PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मेलम्चीको पानीमा पनि अर्थमन्त्रीको उद्घोष गयो खेरै



दिनेश खड्का

मेलम्चीको पानीमा पनि अर्थमन्त्रीको उद्घोष गयो खेरै

काठमाडौं : सरकारको आश्वासनमा भर पारेर धारामा मेलम्ची आउँछ, असारदेखि चाहिनेजति पानी ढुक्कले चलाउँला भन्ने ठानेका उपत्यकाबासीले अझै केही समय कुर्नुपर्ने भएको छ।

पानी कहिले आउँछ भनेर आयोजनाले नै ठोकुवा गर्न नसक्दा सरकारी अधिकारी पनि तिथिमितिका बहसमा चुप लागेर बस्नुपर्ने भएको छ। डेढ वर्षअघि इटालियन कम्पनी सीएमसी मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स र सुरुङ निर्माण बाँकी नै छाडेर भागेपछि सरकारले गत वर्ष बाँकी काम पूरा गर्ने जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिएको थियो।

काठमाडौंबासीका लागि बहुप्रतीक्षित उक्त आयोजनाले सरकारलाई असारमा मेलम्ची खानेपानी ल्याउन सम्भव नभएको रिपोर्टिङ गरेको स्रोतले जनाएको छ। आयोजनाले खानेपानी मन्त्रालयलाई प्रगति विवरण पेश गर्दै विभिन्न समस्या आइदिँदा निर्धारित लक्ष्य प्रभावित भएको जानकारी गराएको मन्त्रालयका एक अधिकारीले बताए। उनका अनुसार अस्थायी संरचनाबाटै पनि असारमा पानी काठमाडौं ल्याउन सकिने अवस्था छैन।

सरकारले यसअघि पनि पटक पटक मिति तोक्दै राजधानीबासीलाई छिटै मेलम्चीको पानी आइपुग्ने आश्वासन दिँदै आएको छ। पछिल्लोपटक आगामी असारभित्रै  मेलम्चीको पानी काठमाडौं ल्याइने आश्वासन पनि झुटो सावित भएको छ।

आगामी वर्षको बजेटमा यस आयोजनाका लागि ५ अर्ब ४६ करोड विनियोजन गर्दै गत बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षभित्रै आधारभूत पूर्वाधारका काम सकेर आगामी वर्षको सुरुबाटै मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका थिए। त्यसले नै पनि मेलम्चीको पानी असारमसान्तभित्रै काठमाडौंबासीको धारामा आइनपुग्ने प्रस्ट संकेत गरेको थियो।

कोरोना भाइरस महाव्याधिका कारण जारी लकडाउनले निर्माण सामग्री ल्याउन नसक्नु, प्राविधिक र कामदार पर्याप्त संख्यामा नहुनु र लकडाउनका बीच पनि बसेका जनशक्तिले निर्माणस्थल आउजाउ गर्न असहज भएकाले असारको भाका केही महिना पर सरेको आयोजनाका अधिकारीहरुको भनाइ छ।

आयोजनाका साइट इन्जिनियर शेखर खनालले साउनसम्ममा पानी पठाउन सकिने दाबी गरे। उनका अनुसार साउनको सुरुवाटै पानी पथान्तरण गर्ने योजनाका साथ काम भइरहेको छ। 'लक्ष्यअनुसार काम भएमात्रै सम्भव हुन्छ,' उनले भने।

आयोजनाका अनुसार, अब मेलम्चीमा तीन मुख्य काम बाँकी छन् भने सानातिना फिनिसिङका कामहरु पनि बाँकी छन्।

सुन्दरीजल आउटलेटदेखि ट्रिटमेन्ट प्लान्टसम्म पाइप जडान गर्न बाँकी छ । यसमा दुईथरीका पाइप जडान हुनेछ, एउटा सफा पानीका लागि र अर्को फ्लसिङका लागि प्रयोग हुनेछ।

अडिट टनेलहरुमा गेट जडानका काम पनि बाँकी नै छन्। अम्बाथान, ग्याल्थुम र सिन्धु गरी तीन ठाउँमा अडिट टनेल छन्। गेट जडान भइरहेको ग्याल्थुममा फ्रेम हाल्न मात्रै बाँकी छ। अम्बाथान अडिट टनेलमा ढलान लगायतका काम भइरहेको छ भने ग्याल्थुममा त्यही काम बाँकी छ। करीब तीन सातामा अडिट टनेलहरुमा गेट जडान भइसक्ने इन्जिनीयर खनालले बताए।

गेटहरु संचालन गर्न अपरेटिङ रुम बनाउन पनि बाँकी छ। त्यसैगरी, सुरुङमार्ग समथर नभएका कारण पानी हालेपछि हावाका कारण समस्या हुन सक्ने भन्दै तीनवटा 'भेन्ट साफ्ट' बनाउन लागिएको छ। सुरुङको हावा बाहिर पठाउन तीन ठाउँमा प्वाल पार्न लागिएको हो।

जसमध्ये एउटा भेन्ट साफ्ट बनिसकेको छ भने दुईवटाको प्वाल पार्ने काम सकिएको छ। पाइप राखेर कंक्रिटिङ गर्न भने बाँकी नै छ। त्यसपछि मात्रै सुरुङमार्ग पानी हाल्नका लागि तयार हुने खनालले बताए।

उनका अनुसार कफर ड्यामबाट तत्कालका लागि पानी ल्याउन सकिन्छ। स्थायी संरचना बनाएर माघ-फागुनमा मात्रै सकिने अवस्था छ । सुरुङमार्ग फिनिसिङ भएपछि परिक्षण गर्न एक महिना समय लाग्छ।

विस्तारै पानी हालेर सबै अडिट टनेलसहितका गेटहरु बन्द गरेर २७ किमी पूरै सुरुङमार्गमा पानी भर्न सकिन्छ। पानी भर्न कम्तिमा दुई साता लाग्नेछ।

पूरा पानी भरेर एक साता होल्ड गरिनेछ। त्यसपछि विस्तारै उक्त पानी 'फ्लस आउट' गरिनेछ। कुनै समस्या नदेखिए सुरुङमार्ग पानी पठाउन योग्य हुनेछ। समस्या देखिए मर्मत गरेर तयार पारिनेछ।

अस्थायी संरचनाबाट निरन्तर पानी नआउन सक्छ !

आयोजनाका एक इन्जिनियले कफर ड्यामबाट बर्खामा पानी ल्याउँदा समस्या आउन सक्ने बताए।

कफर ड्याम अस्थायी संरचना हो। यो अस्थायी रूपमा निर्माण गरिएकाले खोलामा अलि ठूलो बाढी आएर क्षति पुर्‍याउन सक्ने भएकाले पानी निरन्तर पठाउन नसकिने ती इन्जिनियरको तर्क छ।

'स्थायी संरचनामा काम गर्नका लागि कफर ड्याम बनाइएको हो। स्थायी बनाउन समय लाग्ने भएपछि कफर ड्यामबाट पानी ल्याउन योजना बनाइएको हो,' उनले भने, 'बर्खामा ढुंगा-बालुवा धेरै बगेर आउने हुँदा प्राविधिक समस्या हुन सक्छ।'

अस्थायी हेडवर्क्सबाट डाइभर्सन टनेल हुँदै आयोजनाको मुख्य टनेलमा पानी हाल्न लागिएको छ। स्थायी हेडवर्क्सको काम ६० प्रतिशत मात्रै सकिएको छ। यो पूरै तयार हुन समय लाग्छ। स्थायी संरचनामा बालुवा छान्ने मेसिनलगायत संरचनाहरु छन्। तर अस्थायी छैन। आयोजनाको पूर्वनिर्धारित डिजाइनअनुसार संरचना तयार भए फागुनपछि भने ढुक्कले पानी ल्याउन सकिने प्राविधिक बताउँछन्।

आयोजनाका अनुसार सबै अडिट टनेलमा फ्लसिङ सिस्टम छ भने अम्बाथानमा मेन फ्लसिङ (गेट नं २१) लाई बनाइएको छ। जसबाट पानी मिसिएर आएका ढुंगा-बालुवा र फोहोर पुनः छानेर खोलामा नै फर्काइनेछ।

त्यहाँबाट खोलासम्म पुर्‍याउन लागि सिभिल निर्माणका काम भने गरिएको छैन। अहिले तत्कालका लागि फ्लसिङ गर्न मिल्ने भएकाले बाहिरका संरचनाहरु बनाइएको छैन। विस्तारै निर्माण थाल्ने योजना बनाइएको खनालले बताए। लकडाउनमा पनि आयोजनाको काम जारी छ।

आयोजनाले आगामी वर्ष मेलम्चीको दोस्रो चरणको काम पनि सुरु गर्ने योजना बनाएको छ, जसमा याङग्री र लार्के खोलाको पानी पनि मिसाएर राजधानी ल्याउन खोजिएको छ। तीनवटै खोलाबाट १७–१७ करोड लिटरका दरले दैनिक कुल ५१ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell