PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

प्रदेश ५ का संक्रमितमध्ये ५० प्रतिशत कपिलवस्तुका



पहिलोपोस्ट

प्रदेश ५ का संक्रमितमध्ये ५० प्रतिशत कपिलवस्तुका

काठमाडौं: प्रदेश ५ को पछिलो कोभिड-१९ अपडेटअनुसार यहाँ संक्रमितको संख्या एक हजार १०२ जना पुगेको छ। प्रदेशका १२ वटै जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमण पुष्टि भएकाहरुमध्ये ५० प्रतिशत कपिलवस्तुमा छन्।

प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतवार राती साढे ८ बजे जारी गरेको ‘सिच्योएसन रिपोर्ट’ अनुसार कपिलवस्तुमा ५५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो तथ्यांकअनुसार बाँके जिल्लामा २७० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै रुपन्देही जिल्लामा ११४ जनामा संक्रमण पुष्टि भएको छ। दाङ जिल्लामा ७६ जनामा संक्रमण पुष्टि भएको छ। बर्दिया जिल्लामा ४२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

नवलपरासी बर्दघाट सूस्ता पश्चिममा २१ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये पाल्पामा ८, गुल्मीमा ६ अर्घाखाँचीमा ५ जना रहेका छन्। यो तथ्यांकमा अर्घाखाँचीमा आज सोमवार विहान पुष्टि भएका ३१ जना समावेश छैन। त्यस्तै प्युठानमा ४ तथा रुकुम पूर्व र रोल्पामा ३/३ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म प्रदेश ५ मा २३ हजार १३३ जनाको कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब संकलन भएको छ। जसमध्ये १६ हजार १६० जनाको नेगेटिभ आएको छ भने अझै पाँच हजार ८७६ जनाको परीक्षण नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा सबैभन्दा बढी कपिलवस्तुमा ६ हजार १२५ जनाको नमूना संकलन गरिएकोमा अझै ९८३ जनाको परीक्षण नतिजा आउन बाँकी छ।

सबैभन्दा कम रुकुम पूर्वमा १३९ जनाको स्वाब संकलन भएकोमा ४९ जनाको रिपोर्ट आउन बाँकी छ। यहाँ ३ जनामा संक्रमण पुष्टि हुँदा ८७ जनाको नतिजा नेगेटिभ आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell