PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

जागिरबाट निकालेको भन्दै अछाममा अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास, हेलिकोप्टरबाट उद्धार



एम बम

जागिरबाट निकालेको भन्दै अछाममा अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास, हेलिकोप्टरबाट उद्धार

कैलाली : अछाममा एक व्यक्तिले जागिरबाट निकालेको भन्दै पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन्। उनलाई हेलिकोप्टरबाट उद्धार गरी कोहलपुर अस्पताल लगिएको छ।

न्याय हेल्थ नेपालद्वारा संचालित बयालपाटा अस्पतालमा कार्यरत साफे नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सिद्धार्थ आहुजीले सोमवार विहान अस्पताल परिसरमा पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका हुन्। आगोबाट शरीरको तल्लो भाग केही जलेको छ।

तत्कालै आगो निभाई उनलाई घाइते अवस्थामा हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए। उनका अनुसार घाइतेको अवस्था गम्भीर छ। थप उपचार कोहलपुरमा भइरहेको छ।

बयालपाटा अस्पतालले उनीसहित ३३ जना कर्मचारीलाई जागिरबाट निकालेको हो। ‘जागिरबाट निकालेको कारण आत्महत्याको प्रयास गरेको रहेछ,’ सुवेदीले भने, ‘उनीहरु अस्थायी करारवालामा थिए। अस्पतालले करार थपेन।’

आर्थिक संकटका कारण जागिरबाट हटाइयो

आर्थिक संकट परेको भन्दै उनीलगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो। अस्पतालले हटाएपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बुझिएको छ।

यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ।

घाइते आउजीलाई गर्भवतीको उद्धारका लागि आएको हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले बताए।

यस्तै सोही हेलिकोप्टरमार्फत चौरपाटी गाउँपालिका वडा नम्वर ५ की २५ बर्षीय गर्भवती महिला निर्मला खड्काको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell