PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

आरडीटी परीक्षण बन्द गर्न माग गर्दै सांसदहरुले सोधे : क्वारेन्टाइन मृत्यु घर किन भयो?



पहिलोपोस्ट

आरडीटी परीक्षण बन्द गर्न माग गर्दै सांसदहरुले सोधे : क्वारेन्टाइन मृत्यु घर किन भयो?

कैलाली : सुदूर पश्चिम प्रदेश सभाका सदस्यहरूले आरडीटीको परीक्षण रोक्न माग गरेका छन्। आरडीटीको विश्वसनीयता विश्वमा कहीँ नभएको भन्दै आइतवार भएको प्रदेश सभाको बैठकमा सुदूर पश्चिममा पनि त्यसको प्रयोग रोक्न प्रदेश सभा सदस्यहरूले माग गरेका हुन्।

प्रदेश सभाको आइतवारको बैठकमा ढ्याप–ढ्यापे समय लिएर बोल्दै नेकपाका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरतबहादुर खड्काले यस्तो माग गरेका हुन्। उनीहरूले आरडीटीबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकाहरूमा फेरि जाँच्दा कोरोना सङ्क्रमण रहेको पुष्टि भएकाले यस्तो परीक्षण बन्द गर्न माग गरेका हुन्।

शुक्रवारमात्रै धनगढीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी ४ की एक महिलामा मृत्यु अघि गरिएको आरडीटी नेगेटिभ र दाहसंस्कार पछि पीसीआर जाँचका क्रममा शनिवार कोभिड १९ पुष्टि भएको थियो।

प्रदेश सभा सदस्य दीर्घ सोडारीले आरडीटीको भरमा घर पठाइएकाबाट समाजमा भयावह रूपमा सङ्क्रमण फैलिनसक्ने अवस्था रहेकाले आरटी पीसीआर परीक्षण गर्नुपर्ने र यसका लागि प्रयोगशालाको क्षमता बढाइनुपर्ने माग गरे। उनले कैलालीमा पहिलो पटक कोरोना सङ्क्रमित पत्ता लागेको झन्डै तीन महिना पूरा हुन लागेको र यस बीचमा गरिनुपर्ने पर्याप्त तयारी गर्न नसकेकोमा प्रदेश सरकारको आलोचना गरे।

प्रदेश सभा सदस्य पूर्णा जोशीले भनिन्, ‘स्थानीय तहको प्रयासका बाबजुद पनि क्वारेन्टाइन व्यवस्थापन हुन सकेका छैनन्। अब क्वारेन्टाइन व्यवस्थापन गर्न सकिँदैन भने घरमै बस्ने गरी उचित व्यवस्था गर्न आवश्यक छ। अब यो भयावह अवस्थालाई रोक्न तत्काल आरडीटी रोक्न र पीसीआरको दायरा बढाउन अति आवश्यक छ।’ उनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी निकै अभाव भइरहेकाले समेत क्वारेन्टाइनहरु व्यवस्थापन हुन नसकेको बताइन्। 'त्यसकारण तत्कालपीसीआर परीक्षणको व्यवस्था प्रत्येक जिल्लामा हुन अति जरुरी छ। साथै क्वारेन्टाइनलाई व्यवस्थापन गर्न नसकिने हो भने ती सामुदायिक भवन र विद्यालयका असुरक्षित कोठाभन्दा घरहरू बरु सुरक्षित होलान्।’

उनले भारतबाट आएर डोटीको क्वारेन्टाइनमा मृत्यु भएका युवा हिजो दिउँसोसम्म स्वस्थ रहे पनि एक्कासी मृत्यु भएको दुःखद् खबर आएको भन्दै क्वारेन्टाइनको व्यवस्थापन अस्तव्यस्त बनिरहँदा प्रदेशका नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको बताइन्। उनले भनिन्, ‘घटनाबारे बुझ्दा हिजो दिउँसोसम्म स्वस्थ अवस्थामा देखिन्थे। तर पछि उनको एक्कासी दुःखद् निधन भएको छ। अहिले त्यहाँको अवस्था निकै कठिन बनेको छ। उनका आमाबुबाले मृतकलाई अँगालो हालेको खबर मैले सुन्नमा आएको छ। त्यसकारण सरकारले यसको व्यवस्थापनमा ध्यान दिन जरुरी छ।’

क्वारेन्टाइनहरु व्यवस्थित नभएको र मृत्युघरमा परिणत भइरहेको भन्दै उनले प्रयोगशालाहरू बढाउने र भएका प्रयोगशालाको क्षमता बढाउनेतर्फ प्रदेश सरकार लाग्नुपर्ने बताइन्।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले युरोपेली देशहरूले आरडीटी किटको विश्वसनीयता माथि प्रश्न उठाई प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुखद् भएको बताए। उनले यस्तो परीक्षणले सङ्क्रमणको दर भयावह हुन सक्ने भन्दै बन्दगर्न माग गरे।

सुदूर पश्चिम प्रदेशमा एक सातायता क्वारेन्टाइनमै ७ जनाको मृत्यु भएको छ भने एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भएको छ। अहिले प्रदेशमा कोरोना परीक्षणका लागि सङ्कलन गरिएको स्वाब राख्ने फ्रिज नभएको भन्दै स्वाब संकलन नै बन्द भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell