PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रदेश २ मा भिटिएम अभाव: स्वाब संकलन प्रभावित, ग्रामीण क्षेत्रमा देखिन थाल्यो कोरोना



राधेश्याम पटेल

प्रदेश २ मा भिटिएम अभाव: स्वाब संकलन प्रभावित, ग्रामीण क्षेत्रमा देखिन थाल्यो कोरोना
PHOTO : copanusa

वीरगंज : कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने आवश्यक स्वास्थ्य सामग्रीको अभावमा पर्सामा स्वाब संकलनको काम बन्द भएको छ। हिजो बुधवार भिटिएम र किटको अभावमा एउटा पनि स्वाब संकलन हुन सकेन। स्वास्थ्य कार्यालय पर्साको अनुसार प्रदेश सरकार र केन्द्र सरकारले भिटिएम उपलब्ध नगराउँदा स्वाब कलेक्शनको काम ठप्प भएको जनाएको छ।

‘पटकपटक प्रदेश सरकारको समाजिक विकास मन्त्रालय र केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयसँग पीसीआर परीक्षणको दायरा बढाउन हजारौको संख्यामा भिटिएम माग्दैछौ, पुल विधिबाट समुदायको परीक्षण गर्न लक्ष्य छ, तर कुनै सरकारले सुनेको छैन,’ स्वास्थ्य कार्यालयका एक अधिकारीले भने।

उनका अनुसार प्रदेश २ का सबै जिल्लामा भिटिएम अभाव छ। काठमाडौंमा पनि मन्त्रालयले भिटिएमको व्यवस्थापन गर्न सकेको छैन, जसले गर्दा प्रदेश २ को विभिन्न जिल्लाका स्वास्थ्यकर्मीको फोन पनि माथिल्लो निकायको अधिकारीले उठाउन छोडेका छन्।

पर्सासंगै सप्तरीमा पनि बुधवार एउटा स्वाब संकलन भएको छैन। पर्सामा हालसम्म गरिएको ३३ सय ३९ वटा नमुनामा २७४ वटा रिपोर्ट आउन बाँकी छ भने सप्तरीमा पनि हालसम्म १३ सय ३४ वटा नमुना संकलनमा ३३९ वटा रिपोर्ट आउन बाँकी रहेको प्रदेश २ को समाजिक विकास मन्त्रालयको बुधवार अपरान्ह ४ बजेको रिपोर्टमा देखिन्छ।

त्यसैगरी, रौतहट, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहालगायत जिल्लामा पनि आवश्यक मात्रामा पीसीआर परीक्षणको लागि स्वास्थ्य सामग्री सरकारले आपूर्ति गर्न नसकेको स्वास्थ्यकर्मीले जनाएका छन्।

प्रदेश २ कै आठ जिल्लामा हालसम्म ४०४ वटा क्वारेन्टाइनमा २३ हजार ३ सय ३३ जना रहेका छन्। जसमध्ये क्वारेन्टाइन र कन्ट्याक्ट ट्रेसिङको दायरामा आएका गरी कुल १७ हजार ५ सय २९ जनाको स्वाब संकलन भएकोमा बुधवार अपरान्ह ४ बजेसम्म ८५९ जनामा कोरोना पुष्टि भएको छ भने ६ हजार ४७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। स्वाब, काठमाडौं, जनकपुर, वीरगंज, धरान, हेटौडाको ल्याबमा पठाइएको छ। यसले परीक्षणको काममा ल्याबले पनि ढिलाई गरेको प्रमाणित हुन्छ।

ग्रामिण क्वारेन्टाइनबाट भेटिन थाल्यो कोरोना

पर्सामा हाल सम्म ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४ जना भारतीय नागरिक छन्। चार भारतीय नागरिकमध्ये ३ जना वीरगंज महानगरमा भेटिएका थिए भने १ जना छिपहरमाई गाउँपालिकाबाट भेटिएका थिए। ११४ जनामा ७६ जना वीरगंज महानगरको वडा नं २,३,४,५,११,१५,१६,२७ बाट भेटिएका छन्। त्यसैगरी वीरगंजबाहेक १३ वटा पालिकामध्ये ८ वटामा ३८ जना संक्रमण पुष्टि भएका छन्। ग्रामिण पालिकाका संक्रमितहरु अधिकांश भारतबाट आएको खुलेको छ। पर्साको पोखरीयामा ४ पुरुष, १ महिला, धोबिनीको २ पुरुष, छिपहरमाई गापामा १२ पुरुष, सुखवाप्रसौनी गापामा ४ पुरुष, १ महिला गरी ५ जना भेटिएका छन्। सुखवाप्रसौनीका ५ जनामध्ये १ जना काठमाडौंमा उपचार गराई निको भइसकेका छन्। त्यसैगरी बिन्दावसिनीमा २ पुरुष, कालिकामाईमा ५ पुरुष, पटेर्वासुगौलीमा ४ पुरुष र १ महिला, जिराभवानीमा १ पुरुष गरी कुल ३८ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वस्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी गराए।

मंगलवार राति ७ बजेदेखि बुधवार राति ७ बजे सम्म पर्सामा मात्र ८ जना संक्रमित भेटिएका छन्। जसमा सबै ग्रामिण पालिकाको रहेका छन्। पोखरीयाको क्वारेनटाइनकी १५ वर्षिय बालिका गरी एक जना, कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल ल्याबकी प्याथोलोजिस्ट डा. नीरा पाठकले जानकारी दिइन्। सबैलाई अस्थायी कोभिड अस्पताल गण्डकमा ल्याइएको छ।

अब वीरगंजको गण्डक अस्पतालमा ३४ जना संक्रमितको उपचार भइरहेको छ। जसमा बारा, रौतहट, हुम्ला जिल्लाका गरी करिब ११ जना रहेका छन्। जसमा आधा दर्जन भन्दा बढि नेपाली सेना र सुरक्षाकर्मी रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell