काठमाडौः लकडाउनको समयमा पनि लागु औषधिको तस्करी गर्नेहरू सक्रिय रहेका छन्।
दाङ प्रहरीले शनिवार दुई युवकलाई लागु औषधि ब्राउन सुगर सहित पक्राउ गरेको छ। बाँके कोहलपुर नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय श्रीबहादुर रावत र बैजनाथ गाउँपालिका चिसापानी बस्ने २४ वर्षीय सुजन शाहीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट प्रहरीले १४ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो।
शनिवार भे २ प २७४ नम्बरको मोटरसाइकलमा अमिलिया देखी तुलसीपुर आउँदै गरेको अवस्थामा तुलसीपुर उप-महानगरपालिका वडा नम्बर १३ दमारगाउ स्थित अस्थायी प्रहरी चेकपोस्टमा चेक गर्दा लागु औषधि फेला परेको थियो। रावतले चलाएको मोटरसाइकलको पछाडिको सिट मुनी कालो रङ्गको प्लास्टिकमा कालो टेप लगाई वायरिङ तारमा टासी ब्राउन सुगर ल्याएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै शाहीको शरीर खान तलासी गर्दा उनले लगाएको अन्डर वेयरको अगाडी तर्फको दाहिने जाँघमा कालो प्लास्टिकमा पोको पारी ब्राउन सुगर फेला पारेको हो।