
काठमाडौं : गण्डकी प्रदेशमा थप २४ कोरोनाका संक्रमित भेटिएका छन्। नवलपरासी जिल्ला (वर्दघाट सुस्ता पूर्व) र बाग्लुङमा संक्रमितको संख्या ह्वात्तै बढेपछि गण्डकी प्रदेशमा संक्रमितको संख्या बढेको हो।
आज बिहान सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जारी गरेको सूची अनुसार थप नवलपरासीमा १२ जना नयाँ संक्रमित भेटिए भने बाल्लुङमा ८ जना संक्रमित थपिएका छन्। नवलपरासीको बौदीकाली गाउँपालिकाका १२ जनामा संक्रमण देखिएको हो। उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन्।
त्यसैगरी बागलुङको बरेङ गाउँपालिकामा ८ जना संक्रमित पहिचान भएको हो। उनीहरु १८ वर्षदेखि ४९ वर्ष उमेर समूहका छन्। बाग्लुङकै निसीखोला गाउँपालिकामा ३ जनामा संक्रमण देखिएको छ। उनीहरु २१ देखि २७ वर्ष समूहका छन्।
म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जनाएका छन्।