PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

यसरी हुन्छ कोरोना परीक्षण, स्वास्थ्यकर्मी दिनरात खट्छन् प्रयोगशालामा

यसरी हुन्छ कोरोना परीक्षण, स्वास्थ्यकर्मी दिनरात खट्छन् प्रयोगशालामा

एम बम/पहिलोपोस्ट


कैलाली : शुक्रवार धनगढीको पशु अन्वेशण प्रयोगशाला जाने तालिका बन्यो। यो सुदूरपश्चिम प्रदेशको एकमात्र कोरोना परीक्षण गर्ने प्रयोगशाला। कोरोना परीक्षण कसरी हुने रहेछ? यही जिज्ञासा मेट्न म सोझिएँ प्रयोगशालातिर।

दिउँसो करिब पौंने तीन बजेतिर बाहिर हल्का गर्मी थियो। म प्रयोगशालाभित्र पसेँ। प्रयोगशालाको कोठाहरु एसीले चिसिएको रहेछ। कोरोना संक्रमणको त्रास छ, झन् यसको प्रयोगशालामै आइपुगेको छु।

'केही त हुने हैन?' मनमा पनि चिसो पस्यो।

प्रयोगशालाभित्र एकछिन त अकमक्क परें। साधारण कपडामा भित्रेको म, जे त होला भनेर फोटो खिच्नतिर लागें।

यताको कोठा हेरें हल्का निलो रंगका पीपीई लगाएका स्वास्थ्यकर्मी टेबलतिर लेख्दै थिए। अर्को कोठातिर हेरें - त्यस्तै दृश्य।

काममा व्यस्त कसैसँग पनि मसँग बोल्ने फुर्सद देखिएन। कर गरेपछि एक जना स्वास्थ्यकर्मीको सहयोगमा प्रयोगशालाको एक्सट्रेक्सन (Extraction) कोठाको ढोकासम्म पुगें। भित्र तीन जना स्वासथ्यकर्मी कोरोना भाइरस (कोभिड-१९) को स्वाब परीक्षणमा व्यस्त रहेछन्।

पाँच मिनेट जति ढोकामा उभिएर हेर्दै गर्दा मन अझै भरङ्ग भो।

त्यसपछि त्यहाँबाट फर्किएर पीसीआर मेसिन राखिएको ठाउँ पुगेर फेरि मास्टर मिक्स भएको कोठासम्म पुगें। जहाँ सेतो पीपीई लगाएका स्वास्थ्यकर्मी परीक्षणमै व्यस्त देखिए।

म किन भित्र आएको भन्ने कुरामा उनलाई वास्ता थिएन। केही स्न्याप्स फोटो लिएपछि म केहीबेर उभिएरै उनको काम हेरिरहें।

‘प्रयोगशालामा हाफ पीपीई लगाएर हो सर आउनुपर्ने त?’ उनको यो आवाज निस्कसाथ मनमा थप चिसो पस्यो। अघि भरङ्ग भएको थियो मन।

प्रयोगशालामा धेरै समय पीपीई बिनै पस्दा उनलाईमात्र हैन मलाई पनि समस्या हुन सक्छ भन्ने बुझेर म कोठाबाट बाहिरीएँ र उनले भनेअनुसारको पीपीई लगाएर पीसीआर मेसिन भएकै कोठामा आइपुगें। जहाँ मैले शुरुमा कर गर्दा प्रगोगशालाको विषयमा जानकारी गराउने ल्याब टेक्निसियन कृष्ण गौतम थिए।

पीपीई लगाएर भित्र पसे फेरि भित्रै पसे पनि मनमा चाँडै प्रयोगशालाबाट बाहिरिनुपर्छ भन्ने हुटहुटी चलिसकेको थियो। र, धेरै समय अडिन सकिनँ।

प्रगोगशालामा स्वास्थ्यकर्मीको व्यस्तताले पनि विस्तृत कुराकानी हुने अवस्था देखिएन। बाहिर थप कुरा गरें।

सुदूपश्चिममा दैनिक २ सय ५० जना भन्दा बढीको पीसीआर जाँच हुने गौतमले बताए। तर पछिल्लो २४ घण्टामा त यो प्रयोगशालामा २ हजार ४ सय ५ जनाको स्वाब परीक्षण भएको छ।

परीक्षणमा दिनरात खट्छन् नौ जना

धनगढीस्थित प्रयोगशालामा ९ जना कार्यरत रहेछन्। जसको फ्रन्टलाइनमा छन् कैलालीकै ३७ वर्षीय युवा रमेश शाही। प्रयोगशालामा कोभिड-१९ नमुना परीक्षण गर्ने ९ जनाको टिम।

प्रयोगशालामा ३ जना सेती प्रादेशिक अस्पताल र ४ अन्य स्वास्थ्य संस्थामा कार्यरत जनशक्ति हुन् भने १ जना सेभ द चिल्ड्रेन संस्थाको सहयोगमा काम गरिरहेका।

परीक्षणको भ्याइनभ्याइ दैनिक उस्तै।

‘बिहान ८ बजेबाट राति ११ बजेसम्म दैनिक काम हुन्छ,’ शाही भन्छन्, ‘यहाँ जनशक्तिभन्दा बढी आवश्यकता मेसिनको छ। हाम्रो टिम राम्रो छ। रात दिन नभनी काममा छौं। एक दिन त मैले राति तीन बजेसम्म काम गरेको छुँ। परीक्षण सुरु भएदेखि अहिलेसम्म एक दिन पनि विदामा बसेका छैनौं।’

‘एक लटमा झण्डै ४० देखि ५० वटा नमुना परीक्षण हुन्छन् र त्यसमा बढीमा ७ घण्टा समय लाग्छ,’ उनले भने।

भारत देहरादुनको कम्बाइन इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट ब्याचलर्स इन मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी (बीएमएलटी) अध्ययन सकेर नेपाल नेपाल फर्किएका उनी २०६५ सालदेखि सेती प्रादेशिक अस्पतालमा यस्तै काममा व्यवस्त छन्।

तर सुदूरपश्चिममा समेत कोरोना संक्रमण देखिन थालेपछि अहिले उनको दैनिकी फेरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell