PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

लकडाउन अवधिको ब्याज मिनाहा र व्यवसाय सुरु गर्ने माहोल बनाउन शारिरीक सुगठन संघको माग



पहिलोपोस्ट

लकडाउन अवधिको ब्याज मिनाहा र व्यवसाय सुरु गर्ने माहोल बनाउन शारिरीक सुगठन संघको माग

काठमाडौं: नेपाल शारिरीक सुगठन तथा फिटनेस संघले जिम, व्यायामस्थल लगायत अन्य खेल क्रियाकलाबहरु संचालन गर्न लिइएको ऋणको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेको छ। 

लकडाउन अवधिभरको ऋणको ब्याज मिनाहा गर्नुका साथै राहत उपलब्ध गराउन तथा व्यवसाय सुरु गर्ने वातावरण तयार गर्न सरकारसँग माग गरेको हो। 

संघले कोभिड १९ को प्रकोपको समयमा स्वास्थ्यको महत्व अझ धेरै देखिएको भन्दै यसमा व्यायामस्थललाई फेरि सुरु गर्न पहलकदमी गर्न सरकारलाई एक विज्ञप्ति निकाल्दै आग्रह गरेको हो। त्यस्तै लामोसमय लकडाउन चलिरहँदा व्यायामस्थलमा कार्यरत व्यवसायी,कर्मचारी, प्रशिक्षक लगायतको अवस्था नाजुक भएको भन्दै लकडाउन अवधिमा सरकारले यस क्षेत्रमा ध्यान दिनुपर्ने संघको माग छ।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले कोभिड १९ को प्रकोपसँगै सुरु भएको लकडाउनका कारण जिमलगायतका व्यवसायहरु प्रभावित भएको भन्दै यसक्षेत्रलाई सरकारले राहत दिनपर्ने आवश्यकता रहेको बताउँछन्।

'मुख्य कुरा भनेको एउटा जिममा आवद्ध भएका व्यवसायीहरु साना उद्योग अन्तर्गत नै परे। उनीहरुको व्यवसाय पनि ऋणले नै चलिरहेको छ। ' उनले भने, ' देशमा यति धेरै क्लबहरु खुलेको छ सबै जेनेरेसन हेल्थ कन्सियस छ। जिम खोल्नु व्यायाम गर्नु भनेको स्वस्थ रहनु हो। स्वस्थ रहनु भनेको रोग प्रतिरोधात्मक शक्ति बढाउनु हो। त्यसैले यसलाई फेरि सुरु गर्न पहल गर्नुपर्‍यो।'

उनले पछिल्लो समय यस क्षेत्रलाई लकडाउनको सबैभन्दा अन्तिम चरणमा मात्र खोल्न चर्चा चलिरहेकोमा चिन्ता ब्यक्त गरे। श्रेष्ठ अहिलेको अवस्थामा स्वास्थ्य सम्वन्धि सचेतना बढेकाले सुरक्षित रहेर पनि व्यायामस्थलहरु खोल्न सकिने तर्क गर्छन्।

'जिमलाई खोल्न नदिएर भएन भन्ने हाम्रो कुरा हो। अनि त्यो खोल्नलाई प्रकृयागत हामी पूरा गर्छौं। लकडाउनको ७३ दिनसम्म सबै सजग भइसके,' अध्यक्ष श्रेष्ठ भन्छन्, 'जिमवाला पनि सतर्क छन् र जिम जाने पनि सतर्क छन्। अहिलेको सन्दर्भमा जिमलाई रोक्नु भनेको स्वास्थ्यलाई नै रोक्नु हो भन्ने हाम्रो भनाइ हो।'

लकडाउनको अवधिमा यसरी बसिरहँदा मानिसमा शारीरिक तथा मानसिक समस्या आउन सक्ने भन्दै भौतिक दुरीकायम राखेर व्यायामलाई फेरि सुरु गर्नुपर्ने तर्क गर्छन्।

'लकडाउनको अवधिमा मानिस मानसिक समस्यादेखि शारीरिक समस्यासँग जुधिरहेका छन्। त्यसैले जिम अत्यवश्यक देखिएको छ,' उनले भने, 'अब ५०/१०० जना एक पटक गर्थे भने १५/२० जना एकैपटक गर्नेगरी सुरक्षाका उपायहरु अपनाएर यो क्षेत्रलाई सक्रिय बनाउँ।'

अध्यक्ष श्रेष्ठले अहिले ब्याज अनुदान र राहतको बारेमा सरकारले चर्चा चलाइरहँदा जिम र हेल्थ क्लबहरुलाई पनि त्यसमा समेट्नुपर्ने माग गरेका छन्।

आज संघले जारी गरेको विज्ञप्तिमा विशेष गरी दुई पक्षमा जोड दिएको छ। पहिलो सुरक्षित तरिकाले जिम तथा व्यायामस्थल खोल्ने र दोस्रो ऋणको व्याज मिनाहा र राहत दिनुपर्नेमा जोड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell