PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पोखराका ‘भिआइपी’ संक्रमित : ट्रेसिङमा भेटियो प्रदेशमन्त्री देखि सुरक्षाकर्मीसम्मको कनेक्सन, ५० जनाको स्वाब संकलन



कमलराज भट्ट

पोखराका ‘भिआइपी’ संक्रमित : ट्रेसिङमा भेटियो प्रदेशमन्त्री देखि सुरक्षाकर्मीसम्मको कनेक्सन, ५० जनाको स्वाब संकलन

काठमाडौं : काठमाडौंमा उपचाररत कास्कीका कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएका ५० जनाको स्वाब संकलन गरिएको छ। ट्रेसिङका क्रममा प्रदेश मन्त्री, नेता,प्रदेश सांसद, समाजका अगुवा, सुरक्षाकर्मी देखि प्रोफेसरसम्म उनको सम्पर्कमा आएको भेटिएको छ।

पोखराका ६५ वर्षीय ती पुरुष वरिष्ठ अधिवक्ता हुन्। उनी पीएन क्याम्पसमा प्राध्यापकका रुपमा कार्यरत छन्। उनलाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो।

‘यहाँका कानुन व्यवसायी, विशिष्ट व्यक्ति, नेताहरुको सम्पर्कमा रहेको खुलेको छ। उनीहरु सबैको स्वाब संकलन गरिएको छ,’  जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, ‘कहाँबाट सर्‍यो थाहा छैन। ५० को हाराहारीमा गन्यमान्यहरुको स्वाब संकलन गरेका छौं। परीक्षण भइरहेको छ। रिपोर्ट आएको छैन।’

जिल्ला प्रहरी कार्यालयका अनुसार कास्कीमा अन्य ४ जना संक्रमित छन्। ४ जनाको अवस्था सामान्य छ। उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। अब कास्कीमा संक्रमितको कुल संख्या ५ पुगेको छ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले संक्रमितको सम्पर्कमा आएका ५० जनाको स्वाब संकलन गरेको जानकारी दिए। ५० जनामध्ये को को छन् भन्ने चाहीँ खुलाएनन्।

उनका अनुसार ती संक्रमितको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। ‘विरामी भएर सिकिस्त भए। श्वास फेर्न गाह्रो भयो। ज्वरो पनि १०५ भएपछि हतार हतार हेलिकप्टरमा काठमाडौं लगिएको थियो,’ उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था स्थिर छ। कसरी सर्‍यो भन्ने थाहा हुन सकेको छैन। कता कता गए खोज्दैछौं।’

एसपी कार्कीले जिल्लाभर ३ सय जनाको स्वाब संकलन गरिएको बताए। ‘केहीको रिपोर्ट आउँदैछ। आज संक्रमित बढ्छन्,’ उनले भने।

एसपी कार्कीले कास्कीको जनजीवन सामान्य रहेको र विस्तारै बजार खोल्ने प्रशासनको योजना रहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell