PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

आइसोलेसनको नौलो अनुभव लिएर संक्रमणमुक्त भई घर फर्किए दाजुभाइ, ‘म ढुक्क छु कोरोना लाग्दैमा मरिँदैन’



पी बी खड्का

आइसोलेसनको नौलो अनुभव लिएर संक्रमणमुक्त भई घर फर्किए दाजुभाइ, ‘म ढुक्क छु कोरोना लाग्दैमा मरिँदैन’

सुर्खेत : ‘सात दिनसम्म कोरोना संक्रमित भाइसँगै थिएँ तर मलाई केही पनि भएन। हल्का घरतिर बालबच्चाको याद आउँथ्यो,’ कोरोना मुक्त भएर घर फर्किँदै गरेका युवाले अनुभव सुनाए।

सुर्खेत वीरेन्द्रनगर नजिकै घर भएका उनी प्रदेश अस्पतालको कोरोना उपचार केन्द्रको आइसोलेसनमा १२ दिन बसे। अहिले कोरोना जितेर घर गएका छन्। उनीसँगै रहेका दुई भाइनै कोरोनामुक्त भएर घर फर्किएका छन्। सजिलै कोरोना जितेका युवा आइसोलेसनको वार्डमा बसिरहँदा घरको यादले सताउने बताए।

आरटी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट बिदा गर्दै गर्दा उनले सचेत र सजग भए केही नहुने बताए। सामान्य रुघाखोकी सबैलाई लाग्ने भन्दै कोरोना लागे मान्छे मरिहाल्ने अवस्था नहुने उनको अनुभव छ।

‘संसारमा ५० प्रतिशत मान्छेमा सामान्य रुघाखोकी त भैहाल्छ’, कोरोना मुक्त भएका युवा भन्छन्, ‘कोरोना भाइरस सरुवा रोग भएपनि सरेर मान्छे मरिहाल्ने भन्ने हुँदैन। म ढुक्क छु कोरोना लाग्दैमा मरिदैँन।’

आफू १२ दिन आइसोलेसनमा बसेरपनि केही नभएको उनको भनाइ छ। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले समेत आफ्नै दाइभाइ जस्तो व्यवहार गरेको उनी बताउँछन्।

‘आफ्नै दाइहरु जस्तो बोल्ने, व्यवहार गर्ने राम्रो थियो,’ उनले भने।

उच्च मनोवलका साथ सतर्कता अपनाए र खानपिनमा ध्यान दिए सजिलै पार लगाउन सकिने बताउँछन्, उनी।

‘खानाको कुनै कमी भएन, टाइम टाइममा खाजा, खाना आइरहन्थ्यो,’ उनी भन्छन्, ‘एउटा कार्टनु पानी त दुई भाइले एकै दिनमा सक्थ्यौँ।’

केही दिनपहिले भारतबाट आएका उनीहरुको १४ अघि स्वाब संकलन गरी आरटी पीसीआर परीक्षणमा पोजेटिभ आएपछि प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।

हँसिलो मुहारसँगै घर फर्किएका युवालाई थप १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी बिदा गरेको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा केएन पौडेलले बताए।

घरमै बसेर पनि कोरोना संक्रमण हुन बाट बच्न सकिने डा पौडेलको भनाइ छ। घरमा बस्दामा पनि सामाजिक दुरी कायम गर्ने, एउटा कोठामा एक्लै बस्नुपर्ने, आफन्तसँग भेटघाट गर्नुपर्ने मास्क लगाएर प्रोटिनयुक्त खानामा जोड दिनुपर्ने उनले बताए।

उनले भने, ‘घरमै सुरक्षित बसेर पनि संक्रमणबाट बच्न सकिन्छ। घरमा बस्दामा दुरी कायम, एउटा कोठामा एक्लै बस्नुपर्ने, आफन्तसँग भेटघाट गर्नुपर्ने मास्क लगाएर प्रोटिनयुक्त खाना र पानीमा बढी जोड दिनुपर्छ।’

कर्णाली प्रदेशमा पहिलो पटक शुक्रवार सात जना कोरोनामुक्त भएर घर फर्किएका हुन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतको कारोना विशेष अस्पतालको उपचार केन्द्रमा रहेका सात जनाको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार डिस्चार्ज भएका हुुन्।

डिस्चार्ज हुनेहरुमा सुर्खेतका पाँच जना, दैलेखका एक जना र बोल्न नसक्ने ठेगाना नखुलेको एक जना महिला गरी सात जना कोरोना मुक्त भएर फर्किएको अस्पतालले जनाएको छ।

सरसफाइ र स्वास्थ्य सतर्कता अपनाए सरुवा रोग भएपनि उच्च मनोवलका साथ जित्न सकिने कोरोनामुक्त युवाको अनुभव छ।

डिस्चार्ज हुने सबैलाई सामाजिक विकास मन्त्री दल रावलले बधाइ दिएका छन्। कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका युवाहरुले दिएको अभिव्यक्ति हामी सबैका लागि प्रेरणादायी हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell