काठमाडौँ : सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा क्वारेन्टाइनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको छ। १४ दिनसम्म पञ्चपुरी नगरपालिका वडा नम्बर ९ को विद्यापुर जनता माविको क्वारेन्टाइनमा बसेर उनी घर गएका थिए। 'राती २ बजे घरमा नै मृत्यु भएको रहेछ,' पञ्चपुर नगरपालिका मेयर उपेन्द्रबहादुर थापाले भने।
भारत रोगजारीमा गएका युवक जेठ ७ गते गाउँ फर्किएका थिए। उनलाई विद्यालयको क्वारेन्टाइनमा राखेको थियो। बुधवार उनको कोरोना संक्रमणको रिजल्ट आएको थियो। पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएपछि हिजो नै घर पठाइएको थियो। 'कोरोना देखिएन। १४ दिनसम्म क्वारेन्टाइन पनि भएको थियो। अनि घर पठाएको हो,' मेयर थापाले भने।
उनीसँगै क्वारेन्टाइनमा सँगै एउटै कोठामा बस्दै आएका पाँच जनामा कोरोना देखिएको थिएन। तर, अन्य तीन जनामा भने कोरोना देखिएको मेयर थापाले भने। उनी दिउँसो ३ बजे क्वारेन्टाइनबाट निस्किए ११ बजे घर पुगेका थिए। 'उसको घर पुग्न पनि तीन घण्टा जति लाग्छ। प्रेसरको औषधी खाएको भन्ने बुझिएको छ,' मेयर थापाले भने।
मृतक युवकको पुनः स्वाव लिएर कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको छ।