
काठमाडौं : कोरोना संक्रमणको कारण आज थप एक जनाको मृत्यु भएको छ। स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो। यससँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा लगिएको थियो। कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा मृत्यु भएको यो पहिलो घटना हो। अहिलेसम्म प्रदेश नम्बर १ बाहेक अन्य ६ वटै प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ।
अहिलेसम्म सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा कोरोना संक्रमणबाट मृत्यु भएको छ। ४ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ। त्यस्तै, कर्णाली प्रदेशमा ३ जनाले कोरोना पोजेटिभका कारण ज्यान गुमाएका हुन्। यस प्रदेशमा ज्यान गुमाएका सबै जनाको मृत्यु भइसकेपछि मात्र कोरोना पोजेटिभ भन्ने पुष्टि भएको थियो। अहिलेसम्म १ सय ११ जनामा कोरोना संक्रमण भेटिएको सुदुरपश्चिम प्रदेशमा पनि २ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।
नेपालमा पहिलो कोरोनाबाट मृत्यु भएको वाग्मती प्रदेशमा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। सिन्धुपाल्चोकी सुत्केरी महिलाको मृत्यु भएको थियो। त्यस्तै दोलखा निवासी एक पुरुषको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको थियो। त्यस्तै अहिलेसम्म प्रदेश नम्वर २ मा एक जनाको मात्र मृत्यु भएको छ। प्रदेश नम्बर २ मा संक्रमितको सङ्ख्या भने सबैभन्दा धेरै छ। अहिलेसम्म ११ सय ६१ जनामा कोरोना पोजेटिभ देखिएको हो।
सुरुका केही दिनमा प्रदेश नम्बर १ मा उदयपुरको भुल्के हटस्पट बनेको थियो। त्यसपछि झापाको कचनकवलमा संक्रमितको सङ्ख्या थपिँदै गयो। अहिलेसम्म २ सय ५९ जनामा प्रदेश नम्बर १ मा संक्रमण देखिएको छ। तर, कोरोनाको कारण नै मृत्यु भने भएको छैन।