
नयाँ दिल्ली : बुधवारदेखि बिहीवार बिहानसम्म भारतमा ९ हजार ३ सय ४ नयाँ कोभिड १९ का संक्रमित भेटिएका छन्। यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १६ हजार ९ सय १९ पुगेको छ।
भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार त्यहाँ १ लाख ६ हजार ७ सय ७३ एक्टिभ केस छ भने १ लाख ४ हजार १ सय ६ जना मानिस बिसेक भएर घर फर्किएका छन्।
भारतमा कोरोनाका कारण ६ हजार ७५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा २ सय ६० जनाको मृत्यु भएको हो।
महाराष्ट्र, दिल्ली, गुजरात र तामिल नाडू सबैभन्दा बढी खराब राज्यहरुमा रहेका छन्। संक्रमितको संख्या थपिनेमा पूर्वोत्तर भारतीय राज्यहरु पनि उत्तिकै छन्। नेपालसँग जोडिएका पश्चिम वंगाल र बिहारमा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ। त्यस्ते उडिसा, आसाम, नागल्यान्ड, मिजोरम र सिक्किममा पनि संक्रमित थपिएका छन्।
नेपालसँगै जोडिएका उत्तराखण्ड र उत्तर प्रदेशमा पनि संक्रमित बढिरहेका छन्।
कोभिड १९ का कारण विश्वका सबैभन्दा खराव अवस्थामा रहेका मुलुकहरुमा अमेरिका, ब्राजिल, रसिया, बेलायत, स्पेन र इटालीपछि भारत रहेको छ। भारतमा पछिल्लो दुई सातामा १ लाखभन्दा धेरै संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४० लाख मानिसको परीक्षण पूरा भएको छ। दैनिक १ लाख ४० हजार जनाको परीक्षण गर्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ।