PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दैलेखका मेयरलाई भारतबाट आएकाहरुको माग : 'ओ मेयर रिचार्ज हाल, हामीलाई पोषण पुगेन अण्डा दे', क्वारेन्टाइन अव्यवस्थित



प्रकाश भण्डारी

 दैलेखका मेयरलाई भारतबाट आएकाहरुको माग : 'ओ मेयर रिचार्ज हाल, हामीलाई पोषण पुगेन अण्डा दे', क्वारेन्टाइन अव्यवस्थित

काठमाडौं : बिहीवार दैलेखका १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भयो। त्यसमध्ये अधिकांश नारायण नगरपालिकाका थिए। जहाँ हालसम्म १ सय ५९ जना कोरोना संक्रमित छन्। उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइन बसेका हुन्। क्वारेन्टाइन बसेको दशौं दिनमा आरडीटी परीक्षण गरियो, नतिजा पोजेटिभ आएकाको पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भयो।

भारतबाट दिनदिनै आउनेको संख्या बढ्दा उनीहरुको ब्यवस्थापनका लागि त्यहाँको स्थानीय सरकार हारगुहार गरिरहेको छ। नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले संक्रमितको ब्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकार गुहारे पनि उनीहरुले वेवास्ता गरेको आरोप लगाए। आफूले आँकलन गरेभन्दा बढी मान्छे भारतबाट आउँदा र संक्रमित दिनदिनै थपिँदा स्थिति नियन्त्रण बाहिर जाने पो होकि  भन्नेमा चिन्तित छन्, उनी।

प्रदेश सरकारको असहयोग

मेयर खड्का संघीय सरकारले भारतबाट नेपालीलाई आउन दिने नीति लिएपछि खुसी थिए। दिनदिनै भारतबाट हामी अलपत्र परे भन्दै फोन गरिरहेका आफ्ना जनताले राहत पाउने भए भन्ने उनको अनुमान थियो। त्यसपछि उनले नगरपालिकाभित्रका सबैजसो विद्यालयलाई क्वारेन्टाइन बनाउन लगाए। भारतबाट आउने क्रम सूरु भएपछि क्वारेन्टाइन भरिन थाले। उनको अनुमान थियो चार पाँच सय जना त आउलान्, तर शुक्रवारसम्म १६ सय जना भारतबाट आइसकेका छन्।

क्वारेन्टाइन भरिन थालेपछि उनले प्रदेश सरकारलाई चाँडो पीसीआर गरेर क्वारेन्टाइन खाली गर्न अनुरोध गरे। तर प्रदेश सरकारले अनुरोध सुनेन। बरु नतिजा आउन १५ दिनभन्दा बढी लाग्न थाल्यो। 'गाउँमा मान्छेहरु थामिसक्नु छैन्, तर पीसीआरको नतिजा आउन १५ दिन लाग्छ। कहिले सुर्खेत पठाउ भन्छन्, कहिले जुम्ला। यताको बिग्रियो भन्छन्, यसले त अब भारतबाट आउनेलाई कहाँको क्वारेन्टाइनमा राख्ने, हामी त अन्यौलमा छौ,' उनले भने।

अहिलेसम्म कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले कुनैपनि सहयोग नगरेको उनको आरोप छ।

उनले कोरोना नियन्त्रणका लागि नगरपालिका एक्लैले केही गर्न नसक्ने भएकाले बेलाबेला प्रदेश र केन्द्र सरकारलाई सहयोग गर्न अनुरोध गरेको भएपनि बेवास्ता गरिएको बताए। 'सुरुदेखि नै कति मिटिङमा, कतिपटक सांसदमार्फत पनि अनि केन्द्रमा पनि हाम्रा सुर्खेतकै माननीय स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ नवराज राउत। उहाँमार्फत पनि कति पटक भने। तर कहिले कुरा सुनावाइ भएन, आज प्रदेश सरकारले ९ लाख पठाएको छ भन्ने सुनेको छु। अहिले म बुझ्न जादै छु। यहीँ होला सहयोग गरेको भनेको,' उनले सुनाए।

पार्टी कार्यालयमा स्वास्थ्यकर्मी,  वृद्धा आश्रमै क्वारेन्टाइन

नगरपालिकाभित्रका १९ वटा स्कुल र एक वृद्धा आश्रमलाई पनि क्वारेन्टाइन बनाइएको छ। त्यसमा एक हजार २ सय ८३ जना बसिरहेका छन्। १९ वटा स्कुलमा बनाइएको क्वारेन्टाइनले नपुगेपछि वृद्धा आश्रमलाई पनि क्वारेन्टाइन बनाइयो। अहिले २० ठाउँका क्वारेन्टाइन पनि अपुग छन्। 'हामीले यसरी मान्छेहरु ह्वारह्वार्ती आउलान् भन्ने अनुमान गरेका थिएनौं,  नारायणमा १ सय ५० बेडको क्वारेन्टाइन र सरस्वती माविमा २ सय बेडको क्वारेन्टाइन बेड थियो। तर मान्छेहरु धेरै भएपछि एकै बेडमा दुई तीन जना राख्नुपर्ने भयो,' उनले भने।

संक्रमित बढ्न थालेपछि प्रदेश सरकारलाई खड्काले आइसोलेसनको ब्यवस्था गरिदन अनुरोध गरे। तर जहिले प्रदेशले आलटाल गरेको उनको आरोप छ। अहिले दुईवटा स्कुलका क्वारेन्टाइनलाई आइसोलेसन बनाइएको खड्काले बताए। एक सय ५९ मध्ये सुरुमा संक्रमण देखिएका ३४ जनालाई प्रदेश सरकारले विभिन्न ठाउँका अस्पतालमा राखेपनि एक सय २५ लाई नारायण क्याम्पस र सरस्वती विद्यालयमा रहेका क्वारेन्टाइइलाई नै आइसोलेसन बनाएर राखिएको छ। खड्काले प्रदेशमा ५ सय आइसोलेसन बेड भए पनि आफ्नो नगरपालिकाका संक्रमितलाई प्रदेशले नराखिदिएको गुनासो गरे। 'मैले थाहा पाएसम्म पाँच सय आइसोलेसन बेड छन्। त्यही भएर पटकपटक भने तर सरकारले सुनेन,' उनले भने। खड्काले आइसोलेसनका लागि मापदण्ड पुरा नभए पनि संक्रमित अलपत्र पर्न थालेपछि आइसोलेसन बनाउन बाध्य भएको सुनाए।

 'आइसोलेसनका लागि मापदण्ड त पुरा भएको थिएन। तर प्रदेशले अब राख्ने ठाउँ छैन भनेपछि हामीले यहीँको स्कुलमा आइसोलेसन बनाएका छौं,' उनले भने। आइसोलेसनमा राखिएका बिरामीको रेखदेखका लागि नेकपाको पार्टी कार्यालयमा स्वास्थ्यकर्मीलाई राखिएको छ। स्वास्थ्यकर्मीलाई कहिँ कतै बस्ने व्यवस्था नभएपछि पार्टी कार्यालयमा राख्न बाध्य भएको खड्काले बताए।

'जनता सन्तुष्ट छैनन्'

भारतबाट आएर क्वारेन्टाइनमा बसेका सबैको पीसीआर परीक्षण गरिदैन। उनीहरुमध्ये लक्षण देखिएका तथा आरडीटी गरिएकामध्ये पोजेटिभ भएकाको मात्रै परीक्षण गर्ने गरिएको छ। सबैलाई पीसीआर गर्ने आफ्नो विचार भएपनि प्रदेशले नतिजा निकाल्न ढिलाई गर्दा आरडीटी पोजेटीभ आएकाको मात्रै गर्न बाध्य भएको खड्काले बताए।

नगरपालिकाले ३७ जनाको पीसीआरको लागि पठाएकोमा १५ दिन बित्दा पनि नतिजा नआएको खड्काले बताए। खड्काले सबैको परीक्षण गर्दा दुई महिना लाग्ने देखिँदा अहिले आरडीटी गरेर घर पठाउने गरिएको सुनाए।

आरडीटीमात्रै गरेर घर पठाँउदा भारतबाट आएकाहरु आक्रोशित हुन थालेका छन्। आरडीटी नेगेटिभ आएर घर पठाएकालाई फेरि लक्षण देखिएपछि पीसीआर गर्दा कोरोना पोजेटिभ भएपछि आफूलाई धम्की दिने गरेको उनको गुनासो छ। 'संक्रमण नभए पनि संक्रमित बनाउन खोजेको भनेर फोन गरेर धम्काउछन्। स्थानीय सरकार हो कि के हो? भन्छन्। जनताहरु पनि सन्तुष्ट छैनन्, उनीहरुको अपेक्षा छ कम्तीमा पीसीआर गरेर ढुक्क हुन पाइयोस् भन्ने,' उनले भने।

'मेयर कहाँ छ? भनेर कुटन खोज्छन्'

खड्काले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि आफू रातदिन खटिरहेको दाबी गरे। तर पनि नगरपालिका अप्ठेरो अवस्थामा छ। भारतबाट आउनेले क्वारेन्टाइनमा बस्नसमेत अटेर गर्ने भएकाले उनीहरुलाई सम्झाईबुझाई गर्नमा खटिन्छन् खड्का। त्यति हुँदा पनि कति रातिराति भागेर घर जाने गरेको खड्काले सुनाए।

भारतबाट आएकाहरुले बेलाबेला आफूलाई धम्कीसमेत दिने गरेको उनको गुनासो छ। 'अहिले क्वारेन्टाइनमा बस्नेहरु विभिन्न संस्कार संस्कृतिका हुन्छन्। कतिले कुरा बुझाए पनि बुझ्दैनन्,' उनले भने, 'भारतमा पनि फरकफरक ठाउँमा र फरक खालका काम गरेर आएका हुन्छन्। कतिले फोन गरेर ओ मेयर रिचार्ज हाल भन्छन्। कतिले हामीलाई पोषण पुगेन मेयर अण्डा दे भन्छन्।'

महामारीको बेला भएकाले सबै व्यवस्थापन गर्न नसकिरहेको खड्काले स्वीकारे। तर नागरिकको अपेक्षा भने सबै खालको व्यवस्था हुनुपर्यो भन्ने हुँदा आफूलाई जनताले बेलाबेला हातपात गर्ने सम्मको धम्की दिने गरेको उनको गुनासो छ। 'अहिले क्वारेन्टाइन वरपर गयो की, ओ मेयर आयो। कुट्नुपर्छ भन्छन्। हुल गर्न,' उनले गुनासो गरे।

क्वारेन्टाइन बसेकाहरु आन्दोलित

हरेक दिन नगरपालिकामा चालिस/पचास जनाको हाराहारीमा नेपालीहरु भारतबाट आउछन्। क्वारेन्टाइनमा बसेकाहरुको लामो समयसम्म स्वास्थ्य परीक्षण नहुँदा उनीहरु आन्दोलनसमेत गर्न थालेका छन्। भारतबाट आउनेको संख्या धेरै हुँदा बेलाबेला आरडीटी कीटसमेत नगरपालिकामा अभाव हुन थालेको छ। २१ दिन क्वारेन्टाइनमा बसिसेकाकाहरुले घर जान नदिएको भन्दै आन्दोलन गर्न थालेको खड्काले बताए। पीसीआर परीक्षणमा ढिलाई हुँदा भारतबाट आएका संक्रमितको ब्यवस्थापनमा कठिनाई भएको खड्काको भनाई छ।

'की हामीलाई संक्रमित हो भनेर अस्पताल लैजाउ होइन भने घर जान देउ भन्दै आन्दोलन गर्छन्। तर प्रदेशलाई हामीले हारगुहार गर्दा पनि सुन्दैन। अब के गर्ने? कसरी बुझाउने,' उनले भने। प्रदेश र केन्द्र सरकारले गरिरेहको गल्तीको प्रतक्ष्य मारमा स्थानीय सरकार परेको मेयर खड्काको तर्क छ। 'भएका आइसोलेसनमा बिरामी नराख्ने, फटाफट पीसीआर नगर्ने। अनि सामान छैन भन्ने। कति दिन सम्म यसरी चल्छ। अब त अति भइसक्यो। यो सबै गर्ने क्षमता हामीसँग छैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell