PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

संसदमा सांसद र खेलमन्त्रीको जुहारी, यादव आरोप लगाउने, विश्वकर्मा पुष्टि गर्न चुनौती दिने



पहिलोपोस्ट

संसदमा सांसद र खेलमन्त्रीको जुहारी, यादव आरोप लगाउने, विश्वकर्मा पुष्टि गर्न चुनौती दिने

काठमाडौं: जेठ २३ गते प्रतिनिधिसभामा बोल्दै समाजवादी पार्टीका नेता प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको अभिव्यक्तिलाई लिएर उनलाई निलम्बन गर्नुपर्ने माग गरे।

उनी यतिमै रोकिएनन्। एन्फाले १७ करोडको प्रोजेक्ट युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको क्षेत्रमा पठाएको भन्दै कतै मन्त्रीको संरक्षणमा त अध्यक्ष छैनन् भन्ने आशय समेत व्यक्त गरेका थिए।

प्राय सालिन देखिने मन्त्री विश्वकर्मा आज यादवको आरोपको प्रतिवाद गर्ने क्रममा आक्रामक सुनिए।

उनले वीरगंजको नारायणी रंगशालाको विषयलाई लिएर बोल्दै गर्दा आएको एन्फाले १७ करोड रुपैयाँको प्रोजेक्टबारेमा आएको अभिव्यक्तिप्रति आपत्ती जनाए।

'माननीय ज्युले भन्ने खोजेको के हो? आ

शय के हो? सम्बन्धित माननीय ज्युले नै स्पष्ट पार्नुपर्‍यो। उहाँले जे भन्नु भएको छ भनेको त्यही हो भने विषय गम्भीर छ।' मन्त्री विश्वकर्माले भने, 'यसले मलाई दुखी तुल्याएको छ। जुन शब्दमा अभिव्यक्ति दिनुभएको छ उहाँले भन्न खोजेको त्यही हो भने त्यसलाई प्रमाणीत गरेर देखाउन म चुनौती दिन्छु।'

मन्त्री विश्वकर्माले यादवलाई आफ्नो भनाइलाई प्रमाणीत गर्न समेत चुनौती दिए।

'एन्फाबाट र कोही कसैबाट मैले एक रुपैयाँ लिएको छैन,' मन्त्रीले भने, 'बरु एक प्रसंगमा माछापुछ्रे गाउँपालिकाको भेडाबारी भन्ने ठाउँमा एन्फाले एकेडेमी स्थापना गर्न खोज्दैछ। एन्फाका प्रतिनिधिहरुले धेरै ठाउँमध्ये त्यो ठाउँलाई छनोट गरेको हुँदा १७ करोड बराबर लागतको त्यो योजना एन्फाको वैठकले स्वीकृत गरिसकेको छ भन्ने सुनेको छु।'

यद्यपि यसबारे आधिकारिक जानकारी मन्त्रालयमा आइनसकेको उनले दाबी गरे। उनले आफूले निष्ठाका साथ काम गरेको भन्दै बिना आधार छवि बिगार्न नपाइने बताए। उनले यो लाञ्छनायुक्त अभिव्यक्ति भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे।

सांसद यादवले प्रदेश २ मा रहेको नारायणी रंगशालामा बजेट कम छुट्याएको भन्दै केन्द्र सरकारले काम गर्न नसके उक्त रंगशालाा प्रदेशमातहत ल्याउन माग गरेका थिए।

‘युवा तथा खेलकुद मन्त्रालयले नारायणी रंगशाला वीरगंजलाई ५० लाख रुपैयाँ छुट्याएको छ। गज्जबको कुरा लाग्छ मलाई ५० लाख। सुन्दा ठूलो रकम लाग्छ,' यादवले भनेका थिए, ‘तर त्यो रंगशाला दशरथ रंगशाला जस्तो ठूलो रंगशाला हो। त्यहाँ स्थानीय जनताको लेभिबाट त्यो ठूलो रंगशाला बनेको हो। तर त्यो रंगशाला कोमामा गइसकेको छ। र यो अवस्थामा ५० लाखमा केही हुन सक्दैन।’

यसको जवाफमा मन्त्री विश्वकर्माले पूर्वाधार निर्माणमा जम्मा बजेट ५८ करोड १९ लाख विनियोजन भएको बताए।

'त्यसमध्ये ४० करोड स्थानीय तहमा खेलग्राम निर्माणका लागि छ। खेलग्राम बाहेक पूर्वाधार निर्माणमा जम्मा १८ करोड ९८ लाख मात्रै छ,' मन्त्रीले निर्माणाधीन क्षेत्रहरुको फेरिहस्त लगाउँदै भने, '१९ करोडले कहाँ के गर्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell