काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अहिलेको व्यवस्था विरोधी भएको बताएका छन्।
उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो भन्दै प्रश्न समेत गरेका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले उक्त कार्यक्रममा यस वर्ष बजेट बढाएकोमा आपत्ति जनाए।
'शिक्षा मन्त्रीजी राष्ट्रपतिलाई श्री ६ बनाउने रहर चाहिँ किन पालायो? राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस मारेको जस्तो भयो,’ उनले भने, 'राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दै गर्दा पैसा दिन पाउने कार्यक्रम संघीयता विरोधी, संविधान विरोधी र व्यवस्था विरोधी छ। गएको वर्ष ५ अर्ब छुट्याएकोमा बजेट बढाएर ६ अर्ब बनाउने?'
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेपछि चर्को आलोचना भएको थियो। मेरो सरकार शब्दले राष्ट्रपतिलाई गणतन्त्रका राजा बन्न खोजेको भनेर प्रश्न उठेको थियो।
संसदमा नेता थापाले बजेट हेर्दा शिक्षा मन्त्रालयलाई ९० लाख विद्यार्थी विद्यालय गइरहेका छन् भन्ने थाहा नभएको भन्दै कटाक्ष गरे।
उनले शिक्षामा छुट्याइएको बजेटले थप निराश बनाएको बताए। सांसद थापाले शिक्षा मन्त्रालयले प्रस्तुत गरेको बजेटमाथि टिप्पणीको हैसियत नभएको समेत बताए।