वीरगंज : अर्थमन्त्री डाक्टर युवराज खतिवडा अर्थतन्त्र डुबाउन लागेको भन्दै वीरगंजमा पानीमा रुझ्दै अर्धनग्न प्रदर्शन गरिएको छ।
डुबन्ते अर्थमन्त्री चाहिँदैन भन्दै अर्धनग्न प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री खतिवडाको अर्थ नीतिको चर्को आलोचना गरिएको थियो। विरोध जनाउनेले प्ले कार्ड बोकेका थिए। सामाजिक दुरी कायम गरी २५ जनाको समूहमा घण्टाघरमा आयोजना गरिएको प्रर्दशनको समयमै वर्षा शुरु भएपछि पनि करिब ४५ मिनेट प्रदर्शन जारी राखिएको थियो।
कार्यक्रम आयोजना गर्न समस्या भए सहभागीहरुले कपडा खोलेर राज्यको आर्थिक नीति र अर्थमन्त्रीको कर नीति सुधारको लागि दबाब दिँदै कपडा फुकाल्दै गएका थिए। नेकपा वीरगंजका नगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा भएको अर्धनग्न प्रदर्शनमा नेकपासँगै अन्य राजनीतिक दल, उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। सहभागीहरुले ‘जनता भोका छन’,‘चुलो निभेको छ’,‘कर तिर्न सक्दैनौ’,‘बैंकको ब्याज मिनहा गर’,‘सम्पूर्ण कर मिनाह गर’,‘गरिबलाई समुचित राहत’,‘माफ गर्नुहोला तपाईँले सम्पर्क गर्नु भएको अर्थमन्त्रीको बुद्धि स्वीच अफ गरिएको छ ’ जस्ता प्ले कार्ड बोकेका थिए।
कार्यक्रम संयोजन गर्ने नेकपा नगर कमिटी अध्यक्ष रहबर अन्सारीले विश्वको अर्थव्यवस्था धराशायी बनिरहेको अवस्थामा नेपाल सरकारको अर्थनीति जनताको भावना विपरीत आएको र त्यसमा पनि ७० दिन घरमा थुनेर जेठ २५ गते भित्र कर बुझाउन गरिएको ताकेताको विरोध गरेको बताए।