PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एआइजी थापाको बर्दीसहितको फोटो निजी कम्पनीको विज्ञापनमाः थापा भन्छन्, 'मलाई थाहै छैन', कम्पनी भन्छ, 'विज्ञापन डिजाइनमा त्रुटि भयो'



सविन ढकाल

एआइजी थापाको बर्दीसहितको फोटो निजी कम्पनीको विज्ञापनमाः थापा भन्छन्, 'मलाई थाहै छैन', कम्पनी भन्छ, 'विज्ञापन डिजाइनमा त्रुटि भयो'

काठमाडौँ : बिहीबार नेपाल प्रहरीका एआइजी शैलेश थापा क्षेत्री एक निजी कम्पनीको विज्ञापनमा देखिए। लक्ष्मी ट्रेडिङ हाउस विराटनगरको विज्ञापनमा एआइजी थापालाई देखाइएको थियो। विज्ञापन हिरो बाइकको थियो। बर्दीसहित उनी विज्ञापनमा देखिएका छन्। विज्ञापन सार्वजनिक भएसँगै धेरैले प्रहरीले बर्दीसहित निजी कम्पनीको विज्ञापनमा किन भनेर प्रश्न गरेको छन्।

प्रहरी नियमावली अनुसार पनि यस्तो विज्ञापन बन्देज छ। तर थापा विज्ञापनमा देखिए।

थापाले भने विज्ञापनबारे आफूलाई जानकारी नभएको र कुनै अनुमति नदिएको पनि बताए। पहिलोपोस्टसँग उनले भने, 'खै म त भर्खर हेर्दैछु। कसले बनायो। मलाई कसैले पनि सोधेको छैन। मैले प्रयोगको अनुमति दिएको पनि छैन।'

अनुमति बिना फोटो प्रयोग गरेकोमा कानुनी प्रक्रियामा जाने पनि उनले बताए।

'यो दुरुपयोग हो। बुझ्दैछु। यसमा कानुनी बाटो खोज्छु', एआइजी थापाले भने।

नेपाल प्रहरीको वेब पेजमा उपलब्ध फोटमा मास्क लगाएर विज्ञापन डिजाइन गरिएको छ। थापा भाबी प्रहरी प्रमुखका दाबेदार पनि हुन्। असार २५ गतेबाट प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अवकाश पाएपछि थापा र अर्का एआईजी हरि पालमध्‍ये एक जना प्रहरी प्रमुख बन्नेछन्।

विज्ञापन गर्ने लक्ष्मी ट्रेडिङ हाउसले भने विज्ञापन निर्माता कम्पनीले आफूलाई थाहै नदिइ डिजाइन गरेको बताएको छ। सञ्चालक सुवास आचार्यले भने, 'म बुझ्दैछु। विज्ञापन निर्माताबाट पो त्रृटि भयो कि।'

विज्ञापन निर्माता ब्राण्ड लजिकका सञ्चालक रोशन निरौलाले डिजाइनमा त्रृटि भएको स्वीकार गरे। निरौलाले भने, 'यसमा हाम्रो तर्फबाट गल्ती भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell