प्रदेश २, कोरोना संक्रमण सबैभन्दा धेरै पुष्टि भएको प्रदेश। कोरोना संक्रमण फैलिँदो छ। कोरोना संक्रमितहरुको उपचारकै लागि भनेर छुट्याएका अस्पताल भरिन थालिसके। जति संक्रमित बढ्दै छन्, स्वास्थ्यकर्मीको व्यस्तता उस्तो बढ्दो।
यीमध्येकी एक हुन्, पर्साको कोरोना विशेष नारायणी अस्पतालकी स्टाफ नर्स हेमा थापा। २०५२ सालदेखि नारायणी अस्पतालमा कार्यरत ४८ वर्षीया उनी तीन महिना यता आइसोलेसन वार्डमा खटिरहेकी छिन्।
आइसोलेसन वार्डमा खटिएका सबै स्वास्थ्यकर्मीको समय समयमा स्वाब परीक्षण गर्नुपर्ने हुन्छ। ‘कोरोना संक्रमितको उपचारमा खटिएकाले हामीले १४ दिन क्वारेन्टाइनमा पनि बस्नुपर्छ,’ हेमाले भनिन् ‘त्यसबेला स्वाब परिक्षण गरी अस्पताल नजिकै होटलमा क्वारेन्टाइनमा बस्छौं।’
दोस्रो पटक स्वाब परीक्षणपछि हेमाको रिपोर्ट नेगेटिभ आयो। दुइसाताको होम क्वारेन्टाइन्मा छिन् उनी।
यस्तो छ उनको अनुभव
यसअघि देखिएका भाइरल तथा सरुवा रोगको उपचारका बारेमा सरकारीस्तरबाटै स्वास्थ्यकर्मीहरुले तालिम प्राप्त गर्थे। तर कोरोना भाइरसका संक्रमितहरुको व्यवस्थापन र उपचारबारे सरकारले कुनै ठोस कदम चालेन।
कोरोना भाइरस (कोभिड-१९) सबैका लागि नौलो थियो। आफू सुरक्षित भएर उपचारमा कसरी खटिने भन्नेमा नै चिकित्सकहरु अन्यौलमा रहे।
‘यस भाइरससँग कसरी सुरक्षित भइ जुध्ने भन्नेबारे कुनै तालिम दिइएन हामीलाई’ हेमाले सुनाइन्, ‘सुरुवातका दिनमा यस महामारीसँग नडराएको हैन,'तर आर्मीको जागिर खाएपछि युद्धमा जान डर लाग्छ भनेर भाग्न नमिल्ने जस्तै हामी पनि एक प्रकारको युद्धमै लडिरहेका छौं।’
हेमाका अनुसार पहिलो पटक आइसोलेसनमा खटिएका सबैको कोरोना परीक्षण हुने भयो। त्यसका लागि स्वाव संकलन गरियो। त्यसबेला संकलित स्वाबको परीक्षण काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुन्थ्यो। त्यहाँ पनि प्राथमिकताका आधारमा गरिने हुँदा रिपोर्ट आउन केही दिन लाग्छ।
स्वाब पठाइएको तीन दिनपछि साथीहरुको रिपोर्ट आयो। नेगेटिभ। हेमा र अन्य तीन जनाको रिपोर्ट भने आएन। रिपोर्टसँगै नआउनु भनेको पक्कै कोरोना पोजेटिभ पो आयो कि भन्ने अनुमान गर्न थाले उनीहरुले।
‘सबैको एकैपटक परीक्षणका लागि पठाएको स्वाब। तर, मेरोसँगै एकजना अहेब भाइ, अस्पतालमा सफाइको काम गर्ने र कार्यालय सहयोगी गरी हामी चारजनाको रिपोर्ट आएन,’ उनले भनिन्।
नेगेटिभ रिपोर्ट आएकाहरु क्वारेन्टाइनबाट निस्किएपछि पो कोरोनाको लक्षण देखिन थालेजस्तो भएको हेमाले सुनाइन्।
‘घरी खोकी लागेजस्तो हुने त, घरी ज्वरो आएजस्तो’ रिपोर्ट पक्कै पोजेटिभ आउँछ भन्ने लागेर छटपटी भएको थियो‘ उनले भनिन् ‘तर, दुइपटक नै रिपोर्ट नेगेटिभ आयो।’
आफू सँधै सुरक्षित नै भएर काम गर्ने कोसिस गरेको र यदि पोजेटिभ नै आए पनि उच्च मनोबलका साथ काम गर्नुको विकल्प नभएको उनको तर्क छ।
पछिल्लो समय संक्रमित बढ्दा परिवार पनि त्रसित भएको बताउँछिन् हेमा। ‘जागिर नै छोड। यसरी जोखिम मोलेर काम नगर भनेर परिवारले बारम्बार सम्झाइरहेको छ,‘ हेमाले सुनाइन्।
अस्पतालको क्वारेन्टाइनमा बस्दा होस् या घर जाँदा हेमालाई उनको छोराले रोक्न धेरै प्रयास गरे।
'ममी नजाँदा हुँदैन मलाई डर लाग्यो,' भनेर छोराले पटकपटक आग्रह नगरेको होइन। श्रीमानले भने कामै नगर भन्न सकेनन्।
परिवारमा डर हुनु स्वभाविक नै हो। तर पनि उनको हौसला बढाउन परिवारले छोडेको छैन। हेमाको आत्मविश्वास बढाउन उनको आमाबुबा र परिवारका अन्य सदस्यले प्रयास गरिरहेका छन्।
फ्रन्टलाइनमा खटिएकाहरुलाई आफन्तले टाढै बसोस भनेजस्तो गर्ने गरेको अनुभव सुनाइन् उनले। अझ शंकास्पद र संक्रमितलाई हेर्ने दृष्टिकोण नै हेयको भएको उनले बताइन्।
बीरगंज नगरपालिका वडा नम्बर ४ विर्ताकी हेमालाई गाउँलेले भने हौसला दिने गरेका छन्।
आइसोलेसन वार्डको कथा
दुई हप्ता सेल्फ क्वारेन्टाइमा रहँदा हेमा अस्पतालमा दिनरात खटिँदा संक्रमितहरुसँगको कुराकानी सम्झिरहिन्।
‘कोरोना संक्रमण देखिएपछि आइसोलेसन वार्डमा बसेका संक्रमितहरु दोस्रो नेगेटिभ रिपोर्ट आइदिए हुन्थ्यो भनी पर्खाइमा हुन्थे’ हेमा भन्छिन् ‘जब उनीहरुको रिपोर्ट आउँथ्यो हामी बाहिरबाट सीसी क्यामराबाट हेर्ने र नाम बोलाउँदै हात उठाउन लगाउने गर्थ्यौं।‘
संक्रमितहरुलाई रिपोर्ट नेगेटिभ आएको छ भनेर सुनाउन पाउँदा निकै खुसी लाग्थ्यो उनलाई। ‘जसले भोगेको छ उसले मात्रै बुझ्न सक्छ’ उनले भनिन् ‘त्यसरी रिपोर्ट सुनाइरहँदा फेरि अर्को पनि नेगेटिभ रिपोर्टको ब्यग्र प्रतिक्षामा हुन्छन् उनीहरु।’
आइसोलेसन वार्डमा खटिँदा ‘तपाइले मास्क लगाउनु भएन, अरुको बेडको छेउमा नजानुस्, सरसफाइमा ध्यान दिनुस्', भनेर सीसी क्यामेराबाट निगरानी गर्दै संक्रमितहरुसँग फोनमा कुरा गर्ने उनले बताइन्।
+++
कोरोनासँग जुध्न नयाँ अनुभव भएकाले कति कुराहरुका लागि उनले आफ्ना विदेशमा रहेका साथीहरुको अनुभव पनि सुनिन्। कति कुरा इन्टरनेटमा हेरेर सेवामा खटिइन्।
पहिलोपटक आइसोलेसन खटाइमा रातभर निदाउन नसकेको उनको अनुभव छ।
‘मैले नै हिम्मतका साथ गर्छु भनेर अघि बढेको थिएँ। तर आएको संक्रमितमा कुनै लक्षण नदेख्दा झन् बढी चिन्ता हुने गर्थ्यो,’ उनले भनिन् ‘तर अन्य देशको तुलनामा नेपालमा देखिएका संक्रमितको अवस्था समान्य भएकाले बिस्तारै डर कम भयो।’
पछिल्लो समयमा भारतबाट आउनेको संख्या बढेसँगै ‘दिनमा दुईगुना रातमा चारगुना’ भनेजस्तै संक्रमितहरु फेला पर्न थालेका छन्।
सरकारले परीक्षणको दायरा बढाएसँगै व्यवस्थापनमा भने अति नै कमजोर देखिन्छ। परिवारबाटै टाढा भएकाहरुलाई अव्यवस्थित क्वारेन्टाइन र आइसोलेसन वार्डमा राखेर उपचार गरिनुपर्न बाध्यात्मक परिस्थिति छ।
यस्तो अवस्थामा परीक्षणको पर्खाइमा बसेका र संक्रमित भइ उपचाररतसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श आवश्यक रहेको उनले बताइन्।
हेमाका अनुसार फ्रन्टलाइनमा खटिएकाहरुलाई आफ्नो जिम्मेवारी पुरा त गर्नु नै छ, त्यसमाथि संक्रमित हुने डर उस्तै।
तर,सरकारबाट भने कुनै किसिमको सुरक्षा महसुस नगराएको उनको गुनासो छ।
'स्वास्थ्यकर्मीले अस्पतालमा भएका संक्रमितहरुको कुरा सुन्दिनुपर्छ। किनकी अधिकांश संक्रमितमा लक्षण देखिएको छैन। किन यहाँ राखियो भन्ने आफैंमा बारम्बार प्रश्न गरिरहेका हुन्छन्,' उनी सुनाउँछिन्, ‘हामीले उनीहरुलाई परैबाट निगरानी गर्ने हो।’