PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतमा उपचार, सुनौलीमा अलपत्र अनि गण्डकीमा मृत्यु



सविन ढकाल

भारतमा उपचार, सुनौलीमा अलपत्र अनि गण्डकीमा मृत्यु
त्रिवि शिक्षण अस्पतालमा संक्रमणबाट मृत्यु भएकालाई व्यवस्थापनका लागि लगिँदैको फाइल फोटो।

काठमाडौं : 'तपाईँहरुको मानिस यहाँ अलपत्र छन्। लिएर जानुहोला,' कोही अपरिचित मानिसले स्याङ्जाको वालिङ नगरपालिकामा खवर गरे। सरकारले लकडाउन घोषणा गरेको थियो। कहिँ कतै हिँड्डुल गर्ने अवस्था थिएन।

फोन सुनौली नाकाबाट आएको थियो। अलपत्र परेकालाई नगरपालिकाले के गर्ने भन्ने अन्योल भयो। पदाधिकारीहरु छलफलमा जुटे। निष्कर्ष निस्कियो - बस लिएर उद्दार गर्न जाने।

जेठ २१ गते दिउँसो नगरपालिकाको बस उद्दारका लागि छुट्यो। श्रीमान् र श्रीमती दुई जना र केही अरु मानिसलाई सुनौलीबाट उद्दार गर्‍यो। 'भारतबाट आएको भनेपछि त्यहाँ मानिसको भागभाग रहेछ। उहाँको स्वास्थ्य अवस्था झनै नाजुक,' वालिङ नगरपालिका मेयर दिलिपप्रताप खाँणले सुनाए।

२१ गते राति उनीहरुलाई गाउँ लगियो। उनको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएको थियो। आफन्त कोही सम्पर्कमा थिएनन्। एकजना छोरीमात्र छिन, उनीहरुका। छोरी नर्स। नगरपालिकाले समन्वय गर्‍यो। ल्याइएपछि पनि स्वास्थ्य बिग्रिँदै गयो। त्यसपछि उनलाई पोखरा अस्पतालमा पुर्‍याइयो। 'मृगौलाको विरामी हुनुहुन्थ्यो। त्यसैले अस्पतालमा नै लगिएको थियो,' मेयर खाँडले भने।

भारतबाट आएका कारण अस्पतालले थ्रोट स्वाब लियो। हिजो त्यसको रिजल्ट आयो - पोजेटिभ। सँगै भारत उपचार गएकामध्ये विरामी श्रीमानमा कोरोना पोजेटिभ देखियो भने उनकी श्रीमतीमा भने नेगेटिभ। कोरोना पोजेटिभ देखिएको २४ घण्टा बित्न नपाउँदै उनले सधैंका लागि आँखा चिम्लिए।

उनको मृत्युसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्युको यो पहिलो घटना हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा लगिएको थियो। मिर्गौलाको उपचारका अलावा उनलाई सुरक्षित रुपमा कोरोनाको उपचार गर्नपर्ने थियो। तर, कोरोना पहिचान भएको भोलिपल्टै उनको मृत्यु भयो।

नेपालमा अहिलेसम्म प्रदेश नम्बर १ बाहेक अन्य ६ वटै प्रदेशमा कोरोना संक्रमणको कारण मानिसहरुको मृत्यु भइसकेको छ।

अहिलेसम्म सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ ४ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ। त्यस्तै कर्णाली प्रदेशमा ३ जनाले कोरोना पोजेटिभका कारण ज्यान गुमाएका छन्। सुदूरपश्चिम प्रदेशमा पनि २ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

नेपालमा पहिलो कोरोनाबाट मृत्यु भएको वाग्मती प्रदेशमा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, अहिलेसम्म प्रदेश नम्बर २ मा एक जनाको मात्र मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell