PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पूर्ण रुपमा निको नहुँदै सेती अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज



एम बम

पूर्ण रुपमा निको नहुँदै सेती अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज

कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट शुक्रवार ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो।

कोरोना निको नभए पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो। अस्पतालका अनुसार ६ जनामध्ये केहीको रिपोर्ट भने नेगेटिभ देखाएको छ। यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो। तर, स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि दुई पटक नेगेटिभ रिपोर्ट नआउँदै उनीहरुलाई डिस्चार्ज गरिएको छ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि सोही अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। निर्देशिकामा सामान्य लक्षण देखिएका बिरामीलाई भने १४ दिन आइसोलेसनमा राखेर निको भएको तीन दिनपछि डिस्चार्ज गर्ने व्यवस्था छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सोही निर्देशिका अनुसार अब कोरोना संक्रमितको व्यवस्थापन गरिने जनाएको छ। मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले निर्देशिका सुदूरपश्चिममा पनि कार्यान्वयन भएको बताए।

डिस्चार्जपछि संक्रमितहरु अस्पताल बाहिर अलपत्र छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell