
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय सचिव वाइ सत्य कुमारले नेपाल र भारत भूगोलले मात्रै नभइ सभ्यता र संस्कृतिले पनि जोडिएको बताएका छन्।
भारतले नेपाली भूमि हुँदै मानसरोबर जाने सडक बनाएपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। त्यसयता नेपालले कुटनीतिक माध्यमबाट वार्ता गरेर सीमा विवाद टुंगो लगाउने बताइरहँदा भारतले भने वार्ताको लागि तयार भएको छैन।
सीमाको विषयमा कुटनीतिक वार्ता नभए तापनि भारतीय नेताहरुले केही दिन यता सीमा विवाद बारे टिप्पणी गरिरहेका छन्। यसबीच, सत्य कुमारले ट्वीट गर्दै दुवै देशबीच सम्बन्ध अद्वितीय भएको भन्दै ‘कृत्रिम रुपमा निर्माण भएको मित्रता’ले त्यसलाई बदल्न नसक्ने बताएका हुन्।
भारतीय नेताहरुले नेपालले चीनको प्रभावमा लिम्पियाधुरा आफ्नो भनिरहेको दावी गरिरहेको बेला सत्य कुमारले ‘कृत्रिम मित्रता’ को कुरा बोलेका हुन्।
उनले भारतीयहरु सोमनाथसँगै पशुपतिनाथबाट निर्देशित रहेको भन्दै लेखेका छन्, ‘हामीले बुझ्नुपर्छ कि हामीबीच केही विषयमा मतभेद छ। तर मनभेद छैन।’
Thread:
— Y. Satya Kumar (@satyakumar_y) June 4, 2020
India and Nepal are joined together not just by geography, but by civilization and culture.
This is something unique between the two and any other artificially constructed friendship cannot replace it.#IndiaNepalFriendship pic.twitter.com/ImsSlB5MXz
नेपाल र भारतबीच सीमा विवाद भइरहेको बेलामा भारतीय सेनामा रहेको गोर्खा बटालियनको चर्चामा चुलिएको छ।
यसबारेमा उनी लेख्छन्, ‘नेपाली गोर्खाले हाम्रो सेनामा अरुको कुनै सामाजिक समूहभन्दा बढी सेवा गरेको छ। उनीहरुले युद्धको मैदानमा देखाएको बहादुरीबाट सबै भारतीय परिचित छन्।’
उनी भूराजनीतिका कारण नेपाल भारतसम्बन्धमा कहिलेकाहि विवाद उत्पन्न हुने गरेको भन्दै नेपाल र भारतबीचको सम्बन्ध दुई देशको सरकारको आधारमा नभइ दुवै देशका जनताको मुटुले जोडेको भन्दै त्यस्ता विवादहरु सजिलै समाधान हुने बताए।
नेपाल र भारतबीच सीमा विवाद बढ्दै गर्दा पहिला मौन बसेका मोदी सरकारका मन्त्री र भारतीय नेताहरुले सीमा विवाद बारे बोल्न थालेका छन्।