PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रदीप गिरिलाई घनश्याम भुसालको जवाफ, ‘मेरो चक्रव्यूहमा जयद्रथ छैन जसले बाहिर निस्किन रोकोस्', के भनेका थिए गिरिले?



पहिलोपोस्ट

प्रदीप गिरिलाई घनश्याम भुसालको जवाफ, ‘मेरो चक्रव्यूहमा जयद्रथ छैन जसले बाहिर निस्किन रोकोस्', के भनेका थिए गिरिले?

काठमाडौँः कृषिमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले शासकीय चक्रबाट बाहिर निस्कन आफ्नो ढोकामा कुनै जयद्रथ नभएको बताएका छन्।

काँग्रेस सांसद प्रदीप गिरिले दुई दिनअघि प्रतिनिधिसभामा भुसाललाई महाभारतको पात्र अभिमन्यु चक्रव्यूहमा फसेझैँ भुसाल शासकीय चक्रमा फसेको टिप्पणी गरेका थिए। सोमबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने क्रममा भुसालले आफ्नो बाटो जयद्रथ नभएको बताएका हुन्।

भुसालले गिरिलाई जवाफमा भनेका छन्, ‘समाजवादी वाङमयका भाष्यकार प्रदीप गिरिले मलाई भन्नुभएको थियो तँ तन्त्रमा प्रवेश गरिस् त सुरक्षित रहन सक्छन् भनेर । अभिमन्यु भइस् पनि भन्नुभएको थियो । यो चिन्ताका लागि म दिलदेखि धन्यवाद दिन चाहन्छु। र आश्वस्त पार्न चाहन्छु, तन्त्रै होला यदि तन्त्र हो भने, र प्रवेश गरेको हुँ भने पनि यो चक्रव्यूहमा एउटा कमी छ । त्यो भनेको जयद्रथ छैन ढोकामा । जसले मेरो बाटो रोकोस् । चक्रव्यूहबाट बाहिर निस्कन नसक्ने कुनै जयद्रथ मेरो ढोकामा छैन । अरू कुरा फेरि विचार गरौँला।’ 

शनिवार कृषि मन्त्रालय अन्तर्गतको बजेट शीर्षकमा छलफलमा भाग लिने क्रममा गिरिले वैभवशाली हुँदाहुँदै पनि अभिमन्यु चक्रव्यूहमा फसेझैँ भुसाल फसेका हुन् कि भनेर टिप्पणी गरेका थिए।

आफ्नो शुभेच्छा भुसाललाई रहेको भन्दै उनले भनेका थिए, ‘आदरणीय कमरेड घनश्याम भुसाल निर्विवाद रूपले अत्यन्त प्रतिभाशाली र प्रतिबद्ध कमरेड हुनुहुन्छ। उहाँको भूमिका रहेको कृषि र पशुपन्छी मन्त्रालयमा पढेँ मैले । त्यो बाहेक उहाँका अभिव्यक्ति पनि पढेँ मैले। ए मन्त्री भएपछि त के–के न गरौँला भनेको त केही पनि गर्न सकिने रहेनछ भन्ने। आदरणीय कमरेड तपाईँ अभिमन्यु चक्रव्यूहमा प्रवेश गरेझैँ एउटा तन्त्रमा प्रवेश गर्नुभएको छ। मेरो सम्पूर्ण शुभकामना तपाईँलाई छ। तपाईँको आत्मानुभूतिका लागि धन्यवाद छ, कस्तो अप्ठेरोमा परेको छु भनेर । त्यो अप्ठेरोमा तपाईँका अध्यक्ष र प्रधानमन्त्रीमात्र जिम्मेदार छैनन् यो व्यवस्था र हाम्रा बीचको वैमनश्यता छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell