
सुर्खेत : डोल्पामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनले जानकारी दिए।
१२ जना साथीसँगै जेठ १८ गते गाडीमा सुर्खेतबाट डोल्पा पुगेका उनी होम क्वारेन्टाइनमा रहेका थिए। जेठ २२ गतेमात्रै उनको स्वाब संकलन गरेर परीक्षणका लागि जुम्ला पठाइएको थियो। उनको मृत्यु जेठ २० गते नै भएको हो।
यसअघि कोरोनाबाट मृत्यु हुनेको संख्या ११ थियो। यो पुष्टिसँगै नेपालमा कोरोनाका कारण मर्नेको संख्या १२ पुगेको छ।
यसअघि दुई वटा केसबाहेक सबै मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। समयमा परीक्षण नहुँदा क्वारेन्टाइनमा मृत्यु हुनेको संख्या पनि हरेक दिन बढिरहेको छ।