
काठमाडौं : आज बिहानसम्म गण्डकी प्रदेशमा नयाँ कोरोना संक्रमितको संख्या १६ थपिएको छ। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा वाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत गरी चार जिल्लाका मानिसमा संक्रमण देखिएको हो।
वाग्लुङको निसीखोला गाउँपालिकामा तीन जना संक्रमित देखिएका छन्। एक ३३ वर्षीया महिला र दुई २२ र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। त्यसैगरी वडीगाड गाउँपालिकामा १६ देखि २५ वर्षका ४ जना पुरुषमा संक्रमण देखिएको हो। गल्कोट गाउँपालिकाका ३ जना संक्रमित रहेका छन्। उनीहरु २० देखि २३ वर्ष उमेरका छन्।
त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ भने फलेबास नगरपालिकामा २१ वर्षका दुई जनामा संक्रमण देखिएको छ।