
काठमाडौं : कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारले गरेको तयारीको सम्बन्धमा जानकारी लिएको छ।
विदेशबाट आउँदै गरेका नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारहरुले गरेको तयारीको विषयमा समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले प्रदेश सरकारसँग समन्वय गर्न तोकिएका संघीय मन्त्रीहरुसँग जानकारी लिएका हुन्। समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले आज (शुक्रबार) देखि विदेशबाट आउँदै गरेका नेपाली नागरिकहरुलाई काठमाडौंमा होल्डिङ स्टेसनमा राख्नेदेखि प्रदेश र स्थानीय तहसम्म पठाउने विषय र प्रदेशमा भएको तयारीको विषयमा जानकारी लिने काम भएको बताए।
पूर्व निर्धारित कार्यक्रम अनुसार मन्त्रीहरुबीच कार्यान्वयनको विषयमा एकअर्कामा जानकारी दिने काम भएको उनले बताए। उनले हवाई उडानबाट अवतरण भएपछि नेपाली सेना र सुरक्षा अधिकारीबाट व्यवस्था भएको बसबाट काठमाडौंको होल्डिङ सेन्टरसम्म पुर्याउने र केही घण्टाको आरामपछि प्रदेशमा पठाइने बताए।
विदेशबाट अलपत्र परेका नेपाली नागरिकको उद्दार गर्ने कार्य आज देखि सुरु भएको छ। शुक्रबार पहिलो चरणमा म्यानबाटरबाट २६ जना नागरिक आइसकेका छन्। अब युएइबाट आउनेछन्। विदेशबाट उद्दार गरी नेपाल ल्याइएका नागरिकको व्यवस्थापनाको काम कोरेना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टेर (सीसीएमसी)को संयोजनामा हुने छ।