PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

डोटीमा क्वारेन्टाइनभित्रै मृत्यु भएका युवकको पीसीआर परीक्षण नतिजा ‘नेगेटिभ’



एम बम

डोटीमा क्वारेन्टाइनभित्रै मृत्यु भएका युवकको पीसीआर परीक्षण नतिजा ‘नेगेटिभ’

कैलाली : डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ३ मा आइतवार क्वारेन्टाइनभित्रै मृत्यु भएका १९ वर्षीय युवकको पीसीआर परीक्षण नतिजा ‘नेगेटिभ’ आएको छ। उनको पीसीआर नतिजा नेगेटिभ आएको सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जोशीले जानकारी दिइन्। मृतक युवाको कोरोना परीक्षणका लागि आइतवार नै स्वाव संकलन गरी धनगढी पठाइएको थियो।

मृतक युवा भारतबाट आएर जेठ २० गतेदेखि सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा थिए। आइतवार बिहान ३ बजे एक्कासी उनको स्वास्थ्य अवस्था जटिल बनेपछि क्वारेन्टाइनभित्रै मृत्यु भएको थियो। केआई सिंह गाउँपालिका वडा नम्बर ३ दल्ल स्थायी घर भएका मृतक युवालाई झण्डै १३ वर्षदेखि मुटु सम्बन्धी रोगको समस्या भएको परिवार स्रोतले जनाएको छ।

प्रहरीले निगरानीमा राखेको मृतक युवकको शव अन्त्येष्टिका लागि अब परिवारको जिम्मा दिइने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। छोराको स्याहार गर्ने क्वारेन्टाइन पुगेका मृतक युवाका बुबा अहिले पनि क्वारेन्टाइनमा छन्।

मृतक छोराको सम्पर्कमा आएकाले उनको पनि पीसीआर परीक्षणका लागि स्वाब धनगढी स्थित प्रयोगशालामा पठाइएको थियो। सो क्वारेन्टाइनमा रहेका ३ महिलासहित ११ जनाको स्वाब धनगढी पठाइएकोमा मृतक युवा बाहेकको नतिजा आइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell