PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पीसीआर नेगेटिभ आएका व्यक्तिको आरडीटी पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीमाथि कुटपिट, सेवा ठप्प, आन्दोलन सुरु



राधेश्याम पटेल

पीसीआर नेगेटिभ आएका व्यक्तिको आरडीटी पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीमाथि कुटपिट, सेवा ठप्प, आन्दोलन सुरु

वीरगंज : रौतहटको दक्षिणी भेग राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। स्वास्थकर्मीमाथि हातपात गर्नेलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै आज बिहानदेखि स्वास्थकर्मी आन्दोलनमा उत्रेका हुन्। 

नगरक्षेत्र अन्तर्गतको सबै क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ उपचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको समेत सेवा बन्द भएको नगर स्वास्थ्य संयोजक रवीन्द्र कुमार झाले जानकारी दिए। 

आज बिहान १० बजे कार्यालय समयमा नगरपालिकामा सबैजना स्वास्थकर्मी जमा हुने र एउटा ठोस निर्णय गर्ने संयोजक झाले बताए। साथै नगरभित्रका स्वास्थ्यकर्मी संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

क्वारेन्टाइनमा बस्नेहरूको पीसीआर रिपोर्ट नेगेटिभ आउँदा उनीहरुलाई घर पठाउनु अघि आरडीटी जाँच गर्दा बुधबार रिपोर्ट पोजेटिभ आएपछि आक्रोशित समूहले स्वास्थकर्मीमाथि आक्रमण गरेका थिए।

क्वारेन्टाइनमा बस्नेहरूको आक्रमणबाट नगर स्वास्थ्य सहसंयोजक रामनरेस साह र सिनियर अहेब खुर्सिद आलम घाइते भएका थिए। उनीहरुको टाउको फुटेको छ।

समूहले स्वास्थकर्मीको तीनवटा मोटरसाइकलमा समेत क्षति पुर्‍याएका छन्। घटनापछि नगरक्षेत्र अन्तर्गत क्वारेन्टाइन लगायत सबै स्वास्थ्य सेवा बन्द भएको छ। 

राजपुर नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा हाल दुई हजार सात सय ११ जना रहेका छन्। त्यसैगरी जिल्लामै सबभन्दा बढी राजपुर नगरपालिकामा ८३ जना कोरोना भाइरसको संक्रमित रहेका छन्। संक्रमितमध्ये केही गौर, अधिकांश प्राथमिक स्वास्थ्य केन्द्र राजपुर र बैरिया मदरसामा निर्माण भएको आइसोलेसनमा राखेर उपचार भैइरहेको छ। रौतहटमा अहिलेसम्म आरडिटी र पिसिआर विधिबाट ३१९ जना संक्रमित भेटिएका छन् भने रौतहटको १८ वटा पालिकाको ७२ वटा क्वारेन्टाइनमा ८ हजार ५ सय ५३ जना क्वारेन्टाइनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell