्थ्यो। त्यतिकै त्यतिकै बास्केटबलमा लागियो,' सदिनाले भनिन्।

+++

बास्केटबलमा लागेर गति लिन पनि त्यति सजिलो थिएन। संघर्ष धेरै गरिन् उनले।

'यतिकै सिधै आएर 'ल है यो ठाउँ तिमीले लेउ भन्ने त होइन। धेरै नै दु:ख गरियो। स्कुलदेखि नै बास्केटबल प्यासनले खेलियो,' उनी गम्भीर सुनिइन्, 'बास्केटबलबाट केही पाउँछु भनेर कहिल्यै खेलिन मैले। म अहिलेसम्म पनि यही सोच्छु कि मैले बास्केटबललाई केही गर्न सकुँ भन्ने लाग्छ।'

५ फिट ८ इन्चको उचाइ। बास्केटबलमा फिट। त्यसैले डोहोर्‍यायो।

बास्केटबलमा लागेपछि संघर्षहरुका बाबजुद राम्रो गति लिइन्। सन् २०११ मा नेपाली राष्ट्रिय बास्केटबल टिममा स्थान बनाएकी उनले एकवर्षमै कप्तानी सम्हाल्न पुगिन्। उनको करियर ग्राफ हेर्ने हो भने कप्तानीको भूमिका नै लामो समय बिताइसकेकी छिन्।

खेलाडी र कप्तानको रुपमा सोच्दा कप्तानका रुपमा बढी प्रेसर हुने उनको अनुभव छ।

'धेरै संघर्ष छ। (लामो सास फेर्दै) मैल अभ्यासका खुट्टा भचाएँ तर पनि बास्केटबललाई प्राथमिकता दिइरहेँ,' सन् २०१६ मा अभ्यासका क्रममा खुट्टा भाँचिएको दिनलाई स्मरण गर्दै उनले भनिन्।

खेलाडी जीवनमा चोटले सताइरहन्छ। त्यसबाट उनी भागिनन्। उनले खेल्न छाडिनन्। चोटलाई रिकभर गर्दै खेलिरहिन्।

अझ गम्भीर हुँदै उनी भन्छिन्: संघर्ष त अनगिन्ती छन्।

उनको संघर्षमा पारिवारिक वातावरणले चाहिँ राम्रो साथ दियो।

+++

गएको मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद सफलताका साथ आयोजना भयो। सागमा कति सफलता कथा आए कति असफलताका।

सागको सफलताको गणना गर्दागर्दै केही ओझेलमा देखियो बास्केटबलको सफलता। स्वर्ण आएन होला तर सम्मानजनक प्रतिस्पर्धा गरेर पदक भने हात पारेको थियो।

सदीना पछिल्लो समय तुलनात्मक रुपमा महिला बास्केटबल टिमको प्रदर्शन राम्रो हुँदै गएको बताउँछिन्।

'महिला बास्केटबलको अहिले धेरै राम्रो भइरहेको छ। पहिलाको हेरेर चाहिँ,' उनी भन्छिन्।

साग अघि साउथ एसियन जोनको साबा देखि नै राम्रो खेलिरहेको उनी बताउँछिन्।

'त्यतिबेला हामी दोस्रो भएको थियौं। तर त्यतिबेला इन्डिया आएको थिएन। श्रीलंकसँग फाइनल खेलेका थियौं। र, पराजित भएका थियौं,' साबा र सागको सन्दर्भ जोड्दै उनले भनिन्, 'यसपालीको सन्दर्भमा चाहिँ माल्दिभ्सले चाहिँ श्रीलंकालाई जित्यो हामीले चाहिँ माल्दिभ्सलाई जित्यौं।'

यस हिसाबले हेर्दा नेपाली टिमको स्तर क्रमिक रुपमा बढ्दै गएको उनको अनुभव छ। त्यसमा पनि नयाँ पुस्ताका खेलाडीहरुको संख्या पनि राष्ट्रिय टिममा बढ्दै गएको खुशी पनि छिन्। तर, कहिलेकाहीँ उनी राम्रो खेल्दाखेल्दै पनि कारणवस खेलबाट पलयान भएका खेलाडीहरुलाई सम्झिन्छिन्।

'अपकमिङ जेनेरेसनहरु राम्रो छ। यसपाली हाम्रो नेसनल टिममा ९ जना नयाँ खेलाडीहरु हुनुहुन्छ,' श्रेष्ठ भन्छिन्, 'थ्री अन थ्री भनेर छुट्टै क्याटागोरी हुन्छ। उनीहरुको यू २३ चारजना हुन्छ। राष्ट्रिय टिममा पनि पाँच जना नयाँ आएका थिए।'

यसरी हेर्दा नयाँ पुस्ताको राष्ट्रिय टिममा राम्रो उपस्थितिले उनी खुशी छिन्।

१३ औं दक्षिण एसियाली खेलकुदमा हात पारेको उपलब्धि उनको जीवनको एक अविस्मरणीय क्षण हो। यसअघि त्यस्तै अनुभुति उनलाई सन् २०१२ मा वर्ड च्याम्पियनसिपमा सहभागिता जनाउन पाउँदा भएको थियो।

'यो भन्दा अघि त वल्ड च्याम्पियनसिप थियो। ग्रीसमा खेलेको। त्यो मा चाहिँ नेपालले सहभागिता जनाउने भनेर चाहिँ सपनामा नसोच्दा पनि हुन्छ। त्यो विश्वच्याम्पियनसिप थियो,' उनले गर्ववान्वित हुँदै सुनाइन्, 'त्यहाँ पुग्न नर्मल्ली टिम क्वालिफाइड भएर जानुपर्ने हुन्छ। त्यो थ्री एक्स थ्री को थियो। त्यतिबेला चाहिँ हाम्रो साउथ एसियाबाट दुईवटा देशलाई वाइल्ड कार्डमा परेको थियो। जसमा नेपाल र श्रीलंका थिए।'

उक्त प्रतियोगितामा श्रीलंकाले भने अवसर पाएर पनि सहभागिता जनाएको थिएन। उक्त प्रतियोगितामा प्रदर्शन भन्दा पनि सहभागिता जनाउन पाउनु नै नेपालको लागि ठूलो कुरा भएको श्रेष्ठ स्मरण गर्छिन्।

'त्यसमा प्रदर्शन भर्खरभर्खर भएका कारण अनुभव खासै थिएन। विश्वका ठूलाठूला देशहरुसँग खेल्दा अनुभव भयो,' उनले भनिन्, 'साउथ एसियन गेम्स चाहिँ वान अफ दी बेस्ट नै भनुम्। रिजल्ट पनि राम्रो ल्यायुम्। त्यो मोमेन्ट चाहिँ लाइफटाइम बिर्सन सकिँदैन।'

+++

वर्ल्ड एटलसको तथ्यांकलाई आधार मान्ने हो भने बास्केटबल विश्वको लोकप्रिय ७ खेलमध्येको एक हो। नेपालको सन्दर्भमा भने बास्केटबलले अपेक्षाकृत रुपमा लोकप्रियता हासिल गर्न संघर्ष गरिरहेको छ। पछिल्लो समय क्रिकेट, भलिबल लगायतका खेलहरुले नेपालमा जुन रुपमा लोकप्रियता कमाइरहेका छन् त्यसको तुलनामा बास्केटबलको गति धिमा छ।

नेपालमा चर्चित खेलहरुको कुरा आउँदा फुटबल, क्रिकेट, भलिबल, कराँते, तेक्वान्दो, बक्सिङलगायतका खेलहरु अगाडि आउने गर्छन्। सदीनाले यसलाई बुझेकी छिन्। यसमा खेलाडीमात्र नभएर खेलकुद संघ र खेलकुद परिषदको जोडबल लगाएमात्र बास्केटबलको लोकप्रियता बढाउन सकिने उनको बुझाइ छ।

'त्यो चाहिँ हामीले मात्र गरेर पनि हुँदैन। संघले पनि त्यतिकै इफोर्ट लगाउनु पर्छ। परिषदले पनि त्यतिकै इफोर्ट लगाउनु पर्छ,' उनी भन्छिन्, 'अरु खेलहरुलाई अवसर धेरै दिइरहेको छ। अब फुटबल, क्रिकेटहरुमा त्यत्रो धेरै कर्पोरेट हाउसहरुले उहाँहरुलाई हेरिरहेको हुन्छ। तर त्यस्तो कर्पोरेट हाउसहरुले चाहिँ बास्केटबललाई त्यति प्राथमिकता दिइरहेको छैन।'

बास्केटबलमा स्पोन्सरदेखि लिगसम्मको कमी भएको उनले महसुस गरेकी छिन्।

'अलिकति लिगहरु धेरै गर्नु पर्‍यो। खेल गतिविधि धेरै गर्नेहो भने चाहिँ अझै राम्रो हुन्छ जस्तो लाग्छ। त्यो कारणले गरेर चाहिँ बास्केटबलमा लोकप्रियता अलि कमि भइरहेको छ,' उनी भन्छिन्।

उनी अहिलेको समय नेपाली बास्केटबल टिमको लय राम्रो भएको बताउँछिन्। पछिल्लो समय दक्षिण एसियाली खेलकुदमा ल्याएको रजत पदकलाई उनी ठूलो उपलब्धिका रुपमा हेर्छिन्। हुन पनि प्राथमिकतामा परेका खेलकुदहरुलाई प्रतिस्पर्धामा कठिन परिरहँदा छायाँमा पारिएको खेललाई खेलाडीको जोडबलले दक्षिण एसियाली स्तरमा रजत पदक दिलाउनु चानचुन कुरा पनि होइन।

त्यस्तै टिममा युवा खेलाडीको बाहुल्यता रहेका र पछिल्लो समय टिममा धेरै युवा खेलाडीहरु आइरहेकाले उनलाई एकप्रकारको ढुक्क छ।

+++

बास्केटबल भन्दा बाहिर उनको विशेष रुची छैन। सामाजिक सञ्जालमा अलि सक्रिय देखिन्छिन्। लकडाउन चलिरहँदा आफ्ना टिममेटलाई सम्झिँदै सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी हुन्छिन्।

यसबाहेक सानै उमेर मिस टिनमा सहभागिता जनाएको रमाइलो अनुभव उनी सुनाउँछिन्। कुरा सन् २००८/९ तिरको हो।

'मिस टिन नेपाल भन्नेमा गएको थिएँ। त्यो आफ्नो इच्छाले भन्दा पनि अग्ली थिएँ,' उनले हाँस्दै सुनाइन्, 'दिदीले भनेपछि शारीरिक बनावटले गरेर जानुपर्छ भनेर गएकी थिएँ। म त्यसमा पनि मिस बेस्ट पर्सनालिटी पाएको थिएँ।'

बाँकी उनले आफ्नो जीवनमा बास्केटबलबाहेक अरु केही सोचेकी छैनन्। खेलुन्जेल खेल्ने र रिर्टायर्ड लाइफ पछि कोचको रुपमा बास्केटबलमै रहने योजना छ उनको।

'अगाडिको योजना भनेको कतिले सम्म फिटनेस कायम राख्न सकिन्छ, इन्ज्युरीहरुले कहिलेसम्म साथ दिन्छ त्यो हिसाबले खेलिन्छ,' उनले सुनाइन्, 'त्यसपछि भनेको कोच हुने भन्ने छ। कोचिङको लाइसेन्सहरु लिएर आइसकेँ मैले जर्मनीबाट। लाइसेन्सका लागि सबै लेभलहरु पनि पार गरिसकेँ।'

बास्केटबलमा अझै नयाँ पुस्ताको खेलाडीको आवश्यकता रहेको बताउँछिन्।

'हामी पछि कसले लिड गर्छ भन्ने कुरा आउँछ। म सँधै खेलिराख्ने पनि होइन। कुनै समयमा म पनि रिटायर्ड लिन्छु। त्यसपछिको लिड लिनलाई बहिनीहरुले धेरै मेहेनत गर्नु पर्‍यो,' उनी भन्छिन्,' मेहेनत त गरेरै आएको छ थप मेहेनत गर्नुपर्‍यो। किनभने कसैले पनि ल है नेसनल टिममा आउ भनेर भन्दैन।'

+++

राष्ट्रिय खेलाडीका रुपमा उनलाई केहीकुरा बास्केटबलमै पनि मन नपर्ने पनि छन्।

बास्केटबलमात्र होइन नेपालका लगभग सबै खेलहरुमा लिग, प्रतियोगिता कमी भएको गुनासो आउने गरेका छन्। तर, अरु तिर निजीक्षेत्रमा ठूलो प्रतिस्पर्धा हुँदा राष्ट्रिय खेलाडीहरुले गएर खेल्ने गर्छन्।

तर बास्केटबलको कथा अर्कै छ। त्यसैपनि बास्केटबलमा प्रतियोगिताहरु थोरै हुन्छन्। त्यसमा नीजि क्षेत्रले आयोजना गरेको प्रतियोगिताहरुमा राष्ट्रिय खेलाडीहरुलाई निषेध गर्ने प्रवृत्ति सदीनालाई मन परिरहेको छैन।

'मलाई सबैभन्दा चित्त नबुझ्ने चाहिँ नेसनल लेभलमा चाहिँ नेसनल खेलाडीहरुले खेल्न पाउने प्लाटफर्म नै छैन,' उनले भनिन्, 'कुनै क्लब या कलेजहरुले प्रतियोगिता आयोजन गर्दा हुन्छ नि हुन त प्राइभेट कम्पनीले अर्गनाइज गरेको हो तर नेसनल प्लेयर नट अलाउड भन्दिन्छ।'

बल्लबल्ल हुने प्रतियोगितामा सहभागिता जनाउन नपाउँदा मन खिन्न किन नहोस् पनि?

'वर्षमा एउटा दुईवटा नेसनल गेम हुन्छ। त्यतिमात्र खेलेर त गेम सुधारिँदैन नि। अब कर्पोरेट हाउसहरुले आयोजना गरेको खेलमा चाहिँ हामीलाई पनि प्लाटफर्म दिनु पर्‍यो,' उनी भन्छिन्, 'नेसनल प्लेयर नै अलाउड छैन नभनीकन बरु त्यसको सट्टामा एउटा टिममा दुईजना नेसनल प्लेयरलाई अनुमति दिनेहो भने हामीलाई पनि राम्रो प्लाटफर्म हुनसक्छ।'

यसरी उनी जतिसक्दो धेरै खेलाडीलाई खेल्ने मौका मिलाउनु पर्ने बताउँछिन्।

'नेसनल गेम कहिले अर्गनाइज हुन्छ र खेलुम भनेर पर्खेर बस्नुपर्ने हुन्छ,' कप्तान सदीनाले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell