PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भारतले ५६ विद्यालयको पुनःनिर्माण गरिदिने, शिक्षा मन्त्रालयसँग झण्डै ३ अर्बको सम्झौता



पहिलोपोस्ट

भारतले ५६ विद्यालयको पुनःनिर्माण गरिदिने, शिक्षा मन्त्रालयसँग झण्डै ३ अर्बको सम्झौता

काठमाडौं: भारतले नेपालका ५६ वटा शैक्षिक संस्था पुन:निर्माण गर्न शिक्षा मन्त्रालयसँग सम्झौता गरेको छ।

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि सोमवार भारतीय दूतावास र शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबीच ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिनेछ।

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुनेछन्। विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षा कोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ।

भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell