कैलाली : सुदूरपश्चिममा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका दुई युवकको मृत्यु भएको छ।
डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ३ बासुदेवीमा ७ दिन अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक १९ वर्षीय किशोरको मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले उनको आज बिहान सीताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा उनको मृत्यु भएको बताए। युवक ७ दिन पहिले भारतको लुधियानाबाट फर्किएका थिए।
उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर आजै धनगढी पठाउने तयारी भएको उनको भनाइ छ।
यता, बैतडीको क्वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ। शनिवार नै भारतबाट बैतडी पुगेर पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेको पाटन ६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको ज्यान गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।
महराले उनी शनिवार बिहानमात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका र साँझ ६ बजेतिर बेहोस भएपछि उपचारकै क्रममा राति मृत्यु भएको बताए। उनको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइसकेको उनले जानकारी दिए।