
काठमाडौं : जिल्ला प्रशासन कार्यालय अछामले अर्को आदेश नभएसम्मको लागि आइसोलेसन क्षेत्र सिल गरिएको जनाएको छ। कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलन नदिन र रोकथाम तथा नियन्त्रण कार्यलाई व्यवस्थित गर्न शुक्रवार आइसोलेसन क्षेत्र सिल गरिएको हो।
पूर्वमा बुढाखोला, पश्चिममा मध्यपहाडी राजमार्गसँग जोडिएको मष्टाको मन्दिर पश्चिमको बाटो र त्यसको आसपासको क्षेत्र, उत्तरमा स्वास्थ्य कार्यालय अछामको उत्तरतर्फको पर्खाल सम्म र दक्षिणमा मध्यपहाडी राजमार्गसँगैको रेडक्रस भवनसम्मको क्षेत्र सिल गरिएको हो।
प्रशासनले सो इलाका बाहिरका व्यक्तिहरु आउन जान नपाउने र सो इलाका भित्रका व्यक्तिहरु समेत बाहिर भित्र गर्न नपाउने बताएको छ। सील गरिएको क्षेत्रमा आवागमन निषेध गरिएको छ।
अछाममा हालसम्म १२ जनामा कोरोना पोजेटिभ आएको छ भने ती सबैलाई जिल्ला अस्पताल मंगलसेनको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।