PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

‘भर्चुअल’ विश्व खोप सम्मेलनमा राष्ट्रपति भण्डारीको सन्देश : खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्छ



रासस

‘भर्चुअल’ विश्व खोप सम्मेलनमा राष्ट्रपति भण्डारीको सन्देश : खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्छ
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन्। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेका ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा असंक्रमणीकरणका लागि विश्वव्यापी गठबन्धन (जीएभीआई) ले खासगरी स्वास्थ्यसम्बन्धी दिगो विकासका लक्ष्य प्राप्ति तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको सराहना गरिन्।

साथै उनले खोप तथा असंक्रमणीकरणको महान उद्देश्य प्राप्तिका निम्ति नवीकृत प्रतिबद्धताका साथ अघि बढ्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरेकी छिन्। खोप कार्यक्रमबाट नेपालले हासिल गरेका उपलब्धीबारे चर्चा गर्दै राष्ट्रपतिले साझा सुख र खुशीका निम्ति विश्वव्यापी रुपमा गरिने प्रयत्नप्रति नेपालको ऐक्यबद्धता प्रकट गरिन्। कोभिड-१९ विरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकहरूमा उनले सफलताको शुभकामना पनि व्यक्त गरेकी छिन्।

स्वस्थ संसार निर्माण तथा खोपको विकासका निम्ति सहायता जुटाउने लक्ष्यका साथ आयोजित उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघीय निकाय, निजी तथा परोपकारी संघसंस्था तथा सरकारी प्रतिनिधिसहित ३०० जनाले भाग लिएका परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालसहित विकासोन्मुख देशहरूको खोपमा पहुँच सुधार्न २० वर्षअघि सार्वजनिक-निजी साझेदारीमा जीएभीआई (ग्याभी) स्थापना गरिएको हो। संयोगवश ग्याभीको २० औँ वार्षिकोत्सवका अवसरमा उक्त सम्मेलन आयोजना भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell