PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेकपा सांसद चौधरीलाई कार्बाहीको माग गर्दै सरिता गिरीले भनिन् : चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाएको त होइन?



पहिलोपोस्ट

नेकपा सांसद चौधरीलाई कार्बाहीको माग गर्दै सरिता गिरीले भनिन् : चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाएको त होइन?

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीलाई कार्बाहीको माग गरेका छन्। शुक्रवारको प्रतिनिधिसभा बैठकमा समाजवादीका सांसद सरिता गिरीले आफू संसदमा उपस्थित नभएको दिन नेकपाका एक सांसदले घृणित मन्तव्य दिएको आरोप लगाइन्।

उनले नेकपा सांसदले दिएको अभिव्यव्यक्तिको रेकर्ड गरी कानुनी कार्बाहीको प्रक्रिया अघि बढाउन समेत माग गरिन्। उनले नेकपा सांसदको भनाइले संसद र सार्वभौमसत्तामाथि आक्रमण भएको आरोप लगाइन्।

सांसद गिरीले उनको मन्तव्य घृणित मन्तव्य (हेट स्पिच) संसदबाट हटाउन पनि माग गरिन्। उनले भनिन्, 'संसदमा दादागिरी चलाउने, जासुसी गर्ने कुरा गरिन्छ भने यो कुनै सांसदमाथि मात्रै होइन्। पूरै संसदमाथिको आक्रमण हो।'

गिरीले सांसदले मिडियामा प्रायोजित रुपमा आएको कुरा सुनेर धारणा राखेको आरोप समेत लगाइन्। सांसद गिरीले सांसद चौधरीको श्रीमान् दाङ जिल्लाको राप्ती गाउँपालिकाको निर्वाचनमा भारतीय रुपैयाँ बाड्दै गर्दा पक्राउ परेको बताउँदै चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाएको दावी गरिन्।

'दाङ जिल्लाको राप्ती गाउँपालिकाको निर्वाचनमा चुनाव लड्दा उनका पतिले भारतीय रुपैयाँ बाँडिरहेका थिए। जब गाउँका मानिसहरुले पक्रिए भारतीय रुपैयाँ त उत्तरी छिमेकी चीनको तर्फबाट बाँडिएको थियो भनेर,' उनले भनिन् , 'ठूलो शक्तिको आरोपबिना कसरी हिम्मत भयो? उनले कतै चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाएको त होइन?'

आफू नेपालको कानुन अनुसार आएको बताउँदै इतिहासको जानकारी लिएर आफ्ना सांसदलाई प्रशिक्षित गर्न पनि नेकपालाई आग्रह समेत गरिन्।

त्यस्तै, सांसद अम्रितादेवी अग्रहरीले सांसद चौधरीले माफी माग्नुपर्ने बताइन्। उनले सांसद रगत तातेको भए वाग्मतीमा गएर छलाङ मार्नु भन्दै आक्रोश व्यक्त गरिन्। उनले देशको सच्चा राष्ट्रवादी मधेशी भएको बताइन्।

सांसद अग्रहरीले पहाडी शासकहरूले कालापानी क्षेत्र भारतलाई बेचेको पनि आरोप लगाइन्। उनले भनिन्, 'जग्गा बेचेर नौटंकी गर्दैमा जग्गा फिर्ता आउँदैन।' उनले जग्गा फिर्ता गर्न कुटनीतिक वार्ता गर्न सरकारलाई सुझाइन्।

सरकारले नीति तथा कार्यक्रममा भारतले मिचिएको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने विषय समावेश गरेको थियो। लगत्तै संसदमा गिरीले भारत र चीनालाई नसोधी नक्सा निकाल्न नहुने तर्क गरेकी थिइन्। दुई देशसँग छलफल नगरी विदेश नीतिमाथि प्रश्न उठाएको बताएकी थिइन्।

सांसद गिरीको अभिव्यक्तिप्रति आपत्ति जानउँदै गत जेठ १९ गते नेकपा सांसद चौधरीले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको बताइएकी थिइन्।

उनले भनेकी थिइन्, ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन। भन्दाभन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो। मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell