PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भारतबाट आउने अधिकांश कोरोना संक्रमितमा देखिएन लक्षण, ‘परीक्षण ढिलो र भाइरस कडा खालको नहुनाले’



रासस

भारतबाट आउने अधिकांश कोरोना संक्रमितमा देखिएन लक्षण, ‘परीक्षण ढिलो र भाइरस कडा खालको नहुनाले’

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएका अधिकांश संक्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ। संक्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो नदेखिएको पाइएको हो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत संक्रमितमा कोभिड-१९ को लक्षण नदेखिएको बताए। संसारभर भने करिब ८० प्रतिशत संक्रमितमा लक्षण देखिएको छैन। उनका अनुसार कोभिड-१९ परीक्षणका क्रममा ती बिरामीमा संक्रमण देखिए पनि संक्रमित भएको अवस्था भने सामान्य मानिस सरहको देखिने गरेको छ।

लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण नदेखिएर संक्रमण हुनसक्ने उनले बताए।

‘कोरोना भाइरस मानिसमा १४ दिनसम्म देखापर्ने गर्दछ तर हामीले परीक्षण १४ दिनपछि पनि गरेका छौँ’, उनले भने, ‘भाइरस मानिसमा सरेको १४ दिनपछि परीक्षण गराउँदा पनि लक्षण नदेखिन सक्छ।’

संक्रमितमध्ये पाँच प्रतिशत बिरामी भने संक्रमणको लक्षणसहित मुटुरोग, उच्चरक्तचाप, दमलगायतका बिरामी छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पनि शुरु–शुरुमा बाहिरबाट आउने बिरामीमा भाइरसको लक्षण भए पनि पछिल्लो पटक आउने बिरामीमा नभएको बताए। उनले कतिपय बिरामीलाई उच्च ज्वरो, स्वास फेर्न गाह्रो, थकाइ लाग्नेजस्ता लक्षण भने देखिएको बताए।

‘शुरु-शुरुमा बाहिर मुलुकबाट आएका संक्रमितमा लक्षण देखिएको थियो’, अस्पतालका निर्देशक डा राजभण्डारीले भने, ‘तर पछि भारतबाट आएका संक्रमितमा भने त्यस्तो लक्षण देखिएको छैन।’

उनले लक्षण नदेखिएपछि दीर्घरोगी संक्रमितलाई बढी डोजको औषधि प्रयोग गर्नुपरेको बताए।

संक्रमण भएका व्यक्तिमा १४ दिनपछि पीसीआर परीक्षण गर्दा भाइरस निकै कम सक्रिय रहेको हुन्छ। त्यतिबेला परीक्षण गराएका व्यक्तिमा संक्रमण देखिन पनि सक्छ, नदेखिन सक्छ। भाइरस पाँचदेखि १० दिनमा एकदमै सक्रिय हुनाले त्यतिबेला पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ। इपिडिमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बाहिरबाट आएकालाई राम्रो क्वारेन्टाइनमा राख्न सके डेङ्गु मलेरियाजस्ता रोगबाट बचाउन सकिने बताए। उनले अहिले स्थानीय तहले बनाएका क्वारेन्टाइनमा त्यति राम्रो व्यवस्थापन नभएकाले डेङ्गु, मलेरियाजस्ता रोग फैलने डर रहेको बताए।

नेपालमा अहिलेसम्म दुई हजार छ सय ३४ जनामा संक्रमण देखिएको छ। तीमध्ये दश जनाको मृत्यु भएको छ भने २९० जना उपचारपछि घर फर्किसकेका छन्। यस्तै, अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म ६४ जिल्लामा संक्रमण देखिएको छ।

संक्रमण युवा अवस्थाका व्यक्तिमा सबभन्दा बढी देखिएको छ। १५ वर्षदेखि २४ वर्ष उमेरका ७१३, २५ वर्षदेखि ३४ वर्ष उमेर समूहका ५६२, ३४ वर्षदेखि ४५ वर्ष उमेर समूहका ३४४, ४६ वर्षदेखि ५४ वर्ष उमेर समूहका १२६ जनामा रहेका छन्। वृद्धा र केटाकेटीमा कम छ। अहिलेसम्म पीसीआर ८० हजार २६७ र आरडिटी एक लाख २० हजार २७९ जनामा परीक्षण गरिएको छ। यस्तै, एक लाख ५५ हजार ८६८ क्वारेन्टाइनमा र दुई हजार १३ जना आइसोलेसनमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell