PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

अर्थ राज्यमन्त्रीको स्वकीय सचिव बस्ने घर सिल : सङ्क्रमित ले ६ घण्टा फोन अफ गरेपछि प्रहरी तनावमा



राधेश्याम पटेल

अर्थ राज्यमन्त्रीको स्वकीय सचिव बस्ने घर सिल : सङ्क्रमित ले ६ घण्टा फोन अफ गरेपछि प्रहरी तनावमा

वीरगंज : प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवकी स्वकीय सचिव कोरोना सङ्क्रमित भएको जानकारी पाएपछि प्रहरी केही समय तनावमा रह्यो। तनाव उनमा संक्रमण देखिनुमा भन्दा पनि कहाँ छिन् भन्नेमा थियो।

उनी सम्पर्कमा नै आइनन्। उनको ६ घण्टासम्म मोबाइल प्रयास गर्दा एउटै आवज आइरहेको थियो- तपाईँले सम्पर्क गर्न खोजिएको मोबाइलको स्वीच अफ गरिएको छ।

अब के गर्ने?

अरु विकल्प नभएपछि अर्थ राज्यमन्त्री उषा यादवलाई प्रदेश २ प्रहरी कार्यालयले फोन गरी उनी बस्ने डेरा ठाउँ पत्ता लगाउन अनुरोध गर्‍यो। ६ घण्टापछि पत्ता लाग्यो उनको डेरा। रौतहटको राजदेवी नगरपालिका वडा नम्बर १ स्थायी घर भएकी उनी वीरगन्ज ९ गोश्वारा रोडस्थित ५ तल्ले गुप्ता परिवारको घरमा डेरा गरी बस्दै आएकी रहिछिन्।

त्यसपछि, प्रहरी र स्वास्थ्यकर्मीको टोली उनी बस्ने घरमा पुगेको प्रदेश २ का डीआइजी धीरप्रताप सिंहले जानकारी गराए।

‘जेठ २२ गते दिउँसो ३ बजे रिपोर्ट आउँदा अर्थ राज्यमन्त्री ज्यू पीएमा सङ्क्रमण पुष्टि भएको थाहा पाएपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो,’ डिआइजी सिंहले भने, ‘तर उनको फोन अफ आयो, पछि मन्त्रीज्यूकै सहयोगमा पर्सा प्रहरीले उनको डेरा पत्ता लगाएको थियो।’

पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले घण्टौँ सम्पर्कविहीन बनेपछि प्रहरीले उनी बस्ने गुप्ता परिवारको ५ तल्ले भवन पत्ता लगाएको बताइन्।

‘सुरुमा तनाव भएको थियो, पछि घरको लोकेसन पत्ता लगाएर पूरै घर सिल गर्‍यौँ र स्वकीय सचिवलाई गण्डक अस्पतालको आइसोलेसन वार्डमा पठाइयो,’ उनले भनिन्, ‘त्यसपछि कनट्याक्ट ट्रेसिङ्को काम सुरु भयो।’

स्वकीय सचिवका ३४ वर्षीय श्रीमान् र १४ वर्षीय छोरासँगै तेस्रो तल्लामा बस्थिन्। उनीको घरबेटीका २४ र २० वर्षका दुई छोरा तथा घरमा बस्ने अन्य १३ जना उनको सम्पर्कमा आएकोले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरी सेल्फ क्वारेनटाइनमै राखिएको छ।

घरमा बस्ने अन्य लकडाउनको समयमा घरभित्र नै भएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। उनीहरूको १० दिनपछि स्वाब सङ्कलन गरी परीक्षण गरिने योजना रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

उनी जेठ १७ गते स्वाब सङ्कलन गराएर श्रीमानसँग मोटरसाइकलमा वीरगन्ज आएको खुलेको छ। १८ र १९ गते उनी पैदल नै बजार घुमेकी थिइन्। उनी डेराबाट पैदल आदर्श नगरबाट कपडा किन्न गएको र आदर्श नगरको राष्ट्रिय वाणिज्य बैङ्कको एटीएममा पैसा झिक्न पनि गएको एक स्वास्थ्यकर्मीले बताए। तर, उनले भने वाणिज्य बैङ्कको एटिएम काउन्टर बन्द हुँदा आफू घर फर्केको बताएकी छिन्।

त्यसैगरी, सङ्क्रमित स्वकीय सचिव केही दिन अर्थ राज्यमन्त्री उषा यादवसँगै जनकपुरमा पनि थिइन्। उनले बजेटबारे जनकपुरमा बसेर काम पनि गरेको र मन्त्रालयमा पनि गएको बुझिएको छ।

‘धेरै तनावमा छु। रिपोर्ट नआउन्जेलसम्म मेरा पिए, चालकहरू मन्त्रालय पनि गएको थियौँ। मन्त्रालयका सचिवलाई पनि टाढैबाट भेटेका थियौँ,’ अर्थ राज्य मन्त्री उषा यादवले भनिन्, ‘म लगायत अन्य उनको सम्पर्कमा आएका सबै सेल्फ क्वारेनटाइनमा बसेका छौं।’

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, अर्थ राज्य मन्त्री र उनका स्वकीय सचिवको सम्पर्कमा नआएको प्रदेश सभा सचिवालय स्रोतको दाबी छ।

‘प्रदेश सभा सचिवालयका एक स्वकीय सचिव र ५ जना मर्यादा पालक (सुरक्षा कर्मी) गरी ६ जना सङ्क्रमित भेटिएपछि सचिवालयमा हडकम्प मच्चेको छ। तर उनीहरूको जनकपुरमा मात्रै ६४ जना सम्पर्कमा आएका छन्। सबैको पुनः शुक्रवार स्वाब सङ्कलन गरी परीक्षण हुँदैछ,' सचिवालयका एक अधिकारीले भने, ‘वीरगंजमा १३ जना र जनकपुरमा ६४ जना सम्पर्कमा आएका छन्, सबैलाई सेल्फ क्वारेनटाइनमा बस्न निर्देशन छ।’

जनकपुरमा उनी ६ जनाको सम्पर्कमा आएका मध्ये केही मन्त्रालयका कर्मचारी, सवारी चालक, पीएसओ तथा जिल्ला प्रहरी कार्यालय धनुषाका सुरक्षाकर्मी पनि रहेको बताइएको छ।

६ जना सङ्क्रमित भेटिएपछि प्रदेश सभामा अर्कै प्रोटोकल

जेठ २२ गते बिहीवार दिउँसो ३ बजे प्रदेशसभा सचिवालयका ५ मर्यादा पालक र १ स्वकीय सचिवमा कोरोना भेटिएपछि सोही दिन बस्ने प्रदेश सभाको बैठक शुक्रवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो।

शुक्रवार आव २०७७/०७८ को लागि विनियोजन विधेयकबारे छलफल प्रारम्भ भएको थियो। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने, ‘प्रदेश सभामा त्रास पैदा भएको छ तर पनि जेठ २५ गते आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। असार १ बजे बजेट भाषण हुनेछ।'

सीमित प्रदेश सांसदकै सहभागितामा नीति तथा कार्यक्रम प्रस्तुत हुने र छलफल अगाडि बढाइने उनले बताए। १०७ प्रदेश सांसदमध्ये प्रदेश सभामा सहभागी हुन नसक्ने सदस्यहरूको लागि घरबाटै भिडियो कन्फ्रेन्स मार्फत् जोड्ने तयारी पनि भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell