PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तरकारीलगायत आवश्यक वस्तुको ढुवानी र बिक्रीमा अवरोध गर्नेलाई कारबाही हुन्छ : गृह



पहिलोपोस्ट

तरकारीलगायत आवश्यक वस्तुको ढुवानी र बिक्रीमा अवरोध गर्नेलाई कारबाही हुन्छ : गृह

काठमाडौं : गृह मन्त्रालयले तरकारी तथा फलफूललगायतका आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र बिक्रीमा कुनै पनि प्रकारको अवरोध नगर्न निर्देशन दिएको छ। अवरोध सिर्जना गर्नु कानुन विपरीत भएकाले त्यस्तो कार्य गर्ने जोकोहीलाई पनि कारबाही गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र बिक्रीमा अवरोध नगर्न सबै निकाय र संघसंस्थालाई अनुरोध गरेको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराई आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र बिक्रीमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नहुने समेत बताइएको छ। पछिल्लो समय विभिन्न स्थानमा तरकारी तथा फलफूलको ढुवानीमा रोक लगाउने तथा नष्ट गर्ने क्रम बढेपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।

नेपाल सरकारले तरकारी तथा फलफूललाई अत्यावश्यक खाद्यवस्तुको रुपमा लिई यसको निर्वाध रुपमा ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। यसमा कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २०७६ चैत १२ गतेको निर्णयले तरकारी र फलफूल ढुवानीलाई सहज बनाउने निर्णय गरेको थियो।

समितिको २०७६ चैत २० गतेको बैठकबाट अन्य वस्तुका अलावा तरकारी र फलफूल बिक्री कार्यहरुलाई स्वास्थ्य सुरक्षाका आवश्यक प्रबन्धहरु गरी सेवा प्रवाह गर्ने र यसका लागि स्थानीय प्रशासनले स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको थियो।

त्यस्तै, मन्त्रिपरिषदको गत बैशाख २४ को बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी तरकारी फलफूल, दुध र दुधजन्य पदार्थको उत्पादन, संकलन, भण्डारण र बिक्री जस्ता क्रियाकलापहरु संचालन गर्ने/गराउने कार्य जिल्ला कोभिड-१९ क्राइसिस म्यानेजमेण्ट सेन्टरले मिलाउने निर्णय गरेको थियो। सो निर्णयको कार्यान्वयन गर्न/गराउन समेत मन्त्रालयबाट मातहतका सबै निकायलाई निर्देशन भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell