
काठमाडौं : समाजवादी पार्टीका नेता प्रदीप यादवले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको राजीनामा माग गरेका छन्। आज प्रतिनिधसभामा बोल्दै मधेशी समुदायलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै सांसद यादवले शेर्पालाई निलम्बन गर्न माग गरेका हुन्।
‘एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले एउटा अनलाइनमा इन्टर्भू दिँदा भन्नु भएको थियो: मधेशलाई राष्ट्रियता आउँदैन। सिकाउनु पर्छ,’ यादवले प्रश्न गरे, ‘त्यो पनि कसको मार्फत? सेनाको मार्फत। एन्फा अध्यक्षले सेनालाई पनि मुछनु भएको छ। मधेशीलाई राष्ट्रियता उहाँले सिकाउने हो। मधेशीलाई राष्ट्रियता आउँदैन?’
उनले एन्फाले मन्त्री विश्वकर्माको क्षेत्रमा १७ करोडको प्रोजेक्ट पठाएको उल्लेख गर्दै कतै खेलकुद मन्त्रीको संरक्षणमा त अध्यक्ष छैनन् भन्ने आशय व्यक्त गरे।
‘एन्फालाई हामी इज्जतले हेर्छौं, फुटबललाई सबै नेपालीले प्यार गर्छ, अनि यसरी मधेशीलाई हेप्ने? मधेशीलाई होच्याउने? मधेशीका बारेमा गलत अभिव्यक्ति दिने?’ यादवले भने, ‘कर्मा छिरिङ शेर्पाले पक्कै खेलकुद मन्त्रीको तागतमा बोल्नु भएको होला।’
यादवले एन्फा जस्तो गरिमामय ठाउँमा बसेर मधेशीलाई होच्याउने किसिमको अभिव्यक्ति दिएकाले शेर्पाको राजीनामाको समेत माग गरे।
‘म खेलकुद मन्त्रीसँग आग्रह गर्न चाहन्छु कि त्यस्ता गलत अभिव्यक्ति दिने कर्मा छिरिङ शेर्पालाई अबिलम्बन निलम्बन गर्नुपर्छ। र कानुनी दायरामा ल्याउनु पर्छ,’ उनले भने, ‘ किनभने उहाँले मधेशीलाई अपमान गर्नु भएको छ। तराई पहाड हिमाललाई टुक्र्याउने कोसिस गर्नु भएको छ। १७ सय किमि बोर्डरको रक्षा मधेशीले गर्छ। हामी विना बर्दीको सिपाही हौं।’
मधेशी समुदायप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिको विरोध भएपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले माफी मागिसकेका छन्। उनले आफ्नो भनाइलाई तोडमोड गरेर राखिएको र आफ्नो आशय कुनै क्षेत्र, वर्ण या समुदायको राष्ट्रियतामाथि प्रश्न उठाउने नभएको दाबी गरेका छन्।
खेलकुद मन्त्रीलाई आफ्नो क्षेत्रमा बढी बजेट छुट्याएको आरोप
यादवले वीरगंजमा नारायण रंगशाला निर्माणका लागि ५० लाखमात्र विनियोजन भएकोमा समेत असन्तुष्टी जनाए।
‘युवा तथा खेलकुद मन्त्रालयले नारायणी रंगशाला वीरगंजलाई ५० लाख रुपैयाँ छुट्याएको छ। गज्जबको कुरा लाग्छ मलाई ५० लाख। सुन्दा ठूलो रकम लाग्छ, उनले भने, ‘तर त्यो रंगशाला दशरथ रंगशाला जस्तो ठूलो रंगशाला हो। त्यहाँ स्थानीय जनताको लेभिबाट त्यो ठूलो रंगशाला बनेको हो। तर त्यो रंगशाला कोमामा गइसकेको छ। र यो अवस्थामा ५० लाखमा केही हुन सक्दैन।’
यदी त्यो रंगशाला केन्द्र सरकारले बनाउन नसक्ने भए प्रदेश सरकार मातहत दिन उनले आग्रह गरे। यसका लागि प्रदेश २ का मुख्यमन्त्रीसँग आफूले चर्चा गरेको बताउँदै प्रदेश सरकारले यसको निर्माण गर्ने बताए।
‘कि मन्त्री ज्युले त्यो रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउन स्पेसल बजेटको व्यवस्था गरुन या यो संघको रंगशाला हुदैन अब प्रदेशमा काट्नुहोस,’ उनले भने, ‘ प्रदेश स्टेडियम बनाउन तयार छ। मुख्यमन्त्रीले भन्नु भएको छ संघ सरकारले छोडोस हामी बनाउँछौं।’