PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पोखरामा सकर बिचसहितको खेल सेन्टर बन्दै, यस्ता छन् विशेषता



मुकुन्द घिमिरे

पोखरामा सकर बिचसहितको खेल सेन्टर बन्दै, यस्ता छन् विशेषता

काठमाडौं:  गत जेठ १९ गते अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको भर्चुअल बैठक सम्पन्न भयो। उक्त बैठकले ७० करोड ४१ लाख १९ हजार ६ सय ८५ रुपैयाँको बजेट ल्यायो। जसमा पोखरामा बन्ने 'बहुद्देशीय ट्रेनिङ सेन्टर'का लागि १७ करोड ५५ हजार बजेट छुट्यायो। पोखराको भेडाबारीमा बन्ने उक्त ट्रेनिङ सेन्टर फुटबलको विकासमा कोषेढुंगा सावित हुने बताउँछन् एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा।

२ सय ५२ रोपनी जग्गामा बन्ने उक्त ट्रेनिङ सेन्टर ३ चरणमा बन्ने छ। जसको पहिलो चरणका लागि एन्फाले बजेट विनियोजन गरेको हो।

'त्यहाँ ३ वटा मैदान बन्छ। एउटामा ट्र्याकसहितको ३ देखि ५ हजार दर्शक क्षमताको घाँसे मैदान हुन्छ। दुईवटामा आर्टिफिसियल मिनिपिच हुन्छ,' शेर्पाले भने।

त्यस्तै सेन्टरमा २ वटा फुटसल ग्राउन्ड समेत निर्माण गर्ने योजना छ। 

'सकर बिचको पिच दुईवटा, स्वीमिङपुल एउटा, जिमहल एउटा हुन्छ। अनि पब्लिक र अफिसियल क्यापटेबल एउटा एउटा हुन्छ,' शेर्पाले भने, 'ट्रेनिङ सेमिनार गर्नमिल्ने कन्फ्रेन्स हल र ४ वटा होस्टल हुनेछ। जसमा प्रत्येकमा ३५ जनासम्म रहन सक्नेछन्।'

यसको बहस धेरै चलि नसकेकाले प्रदेश या स्थानीय तहबाट के कति सहयोग होला भनेर चर्चा भइनसकेको शेर्पाले बताए। उनका अनुसार यसको काम लकडाउन खुलेपछि सुरु हुनेछ।

निर्माण हुने सेन्टरको डिपिआर भइसकेको एन्फाले जनाएको छ।  यसको निर्माणमा ६० देखि ७० करोड रुपैयाँ खर्चहुने एन्फाको अनुमान छ।

किन पोखरामा बन्दैछ?

जेठ २३ गते प्रतिनिधिसभा बोल्दै समाजवादी पार्टीका नेता प्रदीप यादवले पोखरामै एन्फाले सेन्टर बनाएकोमा असन्तुष्टी जनाउँदै एन्फाले खेलकुद मन्त्रीको क्षेत्रमा प्रोजेक्ट पारेर मन्त्री रिझाउन खोजेको भन्ने आशयमा अभिव्यक्ति दिएका थिए।

तर पोखरामा टेक्निकल सेन्टर बनाउनुको तर्क एन्फाको फरक छ। सबैतिरबाट केन्द्रमा पर्ने, वातावरणका हिसाबले पनि उपयुक्त, सबै मौसममा ट्रेनिङ गर्न सकिनेलगायतका कारण देखाउँदै पोखरा उपयुक्त भएको शेर्पा बताउँछन्।

'त्यहाँ नेपालको सबै क्षेत्रबाट सेन्टर पर्छ। चर्चित ठाउँ भएकाले अन्तर्राष्ट्रिय टिमहरुलाई पनि आकर्षण गर्न सकिन्छ,' शेर्पाले भने, 'त्यहाँ पानीको पनि राम्रो व्यवस्था छ। जुनसुकै मौसममा ट्रेनिङ गर्नसक्ने उपयुक्त वातावरण छ।'

तस्बिर: कास्की एन्फाको फेसबुक पेजबाट

ट्रेनिङ सेन्टरको औचित्य के?

खेलकुदमा ट्रेनिङ सेन्टरको महत्व त्यसैपनि धेरै हुन्छ। पोखरामा बन्न लागेको ट्रेनिङ सेन्टर फुटबलको विकासका लागि अझ धेरै महत्वपूर्ण हुने अपेक्षा छ एन्फाको।

एन्फा अध्यक्ष शेर्पा राष्ट्रिय टिमहरुको व्यवस्थित ट्रेनिङदेखि प्रशिक्षक, रेफ्रीलगायतका प्राविधिक जनशक्ति उत्पादनका लागि महत्वपूर्ण हुने बताउँछन्।

युवा समूहदेखि सिनियर टिमसम्म महिला पुरुष दुवैतर्फ ट्रेनिङ गराउन सकिन्छ। प्रशिक्षकका लाइसेन्स कोर्ष, रेफ्रीका कोर्ष, रिफ्रेसर कोर्षहरु, एडिमिनस्ट्रेटिभ ट्रेनिङ(प्राविधिक) गराउन सकिन्छ,' ट्रेनिङ सेन्टरको औचित्यबारे शेर्पाले भने, 'विभिन्न जिल्लाबाट छानिएर आएका खेलाडीहरुलाई युथ इलाइट प्लेयर ट्रेनिङ गराउन सकिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell