PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दुई लाखभन्दा धेरै भारतबाटै भित्रिएपछि जब उच्च जोखिम भयो, त्यहीँ रोकियो स्वाब संकलन



प्रकाश भण्डारी

दुई लाखभन्दा धेरै भारतबाटै भित्रिएपछि जब उच्च जोखिम भयो, त्यहीँ रोकियो स्वाब संकलन

काठमाडौं : भारतबाट आउनेको संख्या बढ्न थालेपछि गाउँगाउँका क्वारेन्टाइन भरिन थाले। आएकालाई क्वारेन्टाइन राखेर परीक्षण गर्दा केही समय यता कोरोना संक्रमितको ग्राफ लगातार उकालो लागिरहेको छ। देशभर सवा दुई लाख मानिसहरु क्वारेन्टाइनमा छन्। त्यसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइनमा सुदुरपश्चिममा छन्। सुदूर पश्चिममा ६० हजार भन्दा धेरै मानिस क्वारेन्टाइनमा छन्। यी सबैजना भारतबाट आएका हुन्।

प्रदेश ५ र कर्णालीमा पनि क्वारेन्टाइन बस्नेको संख्या उच्च छ। भारतबाट आएर क्वारेन्टाइन बस्नेको संख्या उच्च भएकोबाटै थाहा पाउन सकिन्छ सुदुरपश्चिममा कोरोनाको जोखिम उच्च छ भन्ने। सुदूर पश्चिम सरकारका अनुसार दुई लाख बढी मानिस वैध तथा अवैध बाटो हुँदै नेपाल भित्रिए। क्वारेन्टाइन बस्नेको संख्या उच्च भए पनि प्रदेशभर भएको एउटै प्रयोगशालाले पनि अहिले स्वाब संकलन नगर्न निर्देशन दिइसकेको छ।

भारतबाट दैनिक हजारौं मानिसहरु आउँदा जम्मा २ सय ५० जनाको मात्र दैनिक परीक्षण गर्ने क्षमता भएको ल्याबबाहेक अर्को विकल्प छैन्, सुदूर पश्चिममा। विभिन्न ठाउँबाट आएका नमूना परीक्षणको चाङ लाग्दा परीक्षणका लागि पालो कुर्नुपर्ने भएकाले अहिले संकलन नै रोकिएको हो। निर्देशनालयले २३ गते विज्ञप्ति जारी गरेर प्रयोगशालको क्षमता कम र स्वाब संकलन धेरै भएकाले रोक्नुपर्ने वाध्यता भएको बताएको छ।

केन्द्रले बेवास्ता गरेको प्रदेशको आरोप

भारतबाट आएर सुदूर पश्चिममा विभिन्न नाकामा मानिसहरु अलपत्र पर्न थालेपछि प्रदेश र संघीय सरकारबीच पटकपटक छलफल भयो। त्यस बेला र त्यसभन्दा अघि पनि प्रदेशले कोरोना नियन्त्रणका लागि प्रदेशको क्षमताबारे केन्द्रलाई जानकरी गरायो। यस बीचमा केन्द्र सरकारले एउटामात्रै पीसीआर मेसिनको आवश्यकता देखेपछि सेती प्रादेशिक अस्पतालमा पीसीआर जडान गरियो। भारतबाट धेरै मानिस आउँछन् र उनीहरुका कारण सुदूर पश्चिममा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ भन्ने थाहा भए पनि केन्द्रले पीसीआर मेसिन थप्न आवश्यक देखेन।

सुदुर पश्चिमका सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले पटक पटक केन्द्र सरकारलाई अहिलेको अवस्था आउने जानकारी गराएको भए पनि बेवास्ता गरेको आरोप लगाए। उनले महिनौं अघि नै संघीय सरकारसँग पीसीआरका लागि थप ल्याबको माग गरेको बताए।

'पटक पटक हामीले संघीय सरकारलाई भनेका हौं, अहिलेको अवस्था आउँछ भनेर। तर, अहिले पनि लिखित प्रतिवद्धता आएको छैन। मौखिक जानकरी आएको छ। पीसीआर किन्ने बारे,' उनले भने। ल्याबको एकातिर परीक्षण गर्ने क्षमता कम र अर्कोतिर जनशक्तिको अभावले अहिले स्वाब संकलन रोक्न भनिएको हो।

नेता ताते, सुन्छ त सरकारले?

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा सदूर पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद तथा उद्योग मन्त्री लेखराज भट्टले पीसीआर मेसिन थप्नुपर्ने माग गरे। यस विषयको माग उनले वैठकमा राखे पनि कहाँ र कति मेसिन थप्ने भन्नेबारे टुंगो लागेको छैन। पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता एनपी साउदले पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा र अछामको विनायकमा पीसीआर मेसिन पठाएर तत्काल परीक्षणको व्यवस्था मिलाउन माग गरेका छन्।

जवाफमा स्वास्थ्य मन्त्री ढकालले सुदूरपश्चिममा तत्कालै ठूलो क्षमता भएको पीसीआर मेसिन पठाउने तयारी भइरहेको आश्वासन दिए। मेसिन खरीद प्रक्रियामा रहेको भन्दै अधिक क्षमताको मेसिन पठाइने, अस्पतालहरुमा पनि कोरोना परीक्षणको व्यवस्था गरिने मन्त्री ढकालको भनाई थियो।

साउदले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेरै सुदूर पश्चिममा परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका थिए। अहिले सुदूर पश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीबाट मात्रै कोरोना भाइरसको पीसीआर मार्फत् कोरोना परीक्षण भइरहेको छ।

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र बैतडीमा पीसीआर विधिबाट कोरोना परीक्षणका लागि प्रयोगशालाको स्थापनाको प्रक्रिया अघि बढाए पनि त्यहाँ जनशक्ति नहुँदा अझै जडान हुन नसकेको सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सात हजार ४९ पीसीआर विधि र ३२ हजार ७ सय ५६ आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell