PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तपाईँ आफैँ अरिङ्गालमात्र बनिरहने? कसरी भनौँ मुख्यमन्त्री?



विधुर ढकाल

तपाईँ आफैँ अरिङ्गालमात्र बनिरहने? कसरी भनौँ मुख्यमन्त्री?

शंकर पोखरेल ज्यू,

मुख्यमन्त्री भनेर सम्बोधन गर्न मन लागेन। जसले मतदान गरेर मुख्यमन्त्री बनाए, तिनै भोका जनतालाई दोष थुपारेर आफ्नो गल्ती छोपेको देखेर लाजलाई पनि लाज लाग्यो होला। त्यसैले मुख्यमन्त्री भन्न फिटिक्कै मन लागेन।

'क्वारेन्टाइन र लकडाउनका कारण कोभिड-१९ समुदायमा फैलिएको छैन। आफूखुशी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिन?'

क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने? गंभीर बनौ।

Posted by Shankar Pokhrel on Wednesday, June 3, 2020

झट्ट हेर्दा फेसबुकमा देखिएको यो स्टाट्स कुनै एउटा जिम्मेवार नागरिकले लेखे जस्तो लाग्यो। अहँ होइन, मुख्यमन्त्रीले नै पो ! एउटा जिम्मेवार नागरिकले लेखेको भए यसलाई सही मान्ने थिएँ। मुख्यमन्त्रीले लेखेको देख्दा जिम्मेवारीबाट भाग्दै गरेका मुख्यमन्त्रीको अनुहार देखेँ। र, आफ्नो प्रदेशको मुख्यमन्त्री भनेर सम्बोधन गर्न लाज लागेर आयो।

मतदान गरेर मुख्यमन्त्री बनाएको किन हो? जिम्मेवारी सम्हाल्नका लागि कि भाग्न? अरु प्रदेशमा संक्रमण देखिँदा वैशाख १८ गतेसम्म प्रदेश ५ मा संक्रमण देखिएको थिएन। हाम्रा मुख्यमन्त्री र मन्त्रीहरुको कुरा सुन्दा लाग्थ्यो, सबैभन्दा सुरक्षित प्रदेश ५ नै थियो। अझ लाग्थ्यो, सरकारले स्थगित गरेको भ्रमण वर्ष २०२० प्रदेश ५ मा निरन्तरता दिइँदै छ। विद्यालयलाई नतिजा प्रकाशन गर्न निर्देशन दिइयो। त्यसको भोलिपल्ट १९ गते कोरोना संक्रमणका २ वटा केस देखिए।

देशमा लकडाउन जारी थियो। रातारात हुँइकिएर काठमाडौं आउनुभयो, शंकर पोखरेलज्यू। लाग्यो, हाम्रा प्रदेशका मुख्यमन्त्री सचेत छन्, जागरुक छन्। प्रदेशलाई कोरोना भाइरसबाट मुक्त बनाउन योजना लिएर काठमाडौं आए। अब रणनीति बनाउने छन् र प्रदेशमा फर्किने छन्। र, कार्यान्वयन गर्ने छन्। तर, उल्टो पार्टीभित्रको गुटलाई बलियो बनाउन कसरत गर्नुभयो फर्किनुभयो। कोरोना विरुद्धको कार्यक्रम के बनाउनु भयो?

आफ्नै तथ्यांक हेर्नुस्।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जेठ १८ गते एउटा प्रतिवेदन तयार गरेको छ। पढ्नु भयो कि भएन? फेसबुक स्टाटस लेख्दा लेख्दै फुर्सद् नभएको भए वा कतै फेला नपार्नु भएको भए, यता छ पढ्नु होला।

प्रदेशले चैत ४ गतेदेखि नेपाली सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरेर हेल्थ स्क्रिनिङ थाल्यो। पहिलो दिन २० हजार २ सय १९ जनाको स्क्रिनिङ भयो। सुरुको तथ्यांक हेर्दा आशा देखियो। मिति घर्किँदै गयो निराशा पो चुलिन थाल्यो त।

'नेपाल सरकारले चैत ११ गतेबाट पहिलो बन्दाबन्दीको घोषणा गरेपछि हेल्थ डेस्कबाट स्क्रिनिङ गरिएको संख्या उल्लेख्य मात्रामा ह्रास आएको पाइन्छ र चैत १६ गते पश्चात नगन्य मात्रामा हेल्थ डेस्कबाट स्क्रिनिङ गरिएको छ,' रिपोर्टमा भनिएको छ।

तथ्यांकमा चैत १६ गते स्क्रिनिङ गरिएको प्रतिशतका आधारमा हेर्दा ०.१ प्रतिशतमा झर्‍यो। तर, यो लकडाउनले सीमा क्षेत्रमा जोखिम बढाएको कुरा स्वीकार्नै पर्छ। लुकिलुकी भारतबाट नेपाल आएकामा नै पहिलो संक्रमण देखिएको हो। ९१ प्रतिशत भारतबाट लुकेरै छिरेकामा संक्रमण फैलिएको तथ्यांक प्रदेशको मन्त्रालयसँग छ। यस्तो अवस्था किन आयो? आँकलन तपाईँले गर्नु भएको छ कि छैन? मात्र जनतालाई प्रश्न तेर्साएर जिम्मेवारीबाट भाग्न खोज्ने?

कति सुरक्षित छन् तपाईँको प्रदेशका क्वारेन्टाइन्?

तपाईँले आजै लेखेको स्टाटसबाट सुरु गरौं- क्वारेन्टाइन र लकडाउनले संक्रमण समुदायमा फैलिन दिएको छैन भन्ने आशय त बुझेँ। लकडाउन हुनुपर्छ भन्ने कुराको पक्षपाती म पनि हुँ। तर, नेपालमा जस्तो अभ्यास भयो त्यसको भने म विरोध गर्छु।

'ढोका थुनेर बिरालो चुट्ने' भन्ने नेपाली उखान सुन्नुभएकै होला। हो, त्यस्तै किसिमको लकडाउनको अभ्यास भयो। ढोका थुनेर बिरालो चुट्दा आफूलाई टोक्छ भन्ने सामान्य विवेक तपाईँसँग छैन?

लकडाउन लगाएर मानिसलाई आजित पार्नु भयो। सुरुसुरुमा त मानेकै हुन नि। ७० दिनसम्म चुपचाप सहेर बसे। ७० दिन सरकारले दिएको पाँच किलो चामलले काटेकै हुन्। तर, अति भएपछि गुजारा चलाउन त पर्‍यो। अहिले भएको त्यत्ति हो। यो सरकारको निर्देशनको अवज्ञा व्यक्तिले भन्दा पनि भोकले भएको हो। आफूलाई अध्ययनशील मान्ने तपाईँको विवेक कता गयो?

काठमाडौंमा प्रधानमन्त्री भोकले कोही मर्दैनन् भनेर 'गफ' दिने। बालुवाटारका 'महाराज'लाई भोकले जनता मरेको पत्तो नहुने। तपाईँमा 'छोटे महाराज'को झल्को देख्दा मुख्यमन्त्री भन्न कहाँबाट मन लाग्थ्यो?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको क्वारेन्टाइन सम्बन्धी मापदण्डको बर्खिलाप स्थानीय तहले सञ्चालन गरेका कारण क्वारेन्टाइनहरू कोरोना संक्रमणको केन्द्र बन्दै गएका छन्।

सबैभन्दा बढी संक्रमण देखिएको जिल्ला प्रदेश ५ कै कपिलवस्तु। तराईको जिल्ला गर्मी याममा बन्द भएका विद्यालय। टिनको छानामुनि बिछ्याइएका म्याट। न त पंखा छ, न त झुल नै। लामखुट्टेको प्रकोप उत्तिकै। एकातिर कोरोना भाइरसको त्रास अर्को तिर डेंगु।

तपाईँलाई अर्को तथ्यांक दिउँ नेपालमा डेंगुको जोखिम बढ्दा सबैभन्दा बढी जोखिम प्रदेश ५ मा छ। ८२ डेंगु संक्रमित मध्ये ३५ त रुपन्देहीमा मात्रै छन्। यो जोखिमलाई ख्याल गर्नु भएको छ कि छैन?

जीवन पाल्न बाध्यताले भारत पसेका बाध्यताले नै लुकीलुकी नेपाल फर्किनुपर्‍यो। तिनीहरुलाई क्वारेन्टाइनका नाममा डिटेन्सन सेन्टरमा राखेर कोरोना भाइरस नियन्त्रण गर्छु भन्नुहुन्छ भने दिवा सपना हो त्यो। त्यसमाथि न स्वास्थ्य परीक्षण न त सोधीखोजी नै।

मापदण्डअनुसार कोठामा ७ फिटको फरकमा बेड तयार गरी दुई जनासम्म राख्नुपर्ने व्यवस्था छ। तर, संक्रमित थपिँदै जाँदा खाली कोठामा म्याट थपेर क्वारेन्टाइनको क्षमता बढाएको देखाउने प्रदेश सरकारले त्यसको जोखिम किन आँकलन गर्न सकेको छैन?

बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा मरेका युवाको जिम्मा कसले लिने? भोका जनतालाई प्रश्न तेर्साएर जिम्मेवारीबाट पञ्छिन खोज्ने तपाईँलाई मेरो प्रश्न। ओलीको सत्ता जोगाउन हुन्निएर काठमाडौं आउन सक्ने तपाईँ नरैनापुर किन पुग्नुहुन्थ्यो?

जताततै एउटै कोठामा धेरैलाई खाँदेर राखिएको छ मानिस। शौचालयका लागि लाइन बस्नुपर्छ। हामीलाई थाहा नै अधिकांश सरकारी विद्यालयको शौचालयको हालत कस्तो छ। संक्रमणको जोखिम न्युनिकरणका लागि सरसफाई पहिलो मापदण्ड हो त्यसको पालना हुन सकेको छैन कतै पनि।

तपाईँकै प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले क्वारेन्टाइन बसाइ सुरक्षित नहुँदा एक व्यक्तिबाट अरूमा संक्रमण भएको स्वीकारेका छन्।

‘क्वारेन्टाइनमा आएपछि समाजबाट त अलग भए। कतिपयमा त्यहाँ बसेकै बीच सामाजिक दूरी कायम भएन,’ उनले भनेका छन्, ‘यही कारण एक संक्रमित व्यक्तिबाट धेरैमा सरेको हुन सक्छ।’ अब भन्नुस् क्वारेन्टाइनमा लगेर संक्रमित बढाउने? अनि दोष चाहिँ पसल खोल्नेहरु तिर तेर्स्याउँदा थोरै पनि शरम लागेन?

कोरोना भाइरसले त आफैलाई उत्परावर्तित गर्दै अगाडि बढिरहेको छ। हामीले लकडाउनलाई उत्परावर्तित किन नगर्ने?

सरकारको कोभिड-१९ विरुद्धको तयारीका लागि प्रदेशले २ हजार क्षमताको संस्थागत क्वारेन्टाइन बनाउने स्थानीय तहले सोही अनुसारको बनाउने भन्ने कार्ययोजना बनाएको थियो। प्रदेश ५ ले संस्थागत रुपमा कहाँ क्वारेन्टाइन बनायो? स्थानीय तहको टाउकोमा सबै थुपारेर बन्द बिद्यालयमा कोचेर नागरिक राख्ने? क्वारेन्टाइनमा संक्रमित भएका नागरिकको व्यवस्थित नगर्ने अनि भोका नागरिकमाथि आरोप लगाएर चोखिन प्रयास गर्ने? कमसेक अलिकति त लाज राख्नुस शंकर पोखरेल ज्यू!

बिना तयारी नाका बन्द गरेपछि बाध्य भएर लुकिछिपी मानिसहरु आए। सुरुमै व्यवस्थित क्वारेन्टाइन बनाउन नसक्ने अझै जनतालाई प्रश्न गर्ने?

हजुरआमाले एउटा उखान भन्थिन् 'हग्ने बेलामा चा* खोज्ने...'। हो, त्यस्तै गरेर मान्छे धमाधम आउन थालेपछि स्कुलको खाली कोठामा एउटा म्याट फालिदिएर कोचाकोच भेडाबाख्रा हुलेजस्तो गरी नागरिकलाई कोरोनाको उच्च जोखिममा पार्ने अनि आजित भएर भद्र अवज्ञा गर्ने जनतालाई संक्रमण फैलाउने अपराधी जस्तै प्रश्न तेर्स्याउने?

परीक्षण राम्रो गरिएको हुन्थ्यो भने क्वारेन्टाइन पनि व्यवस्थित हुन्थे। संक्रमित नभएका घर जाँदै गर्थे। क्वारेन्टाइन खाली हुन्थे। एक महिना देखि क्वारेन्टाइनमा बसिरहेका छन्। त्यही संक्रमित भए कसले जिम्मा लिने? क्वारेन्टाइनका नाममा कोरोना फ्याक्ट्रीमा ५० हजार नागरिक कोचेर १५ हजार पनि परीक्षण गर्न नसक्ने नालायकीपन त देखाइसकेपछि हामीलाई प्रश्न गर्ने अधिकार तपाईँले गुमाइसक्नु भयो, कामरेड।

‍७ प्रदेशमध्ये सूचना व्यवस्थापनमा ढंग नपुगेको प्रदेशको रुपमा मेरै प्रदेशलाई देख्दा लाज लाग्छ मलाई। तपाईँलाई के लाग्छ थाहा भएन। समुन्नत प्रदेशको नारा घन्काउँदैमा समुन्नत भइँदैन। समुन्नत हुनका लागि भैपरी आउने जोखिम र चुनौतीको सामाना गर्न तयारी पनि हुनुपर्छ।

कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल ल्याउन लाग्दा बाटो छेक्ने जनप्रतिनिधिको गाउँको मान्छे तपाईँ। ती जनप्रतिनिधिमाथि कस्तो कदम चाल्नु भयो? जान्न चाहन्छु। किसानले उत्पादन गरेका टमाटर प्रहरीले डम्पिङ साइटमा फाल्छ। तपाईँ फेसबुकमा स्टाटस लेख्नु हुन्छ। स्टाटस त म नै लेख्छु। तर, तपाईँसँग किसानलाई राहत दिन जिम्मेवारी र प्रशासनलाई कारवाही गर्ने अधिकार छ। तपाईँले जिम्मेवारीबोध गर्नु भएन। अधिकारको प्रयोग गर्नु भएन। फेसबुकमा लेख्नुभयो जुन मैले पनि लेखेको छु। अब भन्नुस् तपाईँ र ममा के फरक भयो?

मलाई लागेको थियो- टमाटर फालिदिने प्रहरीसँग स्पष्टिकरण सोध्नुहुनेछ। प्रमुख जिल्ला अधिकारीलाई स्पष्टिकरण सोध्नुहुने छ। कारवाही गर्न आफैँले नसके गृह मन्त्रालयलाई सिफारिस गर्नुहुनेछ। फेरि तपाईँकै सक्रियतामा कपिलवस्तुका तरकारी अर्घाखाँचीका बजारमा पुगेको हेर्न मन थियो पाइन। अनि तपाईँलाई मुख्यमन्त्री म कसरी सम्बोधन गर्न सकुँ? फगत यतिबेला तपाईँ एउटा अरिंगाल हुनुभयो। बालुवाटरको कुर्सी जोगाउन भुनभुनाउने अरिंगालमात्र।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell