
काठमाडौंः नेतृत्व विवाद टुंगिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल आजै दल दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ। जसपाले आइतबार नेतृत्व विवाद टुंग्याएको हो।
जस अनुसार केन्द्रीय कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने भएका छन्। संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराईको नाममा सहमति भएको छ। समाजवादी पार्टीका महासचिव प्रकाश अधिकारीका अनुसार राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेता रहने छन्।
यस्तै ५१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति जुटेको छ।
सहमति जुटेसँगै दल दर्ताको बाँकी प्रक्रियाका लागि ४ बजे निर्वाचन आयोग जान लागेको अधिकारीले जानकारी दिए।
अध्यक्ष विवाद नमिल्दा एकता प्रक्रिया अघि बढ्न सकेको थिएन्। वैशाख १० गते मध्यरातमा दुई पार्टी एक भएका थिए। वैशाख ११ गते नै जसपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन बुझाएका थियो।
निवेदन दिएको ४५ दिनभित्र एकता प्रक्रिया टुंगोमा लगाउनु पर्ने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ। दलले निर्वाचन आयोगमा निवेदन दिएको शनिबार नै ४५ दिन पुगेको थियो। शनिबार परेकाले आइतबार प्रक्रिया सक्ने अन्तिम दिन मानिएको छ।