
काठमाडौं: युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अभिव्यक्ति प्रति जानकार नभएको बताएका छन्।
सोमवारको प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिबारे जानकारी नरहेको बताएका हुन्।
'जहाँसम्म एन्फा अध्यक्षले जहाँ के भन्नु भयो भन्ने कुरा छ त्यो मेरो जानकारीमा छैन। उहाँले कहा के अन्तर्वार्ता दिनुभयो के भन्नु भयो मलाई थाहा छैन,' उनले भने, 'कताकताको कुरा ल्याएर मन्त्रीलाई विवादमा तान्न खोज्नु त्यो उचित हुन सक्दैन।'
यसअघि प्रतिनिधि सभामा बोल्दै समाजवादी पार्टीका सांसद प्रदीय यादवले शेर्पाले मधेशीको राष्ट्रियता कमजोर हुने र सेना लगाएर राष्ट्रियता सिकाउने भन्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै शेर्पालाई निलम्बन गर्न माग गरेका थिए।
केही दिनअघि एन्फा अध्यक्ष शेर्पाले एक अनलाइनसँगको कुराकानीका क्रममा दिएको अभिव्यक्तिलाई लिएर आलोचना भएको थियो। यद्यपि शेर्पाले आफ्नो आशय कुनै वर्ग या समुदायलाई होच्याउने नभएको भन्दै आफ्नो भनाइलाई फुटबल विरोधीहरुले तोडमोड गरेको भन्दै माफी मागेका थिए।