PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

यी ७ जिल्ला भने अझै छन् कोरोनाबाट चोखै, देशमा चाहिँ दिनदिनै बढ्दै संक्रमित



प्रकाश भण्डारी

यी ७ जिल्ला भने अझै छन् कोरोनाबाट चोखै, देशमा चाहिँ दिनदिनै बढ्दै संक्रमित

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार नाघिसकेको छ। वैशाखयता संक्रमितको संख्या लगातार बढ्दो छ। नेपालभर संक्रमण फैलिदा अधिकांश जिल्लामा मानिसहरु संक्रमित छन्। मुलुकका ७७ मध्ये ७ जिल्लामा हालसम्म संक्रमण देखिएको छैन। सबैभन्दा पछि संक्रमण देखिन थालेको कर्णाली प्रदेशका जिल्लामा अरु ठाँउभन्दा तीब्र गतिमा संक्रमित भेटिए। सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा छन् भने त्यसपछि प्रदेश ५ मा। यी दुवै प्रदेशमा संक्रमितको संख्या हजारभन्दा माथि नाघेको छ।

पूर्वका यी दुई जिल्ला जहाँ भेटिएको छैन संक्रमण

प्रदेश १ का १४ जिल्लामध्ये २ जिल्ला ओखलढुंगा र इलाममा अहिलेसम्म संक्रमण देखिएको छैन। पूर्वका १२ जिल्लामा २ सय ४९ जना संक्रमित भेटिँदा यि दुई जिल्ला भने 'ग्रिन जोन'मै छन्।

छिमेकी सबै जिल्लामा संक्रमित भए पनि ओखलढुंगामा हालसम्म संक्रमित भेटिएको छैन। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भारतबाट आउनेको संख्या अरु ठाँउको भन्दा कम र आएकाको कडा निगरानी गर्दा संक्रमण नभित्रिएको बताए।

'बाहिरबाट आउनेको संख्या नै न्यून छ। अहिले क्वारेन्टाइन पनि कतिपय ठाँउमा खाली छन्। तर, हामीले अब विदेशबाट मानिसहरु आउनसक्ने भन्दै क्वारेन्टाइनको क्षमता विस्तारतर्फ लागेका छौं,' उनले भने। नाका क्षेत्रमा गरिएको कडाई, बाहिर जिल्लाबाट आउनेको निगरानी र परीक्षण तथा बाहिर जाँदा अनिवार्य जानकारी लिने लगायतका कारणले पनि हालसम्म संक्रमित नदेखिएको हुनसक्ने तर्क छ, सिडिओ आचार्यको।

पूर्वमा संक्रमण नदेखिएको अर्को जिल्ला हो इलाम। ९ सय ३९ जनाको आरडीटी परीक्षण र १ सय ४४ को पीसीआर परीक्षण गरिएको छ, इलाममा। परीक्षण गरिएका सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखियो। ८४ जनाको भने पीसीआरको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। भारतसँग सीमाना जोडिएको जिल्ला हो इलाम। अहिलेसम्म यस जिल्लामा संक्रमित भने भेटिएको छैन। प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले इलाम भारतको दार्जिलिङसँग जोडिएको र त्यहाँ पनि संक्रमण कम भएकाले जिल्लामा आउनेहरुमा संक्रमण नभएको बताए। भारतबाट आउनेलाई अनिवार्य क्वारेन्टाइन राखेर परीक्षणमा कडाई गर्दा हालसम्म संक्रमित नभित्रिएको उनको तर्क छ।

'हामीले भारतबाट ब्यवस्थित तरिकाले ल्याउँदा पहिलो कुरा संक्रमित भित्रिएनन्। अर्को कुरा इलामका नागरिकको सचेतना पनि राम्रो छ। आउने हरेकले क्वारेन्टाइन बस्नुपर्छ भन्ने धारणा भएकाले पनि संक्रमण नभित्रिएको हो,' उनले भने। भारतमा यहाँबाट काम गर्न जानेको संख्या पनि अरु जिल्लाको तुलनामा कम भएको सेडाईले बताए। अझै पनि इलाममा संक्रमण देखिने सम्भावना कम रहेको उनको तर्क छ। तर, उनले जिल्लाको भारतसँग जोडिएको दक्षिणी सिमानाबाट आउनेले जोखिम बढाइरहेको जानकारी दिए।

वाग्मतीमा सुरक्षित रसुवा

वाग्मती प्रदेशका १३ जिल्लामध्ये १२ वटामा संक्रमित देखिँदा संक्रमण नदेखिएको एक्लो जिल्ला हो रसुवा। चीनको तिब्बतसँग सीमा जोडिएको जिल्ला हो यो। वाग्मतीका १२ जिल्लामा ९० जना संक्रमित छन्। यहाँ ३ जनाको मृत्यु भएपछि उनीहरुमा संक्रमण रहेको पुष्टि भएको थियो। रसुवामा ४ सय ८७ जनाको आरडीटी गरिएकोमा ९ जनाको पोजेटिभ रिपोर्ट आएको थियो। तर, उनीहरुको पीसीआर गर्दा संक्रमण पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। २७ जनाको पीसीआरका लागि नमुना संकलन गरिएको थियो जिल्लामा। त्यसमध्ये २४ जनाको नेगेटीभ रिपोर्ट आएको छ, भने ३ जनाको रिपोर्ट आउन बाँकी छ। अहिलेसम्म १३ जनामात्रै भारतबाट आएको तथ्यांक छ, जिल्ला प्रशासन कार्यालयसँग। दुई सय जना भारतबाट आउने प्रारम्भीक अनुमान गरेको पनि पन्तले बताए। विदेशबाट दुई हजार रसुवामा भित्रिने सम्भावना रहेको उनले जानकारी दिए।

अरु जिल्लामा संक्रमण दिनदिनै बढिरहँदा रसुवामा भने एक जना पनि संक्रमित नदेखिनुको कारण नेपालमा लकडाउन सुरु हुनपूर्व नै जिल्लामा आवतजावतामा कडाई गर्नु भएको पन्तको भनाई छ। उनले चीनमा संक्रमण फैलिएपछि आफूले रसुवागढी नाका बन्द गराएको बताए।

केन्द्रीय तहबाट आएका निर्णको पालना र स्थानीय तहको संक्रियताका कारण पनि संक्रमण भित्रिनबाट रोक्न सफल भएको उनको तर्क छ।

'देशमा लकडाउन सुरु हुनुपूर्व नै हामीले सचेतना अपनाइसकेका थियौं। स्थानीय तहको पनि राम्रो संक्रियता रह्यो। यसका अलवा भारतबाट आउनेको संख्या पनि न्युन रहेकाले संक्रमण नभित्रिको हो,' उनले भने। अरु जिल्लाहरुमा क्वारेन्टाइनमा मानिसहरुलाई बेड संख्या अपुग हुँदा रसुवामा भने ३३ जनामात्रै अहिले क्वारेन्टाइनमा छन्। अधिकांश क्वारेन्टाइन खाली छन्। रसुवाबाट भारत भन्दा पनि काठमाडौं आउने चलन भएकाले संक्रमण कम देखिएको पन्तले बताए।

हिमाल पारीका दुई जिल्ला जोखिम कम

गण्डकी प्रदेशमा हालसम्म १ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। अरु प्रदेशको तुलनामा यस प्रदेशमा कम संक्रमित छन्। प्रदेशका ११ मध्ये हिमाल पारीका जिल्लाहरु मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना भेटिएको छैन। मुस्ताङमा अहिलेसम्म १० जनाको पीसिआर गरिएकोमा १० जनाकै नेगेटिभ रिपोर्ट आएको छ। ३ सय जनाको आरडीटी गरिएकोमा ७ जनाको पोजेटिभ आएको थियो तर उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आयो। मुस्ताङमा भारतबाट आउनेको संख्या करिब शून्य नै छ। अहिलेसम्म १ जना मात्रै भारतबाट आएको तथ्याङ्क छ, जिल्ला प्रशासनसँग।

म्याग्दीको घाँसा मुस्ताङ छिर्ने मुख्य नाका हो। त्यहाँ आरडीटी गरेपछि मात्रै मुस्ताङ प्रवेश गर्न पाइने ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए। अहिले मुस्ताङ जाने धेरैजसो सवारीका चालकमात्रै हुन्। भारतबाट आउने कोही नभएकाले र नाकामा कडाई गरिएकाले कोरोना संक्रमण भित्रिने सम्भावना न्युन रहेको अर्यालले बताए। बाहिरबाट आएकालाई गाउँलेले समाजमा घुलमिल हुन नदिने र उनीहरुलाई बस्ने क्याम्प भएकाले पनि संक्रमण भित्रिएर फैलिने सम्भावना कमा रहेको उनको तर्क छ।

हिमाल पारीकै अर्को जिल्ला मनाङमा पनि अहिलेसम्म भारतबाट १ जनामात्र आएका छन्। अहिलेसम्म बाहिरबाट आएका १३ जना क्वारेन्टाइनमा छन्। ७७ जनाको आरडीटी र ६ जनाको पीसीआर गरिएकोमा कसैलाई पनि कोरोना संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए। आवतजावत नै कमी भएकाले संक्रमण नदेखिएको उनको भनाई छ। लकडाउनको कडाइका साथ पालन गर्दा पनि संक्रमण नभित्रिएको तर्क छ, पौडेलको। अहिले विदेशबाट आउनेलाई पीसीआर गरेर मात्रै समाजमा घुलमिल गर्न दिएमा मनाङमा संक्रमण भित्रिने सम्भावना नरहने पौडेलको तर्क छ।

'अहिलेसम्म आवतजावत कम भएकाले पनि संक्रमित नदेखिएका हुन्। भारतबाट आउनेको संख्या छैन भन्दा पनि हुन्छ। तर, अब विदेशबाट आउनेले भने संक्रमण सार्नसक्ने भएकाले पीसीआर गरेर मात्रै समाजमा घुलमिल हुन दिनुपर्छ,' उनले भने।

रोल्पामा नो कोरोना

प्रदेश ५ का १२ जिल्लामध्ये रोल्पामात्रै कोरोना संक्रमणबाट अछुत छ अहिलेसम्म। ३ सय २३ जनाको पीसीआर परीक्षण गरिएकोमा २८ वटाको नेगेटीभ नतिजा आएको छ। बाँकी नतिजाको प्रतीक्षामा छन्। ६ सयको आरडीटी गरिएकोमा २१ जनामा एन्टीबडी देखिएको थियो। लकडाउन पछि सामाजिक दुरी पालना राम्रोसँग पालना हुँदा संक्रमण नफैलिएको प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले बताए।

लकडाउन लगतै जिल्लामा कमाण्ड फोर्स र सीसीएमसी गठन गरी काम थालिएको उनको भनाई छ। अहिले कोरोना नियन्त्रणका लागि जिल्लामा सिडिओको अध्यक्षमा नगर र गाउँपालिका तथा वडामा वडा अध्यक्षको अध्यक्षमा समिति बनाइएको छ। ती समितिले गरेको कामको प्रभावकारिताका कारण पनि संक्रमण नभित्रिएको हुनसक्ने भनाई छ, ढकालको। जेठको सुरुवातमा देशभर २४ हजार मानिस क्वारेन्टाइनमा बसेका बेला ८ हजार ५ सयमात्रै रोल्पामा क्वारेन्टाइन बसेको थिए। ती सबैको नतिजा नेगेटिभ आएको ढकालले जानकारी दिए।

'हामीसँग २५ हजार आरडीटी किट थियो र हामीले क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्‍यौं। तर, समस्या देखिएन,' उनले भने। रोल्पामा हालसम्म भारतबाट १४ हजार ५ सय ७९ जना आएका छन्।

अब मुख्यगरी विदेशबाट आउनेले संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले कडाइ गर्न थालेको उनको भनाई छ। उनीहरुका लागि केन्द्र र प्रदेश सरकारले यथोचित व्यवस्थापन गर्नुपर्ने अवस्था छ। स्थानीय सरकारले प्रभावकारी रुपमा संक्रमण रोक्न काम गरेकाले अहिलेसम्म रोल्पामा संक्रमण नदेखिएको उनको भनाई छ।

हुम्लामा पनि संक्रमित मुक्त तर छ जोखिम

भारतबाट नेपालीहरुलाई स्वदेश प्रवेश गर्न नदिउन्जेलसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य थियो। सबैभन्दा पछि संक्रमण देखिएको कर्णालीले अहिले अरु प्रदेशलाई संक्रमितको आँकडामा उछिन्न थालेको छ। तेस्रो धेरै संक्रमित भएको प्रदेश बनेको छ, कर्णाली। अरु जिल्लामा कोरोना संक्रण देखिँदा हिमाली जिल्ला हुम्लामा एक जना पनि संक्रमित छैनन्। जिल्लाभर ५० जनाको पीसीआर गरिएकोमा सबैको नतिजा नेगेटिभ छ।

अहिले मुख्यगरी भारतबाट आउनेले कोरोना संक्रमणको जोखिम बढाएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए।

'अहिलेमसम्म सुरक्षित भए पनि अब भारतबाट आउनेले संक्रमणको जोखिम देखिन्छ,' उनले भने। भौगोलिक विकटताका कारण आवतजावत कम भएकाले कोरोनाको संक्रमण नभित्रिएको उनको भनाई छ। हवाई जहाजमार्फत् जिल्लामा उद्दार गरी ल्याइनेलाई पीसीआर रिपोर्ट अनिवार्य गरिँदा पनि संक्रमण नभित्रिएको उनको तर्क छ। हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट आवतजावत गरिने भएकाले त्यही पीसीआर गर्नुपर्ने उनले बताए। त्यसो गरिए जोखिम कम हुने उनको भनाई छ। विभिन्न ठाउँबाट जिल्लामा १ सय ९३ जना आउँदै छन्, उनीहरुलाई प्रशासनले कडाईका साथ क्वारेन्टाइनमा राख्दैछ। किनकि कोरोनाको ग्रिन सिग्नल कायमै राख्ने ध्येय छ प्रशासनको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell