PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

स्वास्थ्यमन्त्रीसँग सुदूरपश्चिमका सांसदको आक्रोश : जोखिम बढेको ठाउँलाई हेप्ने, पीसीआर मेसिन तुरुन्त पठाउ



पहिलोपोस्ट

स्वास्थ्यमन्त्रीसँग सुदूरपश्चिमका सांसदको आक्रोश : जोखिम बढेको ठाउँलाई हेप्ने, पीसीआर मेसिन तुरुन्त पठाउ

काठमाडौं : सुदूरपश्चिमबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट गरेका छन्। आइतवार साँझ मन्त्रालयमा भएको भेटमा सांसदहरुले सुदूरपश्चिममा तत्काल स्वाब संकलन शुरु गर्न माग गरेका छन्।

संकलन गरेका स्वाब राख्ने ठाउँ नभएको र एकमात्र पीसीआर ल्याबमा पनि परीक्षणमा ढिलाई भएको भन्दै स्वास्थ्य निर्देशनालयले स्वाब संकलन ५ दिनका लागि स्थगित गरेका बेला सुदूरपश्चिमका सांसद समस्या सुनाउन स्वास्थ्य मन्त्रालय पुगेका हुन्।

भेटमा सांसदहरुले सुदूरपश्चिममा थप पीसीआर मेसिन पठाउन माग गरेका थिए। साथै परीक्षणको दायरा बढाउनुपर्ने, पीसीआर परीक्षण पहाडी जिल्लाबाट समेत हुनुपर्ने र तत्कालै स्वाब संकलन शुरु हुनुपर्ने उनीहरुको माग थियो।

भारतबाट ६० हजारभन्दा बढी नेपाली घर फर्किएको र जोखिम बढेका बेला मेसिनको अभावमा परीक्षण रोकिएको भन्दै उनीहरुले सुदूरपश्चिमलाई बेवास्ता गरिएको भन्दै स्वास्थ्यमन्त्रीसँग आक्रोश पोखेका थिए।

जवाफमा स्वास्थ्यमन्त्री ढकालले सुदूरपश्चिममा चाँडै थप पीसीआर मेसिन पठाउने बताए। मेसिन खरिद प्रक्रियामा रहेको उनले जानकारी दिए। स्वाब संकलन कार्य तत्कालै सञ्चालन गरिने मन्त्री ढकालले प्रतिबद्धता जनाएका थिए।

स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउन सांसदहरु निरा जैरु, नारदमुनि राना, दामोदर भण्डारी, प्रेम आले, गणेश ठगुन्ना, लाल बहदुर थापा, भैरव बहादुर सिंह, नर बहादुर धामी, गोरख बहादुर विकटी, बिना बुढाथोकी, लक्ष्मी चौधरीलगायत सिंहदरवारस्थित मन्त्रालय पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell