PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कोरोना परीक्षणमा प्रयोगशालाको क्षमता अपुग, नमूनाको चाङ लागेपछि सुदूरपश्चिममा रोकियो स्वाब संकलन



एम बम

कोरोना परीक्षणमा प्रयोगशालाको क्षमता अपुग, नमूनाको चाङ लागेपछि सुदूरपश्चिममा रोकियो स्वाब संकलन

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम ५ दिनका लागि बन्द गरिएको छ। स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिज नहुँदा ५ दिनका लागि स्वाब संकलनको काम नगर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो।

सुदूरपश्चिममा रहेको एक मात्र प्रयोगशालामा १ हजार १०० स्वाब संकलन गरिएका छन्। दैनिक २५० जनाको पीसीआर परीक्षण भइरहेको छ। प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै ५ दिनका लागि संकलनको काम रोक्न भनिएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए।

‘प्रयोगशालामा १ हजार १०० भन्दा बढी स्वाब राख्न सकिने अवस्था छैन। यिनीहरुलाई परीक्षण गराउन ४ दिन लाग्छ। त्यसैले ५ दिनसम्म संकलन गर्ने काम रोक्न भनेका छौँ,’ निर्देशक डा अवस्थीले भने।

डिफ्रिजको क्षमता नहुँदा स्वाब बिग्रिने भन्दै ५ दिनका लागि रोकिएको उनले बताए।

भारतबाट आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएसँगै स्वाब संकलनको मात्रा पनि बढेको छ। तर, परीक्षण गर्ने बढी क्षमता नहुँदा समस्या भइरहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell