PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

लकडाउनमा स्यानिटरी प्याड बनाउँदै युवाहरु, उद्देश्य निशुल्क बाँड्नु

लकडाउनमा स्यानिटरी प्याड बनाउँदै युवाहरु, उद्देश्य निशुल्क बाँड्नु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : २०७६ साल चैतको पहिलो साता काठमाडौंमा कोरोना भाइरसको भय देखिन सुरु भइसकेको थियो। देशभर एक्टिभ केस नहुँदा छिमेकी राष्ट्रहरुमा संक्रमण फैलिएसँगै राजधानीमा समेत त्यसको प्रभाव पर्‍यो। भौतिक दुरी कायम गर्नु, स्यानिटाइजर र मास्कको प्रयोग गर्नु लगायतका सावधानी अपनाउन थाले राजधानीवासीले।

सिनामंगलमा रहेको मिरमिरे युवा समाजले आफ्नो टोल वरिपरि जनचेतना फैलाउने काम गर्‍यो त्योबेला। काठमाडौंमा दोस्रो कोरोना संक्रमितको पहिचान भएसँगै चैत ११ गतेबाट देशभर लकडाउन गरियो। मिरमिरेले आफ्नो टोल क्षेत्र डिस्इन्फेक्ट गर्ने काम गर्‍यो। सदस्यहरुले जनचेतना फैलाउने र डिस्इन्फेक्ट गर्ने काममै लागे।

लकडाउन थपिँदै गयो। संक्रमणको त्रास बढ्दै गयो। यसबीच मिरमिरेका सदस्यहरु कोरोनाको हटस्पट बनेको उदयपुर्, दैलेख पुगे। त्यहाँ मास्क, पीपीई, थर्मल गन लगायतका स्वास्थ्य सामाग्री वितरण गरे।

लकडाउन गरिएको ७५ दिन कट्दा सम्म समाजले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ। अहिले पनि सिंनामंगलमा रहेको समाजको कार्यालयमा मिरमिरेका सदस्यहरु काममै व्‍यस्त छन्।

कसैको हातमा कैची त कसैको हातमा स्केल। महिलाहरु रंगिविरंगी कपडा काट्दैछन्। पुरुषहरु कपडालाई निश्चित आकार दिने प्रयासमा छन्।

करिब १० जनाको समूह हाल पुन: प्रयोग गर्न मिल्ने 'स्यानिटरी प्याड' बनाउन व्यस्त छन्।

लकडाउनका कारण शहरबजारमा मेडिकल पसलहरु खोलेका छन्। पहुँच हुनेले त्यहाँ स्यानिटरी प्याड किन्न पाएका छन्। तर काठमाडौंमै बस्ने र आर्थिक रुपमा विपन्न भएकाहरु पनि छन्। काठमाडौंकै गाम्रीण भेगमा लकडाउनका कारण 'महिनावारी स्वच्छता' मा समस्या परेको छ। त्यसैले टोलकै मानिसहरु मिलेर हाल नि:शुल्क रुपमा स्यानिटरी प्याड वितरण गर्ने जमर्को गरिरहेको बताउँछन् समाजका अध्यक्ष दिनेश विक्रम शाह।

भन्छन्, ' करिब १५ दिन देखि हामी प्याड बनाउँदैछौं। काठमाडौंको विभिन्न भागमा आर्थिक रुपमा विपन्न महिला दिदी बहिनीहरु हुनुहुन्छ। उहाँहरुलाई हामी प्याड निशुल्क वितरण गर्छौं।'

बेलायतमा रहेक लिंक टु नेपालसँगको सहयोग समाजले प्याड उत्पादन थालेको हो। हाल करिब ८ सय प्याड बनिसकेको छ। करिब एक हजार प्याड बनाएर वितरण गर्ने लक्ष्य समाजले राखेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell