PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

महन्थले पहिलो वरीयता छाडेनन्, दोस्रोमा बाबुराम मानेनन्ः अनि लाग्यो भट्टराईको नाममा टिपेक्स



कुञ्जरमणि भट्टराई

महन्थले पहिलो वरीयता छाडेनन्, दोस्रोमा बाबुराम मानेनन्ः अनि लाग्यो भट्टराईको नाममा टिपेक्स

काठमाडौँः अध्यादेश प्रकरणले रातारात जुटाएको जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता भएर गत जेठ १० गते मध्यरातमा जन्मिएको जनता पार्टी आज दर्ता भएको हो।

नेतृत्वमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अलमलमा परेको थियो। निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको ४५ दिनको भोलिपल्ट बल्ल पार्टी दर्ता भएको हो।

पार्टी महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनेगरी दर्ता भएको छ। अन्तिम समयसम्म बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष बन्ने सहमति भएको थियो। तर, भट्टराईलाई वरिष्ठ नेता बनाइएको छ। अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन्।

जनता समाजवादीको विधानमा संघीय परिषद्को अध्यक्षपछि मात्रै केन्द्रीय समिति अध्यक्ष रहने व्यवस्था छ। तर, दर्ता गर्दा ठाकुर पहिलो, भट्टराई दोस्रो र उपेन्द्र तेस्रोमा राखेर दर्ता गर्ने तयारी थियो।

पार्टीको विधानमा संघीय अध्यक्ष पहिलो हुने व्यवस्था भएकाले आफू दोस्रोमा नबस्ने भट्टराईले आपत्ति जनाएको पूर्व राजपाका एक नेताले जानकारी दिए। त्यस्तै ठाकुरले पहिलेदेखि नै आफू पहिलो अध्यक्ष बन्ने कुरा भएको भन्दै दोस्रो वरीयतामा बस्न अस्वीकार गरेका थिए ।

'त्यसपछि भट्टराईले अहिले संघीय परिषद्को कुरा छोडौँ म वरिष्ठ नेता बन्न तयार छु भन्नुभयो,' ती नेताले भने।

समाजवादीका एक नेताका अनुसार महन्थले बाबुरामभन्दा आफू राजनीतिमा पहिले आएकाले दोस्रो वरीयतामा बस्न नसक्ने बताएका थिए।

बाबुराम संघीय अध्यक्ष बन्ने कुरा ९५ प्रतिशत कुरा मिलिसकेको तर अन्तिम समयमा भाँडिएको उनको भनाई छ।

'अन्तिममा महन्थले आफू राजनीतिमा बाबुरामभन्दा पहिले आएको बताउनुभयो। उहाँले आफू लामो समय राजनीति गरेकाले म बुढो मान्छे यति ठूलो पार्टीको अध्यक्ष हुने अवसर आएको छ  मलाई दोस्रो वरियतामा नपार्नुस् भन्नुभयो', ती नेताले भने।

महन्थको आग्रहपछि बाबुराम अध्यक्षबाट वरिष्ठ नेता बन्न राजी भएको समाजवादीकै ती नेताले जानकारी दिए।

दर्ता गरिएको कागजमा पहिले बाबुरामको नाम दोस्रोमा राखिएको थियो जसमा टिपेक्स लगाइएको छ। बाबुरामको नाम अशोक राई पछि राखिएको छ। तथापि उनी तेस्रो वरीयतामा रहेको नेताहरुले बताएका छन्।

बाबुराम संघीय अध्यक्ष बन्ने कुरा अझै बाँकी रहेको नेताहरु बताउँछन्। एकीकृत दलको बैठकले बाँकी रहेको अन्य पदाधिकारी टुंग्याउदा उनलाई अध्यक्ष बनाउने निर्णय हुन सक्ने नेता राजेन्द्र श्रेष्ठले बताए।

पूर्व राजपाकै नेता पनि बाबुराम संघीय परिषद् अध्यक्ष बन्ने पक्का रहेको बताउँछन्।

उनले भने, 'बाबुराम भट्टराई संघीय अध्यक्ष बन्ने पक्का नै हो। वरीयताको विषयमा पछि कुरा होला। त्यस्तै राजेन्द्र महतो संसदीय दलको नेता बन्ने सहमति छ', उनले भने।

त्यस्तै सरकारले दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्ने सहमति पनि जनता समाजवादीमा रहेको ती नेताले जानकारी दिए।

एकीकृत पार्टीमा ५१ सदस्यीय राजनीतिक समिति, ५३ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ। केन्द्रीय समितिको भने कति सदस्य हुने टुंगो लागेको छैन्।

जनता समाजवादीमा पूर्ववत् समाजवादीले ३ अध्यक्षको प्रस्ताव गरेको थियो। तर, राजपाले भने दुई अध्यक्ष बनाउने अडानमा थियो। केन्द्रीय अध्यक्षको कुरा नमिल्दा एकता प्रक्रिया शिथिल बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell